भरतपुर, चैत २४ – उपप्रधानमन्त्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले विभिन्न बाहानामा चिकित्सकले बिरामीलाई दुःख दिन नपाउने बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले चिकित्सकका माग सङ्घीय निजामती ऐनले समेटिसकेकाले जनतालाई दुःख दिन नपाइने बताउनुभयो ।
“अरु कुनै महत्वपूर्ण कुरा छ भने त्यसलाई सरकारले सकरात्मक रुपमा लिन्छ”, उहाँले भन्नुभयो, “तर विभिन्न मागका नाममा बिरामीलाई दुःख दिन जरुरी छैन् ।” समायोजनले चिकित्सकको वृत्तिविकासमा अवरोध सिर्जना हुन्छ, भन्ने भ्रम मात्र भएको उहाँको तर्क छ ।“वृत्ति विकास सबैको हुन्छ, यसमा सरकारले कसैलाई पनि रोक्दैन”, उहाँले भन्नुभयो, “यो रोकेर कहाँ चिकित्सा प्रणाली चल्छ ।”
आन्दोलन छाडेर जनताको सेवा र बिरामीको उपचारमा लाग्न उहाँले चिकित्सकलाई आग्रह गर्नुभयो ।चिकित्सकका समस्या सरकारले बुझेको भन्दै उहाँले चिकित्सकले माग भन्दा पनि सेवालाई आत्मसाथ गर्नुपर्ने धारणा राख्नुभयो ।चितवन मेडिकल कलेजको फरक प्रसङ्गमा उहाँले भन्नुभयो, “तोकेको भन्दा बढि शुल्क लिने र दिने दुवै दोषी हुन्, यसको छानबिन हुन्छ ।” सरकारको मापदण्डअनुसार सबै मेडिकल कलेज चल्नुपर्ने भन्दै उहाँले यस विषयमा चितवन मेडिकल कलेज प्रशासनसँग पनि कुरा गर्ने प्रतिबद्धता जनाउनुभयो । (रासस)


