काठमाण्डौ, २० चैत ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार समृद्धिसहितको समतामूलक समाज निर्माणतर्फ अघि बढेको बताउनुभएको छ । सरकार अधिनायकवादी बाटोमा नभई समाजवादी बाटोमा र अझ बढी लोकतन्त्रतिर तर्फ अघि बढेको प्रधानमन्त्री ओलीको भनाई छ ।
काठमाडौंमा बुधबार सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकमा प्रधानमन्त्री ओलीले सरकार अधिनायकवादी भयो भन्नेहरुसँग वादविवाद प्रतियोगितामा भाग नलिएको बताउनुभयो । ‘यो सरकार गफ गर्न बनेको होइन, गरिबी हटाउन, भोकमरी अन्त्य गर्न सरकार बनेको हो ।’
प्रधानमन्त्री ओलीले अब पेट्रोलियम पदार्थ उत्खनन् गर्ने र फलामखानीबाट फलाम झिक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले कोसी नदीमा डुंगाको ठाउँमा स्टीमर चलेको बताउनुभयो । ‘मुख्यमन्त्रीजी अब स्टीमर चढेर जानुहुन्छ । गाडी र जहाजबाट घन्टौं लाग्छ स्टिमर छिटो पुग्छ । सरकारले पानीजहाज कार्यालय खोलेको त छ तर स्टीमर सरकारले चलाएको त होइन। यो परिवर्तनले आएको हो ।’
परिषद बैठकमा २५ वर्षीय दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदा प्रस्तुत गरिएको छ ।
प्रधानमन्त्री ओलीले कुरा मात्रै होइन सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुरा गरेर हुँदैन काम गर्नुपर्छ भनेहरूलाई भन्न चाहन्छु, तुइन फालिएका छन् आरामले मान्छे झोलुङ्गे पुलबाट नदी गरेका छन् ।’
प्रधानमन्त्री ओलीले देशमा जनताको सरकार रहेकोले कोही पनि भोकमरीबाट मर्न नपर्ने बताए । उनले भने, ‘भकारीमा धान मात्रै भर्ने होइन स्वस्थ्य धान भर्न चाहन्छौं ।’


