विपन्न चेपाङ वस्तीका ६२ घरधुरीलाई निःशुल्क सोलार बितरण

चितवन समाचार डटकम, १३ चैत ।

चितवनको कालिका नगरपालिकाले विद्युतीकरण हुन नसकेको विपन्न चेपाङ वस्तीमा ६२ घरधुरीलाई सोलार प्यानल वितरण गरेको छ ।
नगरपालिकाको वडा नं. १० को तीन दोभान र वडा नं. ११ को रन्पेचमा आज एक औपचारिक कार्यक्रमका बीच नगरप्रमुख खुमनारायण श्रेष्ठले स्थानीयलाई सोलार प्यानल वितरण गर्नु भएको हो ।


बहुसख्यक विपन्न चेपाङ समुदायको वसोबास रहेको यस वस्तीमा निःशुल्क सोलार प्यानल वितरण गरिएको थियो । २० वाट क्षमताको सोलार प्यानलबाट हरेक घरमा चारवटा वत्ती बाल्न सकिने नगरपालिकाले जनाएको छ । ६२ वटा सोलार प्यानल नेपाल सरकारको अनुदानमा ५० लाखको लागतमा खरिद गरी उपलब्ध गराइएको हो ।
प्रति प्यानल बजार मुल्य करिब १४ हजार पर्ने तर अनुदानमा आठ हजारमा प्राप्त गरिएको नगरपालिकाले जनाएको छ । सोलार प्यानल वितरण कार्यक्रममा सम्वोधन गर्दै नगर प्रमुख श्रेष्ठले नगरका सबै जनता उज्यालोबाट बन्चित हुन नपरोस भन्ने उद्देश्यका साथ विद्युतीकरण नभएको स्थानमा सोलार वितरण गरिएको बताउनु भयो । म यहाँका जनतालाई यसको सही सदुपयोग गर्न आग्रह गर्दछु श्रेष्ठले भन्नु भयो विद्युतीकरण हुन नसकेका अरु वस्तीमा पनि सोलार वितरण गरिने छ ।
स्थानीय जनताको समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्न नगरपालिका योजना वद्धरुपमा लागेको बताउनु प्रमुख श्रेष्ठले यस्ता गाउहरुमा छिट्टै विद्युतीकरणको योजना अगाडि वढाइने प्रतिवद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा वडा नं. १० का अध्यक्ष दिलबहादुर गुरुङ र वडा नं. ११ का अध्यक्ष कृष्णवहादुर प्रजाले विपन्न चेपाङ वस्तीमा निःशुल्क सोलार प्यानल वितरण गरिएकोमा खुसी व्यक्त गर्नु भयो ।

शेयर गरौ

ताजा अपडेट