आयातको विकल्प बन्दै चितवनको आविष्कार

शालिग्राम नेपाल ।
चितवन २३ भदौ ।
शारीरिक अशक्तता भएका व्यक्तिका लागि आवश्यक ह्वीलचियर, ट्राइसाइकल र बिरामीमैत्री शय्यालगायतका उपकरण चितवनमै उत्पादन हुन थालेका छन् ।
विदेशबाट आयात गरिएका उपकरण व्यक्तिको शारीरिक अवस्थाअनुसार अनुकूल बनाउन र मर्मत गर्न कठिन हुने समस्या रहेकोमा नेपाल आविष्कार केन्द्र चितवनले स्थानीयस्तरमै त्यस्ता उपकरण उत्पादन थालेको हो ।
भरतपुर महानगरपालिका–७ मा रहेको केन्द्रले अशक्तता भएका व्यक्तिको शारीरिक अवस्था र आवश्यकतालाई ध्यानमा राखेर नापजाँच गरी उनीहरूका लागि उपयुक्त उपकरण निर्माण गर्दै आएको छ । केन्द्रले हालसम्म विभिन्न १६ प्रकारका ह्वीलचियर निर्माण गरिसकेको जनाएको छ ।
केन्द्रका अध्यक्ष विजय सुवेदीले कम्पनी रजिस्ट्रारको कार्यालय, काठमाडौँमा २०८३ जेठ २० गते मुनाफा नबाँड्ने कम्पनीका रूपमा संस्था दर्ता गरी काम सुरु गरिएको जानकारी दिनुभयो । सामाजिक क्षेत्रमा सक्रिय विज्ञ तथा प्रतिष्ठित व्यक्तिहरूको पहलमा स्थापना गरिएको केन्द्रमा ५१ जना संस्थापकले जनही एक लाख रुपियाँ लगानी गरेका छन् ।
“समाजका विज्ञ तथा प्रतिष्ठित व्यक्तिहरू मिलेर केही नयाँ काम गरौँ भनेर संस्था दर्ता गरेका हौँ,” अध्यक्ष सुवेदीले भन्नुभयो, “सुरुवाती चरणमा भएकाले अहिले अध्ययन, सिकाइ र उत्पादनलाई सँगसँगै अघि बढाएका छौँ ।” २२ कठ्ठा क्षेत्रफलमा रहेको केन्द्रले हाल तीनवटा घर भाडामा लिएर विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । केन्द्रमा इन्जिनियर सुनिल परियार, आइटी विज्ञ अनुप घिमिरेसहित पाँच जना दक्ष कर्मचारी कार्यरत छन् ।
केन्द्रका प्रमुख इन्जिनियर परियारका अनुसार व्यक्तिको शारीरिक अवस्था र आवश्यकताका आधारमा ह्वीलचियरको डिजाइन र संरचना फरक–फरक बनाइन्छ । हिँडडुलमा समस्या भएका व्यक्तिका लागि ह्वीलचियरसँगै यात्रा गर्न तथा सानो व्यापार–व्यवसायमा सामान ओसारपसार गर्न सक्ने गरी विद्युतीय ट्राइसाइकलसमेत निर्माण गरिएको छ ।
“अशक्तता भएका व्यक्तिका लागि विभिन्न १६ प्रकारका ह्वीलचियर निर्माण गरेका छौँ । बिरामीको शारीरिक अवस्था हेरेर आवश्यकताअनुसार ह्वीलचियर, हिँडडुलका लागि ट्राइसाइकल र बिरामीका लागि विशेष शय्यासमेत निर्माण गरेका छौँ,” इन्जिनियर परियारले भन्नुभयो । केन्द्रले निर्माण गरेको विद्युतीय ट्राइसाइकल एकपटक पूर्ण चार्ज गरेपछि करिब ६० किलोमिटरसम्म चलाउन सकिने जनाइएको छ । त्यसमा बसेर यात्रा गर्न सकिने र सानो व्यापार तथा सामान ढुवानी गर्नसमेत प्रयोग गर्न सकिने केन्द्रले जनाएको छ । ट्राइसाइकलले चार क्विन्टलसम्म भार बोक्न सक्ने क्षमता रहेको परियारले बताउनुभयो ।
केन्द्रबाट उत्पादित उपकरण विभिन्न सामाजिक संस्थाले खरिद गरी लक्षित वर्गलाई वितरण गर्दै आएका छन् । आवश्यक पर्ने व्यक्तिले पनि केन्द्रमै आएर उपकरण खरिद गर्न सक्ने अध्यक्ष सुवेदीले बताउनुभयो ।
केन्द्रका अनुसार हालसम्म एक सयभन्दा बढी ह्वीलचियर बिक्री भइसकेका छन् भने दुई दर्जनभन्दा बढी ट्राइसाइकल बिक्री भएका छन् । भरतपुर महानगरपालिकासँगको सहकार्यमा मोबाइल शौचालय निर्माण गरी विभिन्न स्थानमा राखिएको छ । बिरामीको शारीरिक अवस्थाअनुसार निर्माण गरिएका विशेष शय्यासमेत आवश्यक व्यक्तिलाई वितरण गरिएको केन्द्रले जनाएको छ ।
यसैगरी केन्द्रले सूचना प्रविधिसम्बन्धी सेवा पनि सुरु गरेको छ । आइटी विज्ञ घिमिरेका अनुसार शैक्षिक संस्था तथा विभिन्न संघसंस्थामा रहेका कम्प्युटर र त्यससँग सम्बन्धित समस्या समाधान गर्ने काम भइरहेको छ । “केन्द्र दर्ता भएर सञ्चालनमा आएको धेरै समय भएको छैन । अहिले सिकाइ र उत्पादनलाई प्राथमिकता दिएका छौँ,” घिमिरेले भन्नुभयो, “आगामी केही महिनाभित्र नयाँ आविष्कारका काम अघि बढाउने तयारी भइरहेको छ ।”
केन्द्रले निकट भविष्यमा रोबोट ल्याब, ड्रोन निर्माण तथा सूचना प्रविधिसम्बन्धी वृहत् प्रयोगशाला स्थापना गर्ने तयारी गरेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । उहाँ बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्रीसमेत हुनुहुन्छ । केन्द्रका उपाध्यक्षमा पूर्व जिल्ला शिक्षा अधिकारी तथा भरतपुर महानगरपालिकाका पूर्व शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेल रहनुभएको छ ।

शेयर गरौ

ताजा अपडेट