खुसी खातुन हत्या : सौतेनी आमाको संलग्नता खुलेको दाबी

राजविराज, ८ भदौ । सप्तरीको शम्भुनाथ नगरपालिका–३, ट्राफिक बजारमा दुई वर्षीया बालिकाको हत्या भएको घटनामा उनकी सौतेनी आमाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

स्थानीय मो. इरफानकी दुई वर्षीया छोरी खुसी खातुन आइतबार बिहान घरबाट हराएकी थिइन् । बालिका हराएको सूचना पाएपछि प्रहरीले आफन्त तथा स्थानीयवासीको सहयोगमा खोजतलास गर्दा सोही दिन घरपछाडिको झाडीमा मृत अवस्थामा फेला पारेको थियो ।

घटनापछि प्रहरीले अनुसन्धानका लागि बालिकाकी सौतेनी आमा मुस्कान खातुनलाई नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सौता रुबिना खातुनसँगको विवादका कारण मुस्कानले बालिकाको हत्या गरेको खुलेको छ ।

प्रनाउ घिमिरेका अनुसार घटनाको वास्तविक कारण तथा हत्या कसरी भएको भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ । शव परीक्षणको प्रतिवेदन तथा अनुसन्धानबाट घटनाको विस्तृत विवरण खुल्ने उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार मृतक बालिकाको शव आइतबार नै पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टमपछि आमाले शव बुझेर अन्तिम संस्कारका लागि लगिसकेको प्रनाउ घिमिरेले जानकारी दिनुभयो । मृतक बालिकाका बुवा वैदेशिक रोजगारीमा रहेको प्रहरीले जनाएको छ ।

पारिवारिक विवादसँग जोडिएको देखिएको उक्त घटनामा अन्य पक्षको संलग्नता तथा घटनाको पृष्ठभूमिबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीले शव परीक्षण प्रतिवेदन, घटनास्थलबाट संकलित प्रमाण तथा नियन्त्रणमा रहेकी मुस्कानको बयानलगायतका आधारमा अनुसन्धान अघि बढाइरहेको छ । घटनाको यथार्थ कारण र विस्तृत विवरण अनुसन्धान पूरा भएपछि मात्र स्पष्ट हुने प्रनाउ घिमिरेले बताउनुभयो । घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ ।

शेयर गरौ

ताजा अपडेट