चितवन, २८ असार ।
चितवनको कालिका नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ मा भौतिक पूर्वाधार निर्माणतर्फ केही क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरे पनि सडक निर्माणका प्रमुख आयोजनामा निर्माण व्यवसायीले काम नगर्दा समग्र उपलब्धि अपेक्षाभन्दा कमजोर देखिएको छ ।
नगरपालिकाले सार्वजनिक गरेको प्रगति विवरण अनुसार अधिकांश योजनाको भौतिक प्रगति सन्तोषजनक रहे पनि सडक कालोपत्रे र केही ठूला पूर्वाधार आयोजनामा लक्ष्यअनुसार काम हुन सकेको छैन ।
नगरपालिकाका इन्जिनियर किशोर खतिवडाका अनुसार १० लाख रुपियाँभन्दा माथिका २९ वटा ठेक्का सम्झौता गरिएकामध्ये सातवटा योजनामा हालसम्म कुनै पनि निर्माण पूरा हुन सकेको छैन । सडक निर्माणको लागि सम्याउने ग्रावेल हाल्ने गरेर कालोपत्रे गर्न ठिक्क भएपनि मूल्यवृद्धिको कारण अन्तिममा काम नभएपछि प्रगती नदेखिएको उहाले जानकारी दिनुभयो ।
निर्माण व्यवसायीले पेट्रोलियम पदार्थ तथा निर्माण सामग्रीको मूल्य बढेका कारण लागत अत्यधिक वृद्धि भएको भन्दै काम नगरेपछि ती आयोजना प्रभावित भएका हुन् । तीमध्ये चारवटा सडक निर्माणसम्बन्धी ठेक्काको म्याद आगामी आर्थिक वर्ष २०८३÷८४ सम्मका लागि थप गरिएको छ भने काम नगरी कालोसूचीमा परेका निर्माण कम्पनीलाई समेत कानुनी प्रक्रियाअनुसार थप समय दिएर काममा फर्काइएको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाले उपलब्ध गराएको तथ्याङक अनुसार चालु आर्थिक वर्षमा करिब ८.०५ किलोमिटर सडक स्तरोन्नति, ६.०७ किलोमिटर नयाँ सडक निर्माण र ६.७७ किलोमिटर ग्राभेल सडक निर्माण सम्पन्न भएको छ ।
तर सबैभन्दा महत्वपूर्ण मानिएको सडक कालोपत्रे भने केवल २.५० किलोमिटर मात्र सम्पन्न भएको छ । गत आर्थिक वर्षमा ११ किलोमिटर नयाँ सडक कालोपत्रे गरिएको नगरपालिकाले यस वर्ष त्यसको करिब पाँच भागको एक भाग मात्र उपलब्धि हासिल गर्न सकेको देखिन्छ । यसले नगरपालिकाको सडक पूर्वाधार विस्तारमा उल्लेखनीय सुस्तता आएको स्पष्ट देखाउँछ ।
सडकबाहेकका अन्य पूर्वाधार निर्माणमा भने तुलनात्मक रूपमा राम्रो प्रगति भएको छ । नगरपालिकाले २.३२ किलोमिटर आरसीसी नाला, ४.९२ किलोमिटर मेशिनरी नाला तथा ४.५४ किलोमिटर ढलान नाला निर्माण सम्पन्न गरेको छ ।
त्यसैगरी विभिन्न स्थानमा २८ वटा पुल तथा कल्भर्ट, पाँचवटा खानेपानी आयोजना, १२ वटा बोरिङ तथा चेम्बर विस्तार, करिब ५०० मिटर तटबन्धन र २२९.५६ मिटर कम्पाउण्ड वाल निर्माण गरिएको छ । विद्यालय तथा वडा कार्यालयका भवन मर्मत, सार्वजनिक संरचनाको संरक्षण र अन्य साना पूर्वाधार निर्माणका काम पनि अधिकांश सम्पन्न भइसकेका छन् भने केही योजना असार मसान्तसम्म सम्पन्न हुने नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख विनोद रेग्मीले सडक निर्माणमा यस वर्ष अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको स्वीकार गर्नुभयो । निर्माण व्यवसायीलाई पटक–पटक ताकेता, छलफल तथा सहजीकरण गरिए पनि उनीहरूले सम्झौता अनुसार काम नगर्दा नगरपालिकाको लक्ष्य प्रभावित भएको उहाँले बताउनुभयो ।
“गत वर्ष ११ किलोमिटर नयाँ सडक कालोपत्रे गर्न सफल भएका थियौँ, तर यस वर्ष दुई किलोमिटर जति मात्र कालोपत्रे हुन सक्नु दुःखद हो,” उहाँले भन्नुभयो, “नगरपालिकाले आफ्नो तर्फबाट आवश्यक सबै प्रक्रिया पूरा गरे पनि निर्माण व्यवसायीले लागत वृद्धि भएको कारण देखाउँदै काम रोकेपछि समस्या समाधान गर्न कठिन भएको छ ।”
निर्माण व्यवसायीहरूले कम दरमा ठेक्का सम्झौता गरेका कारण पछिल्ला वर्षमा निर्माण सामग्री, इन्धन तथा ढुवानी खर्च बढ्दा आर्थिक रूपमा घाटा हुने अवस्था आएको दाबी गर्दै आएका छन् । नगरपालिकाले भने सार्वजनिक खरिद ऐन तथा सम्झौताअनुसार काम सम्पन्न गर्नुपर्ने दायित्वबाट निर्माण व्यवसायी उम्कन नसक्ने स्पष्ट पारेको छ । सम्झौता अनुसार काम नगर्ने कम्पनीमाथि कुन प्रक्रियाबाट अगाडि वढ्ने भन्ने विषयमा छलफल भइराखेको बताउनुभयो ।
स्थानीय तहले भौतिक पूर्वाधार निर्माणलाई विकासको मुख्य आधार माने पनि निर्माण व्यवसायीको गैरजिम्मेवारी, लागत वृद्धिको बहाना र ठेक्का व्यवस्थापनमा देखिएका समस्या विकास निर्माणका लागि चुनौतीका रूपमा देखिएका छन् । चालु आर्थिक वर्षको अनुभवले आगामी वर्ष ठेक्का व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, समयमै अनुगमन गर्ने तथा सम्झौता कार्यान्वयनमा कडाइ गर्नुपर्ने आवश्यकता औँल्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षमा अधुरा योजनालाई प्राथमिकतामा राख्दै सडक निर्माणलाई गति दिने तयारी गरेको जनाएको छ ।


