भरतपुर, असार २। आर्थिक वर्ष २०८२/८३ को अन्त्यतिर भरतपुर महानगरपालिकामा बजेट रकमान्तर तथा योजना संशोधनको चटारो बढेको छ। असारे विकासको दबाबबीच नगर कार्यपालिकाले विभिन्न वडाका पूर्वाधार तथा गैर–पूर्वाधारसम्बन्धी १८ वटा योजनामा संशोधन गर्दै बजेट हेरफेर गरेको हो।
नगर कार्यपालिका बैठक संख्या ११९ को निर्णयअनुसार नगरसभाको आगामी अधिवेशनबाट अनुमोदन गर्ने गरी विभिन्न शीर्षकका योजनामा रकमान्तर गरिएको बताइएको छ। उक्त बैठक २०८३ साल जेठ २२ गते बसेको थियो।
सडक बजेट हटाएर स्विमिङ पुल निर्माण
वडा नं. १९ मा यसअघि ‘विमला गुरुङको घर हुँदै जिरे बरमको घरसम्मको बाटो कालोपत्रे’ गर्न विनियोजित रु. १६ लाख बजेट हटाएर ‘चिल्ड्रेन पार्क परिसरभित्र स्विमिङ पुल निर्माण कार्य’ मा सारिएको छ। यसले पूर्वनिर्धारित सडक पूर्वाधार योजना नै परिवर्तन भएको देखिन्छ।
तालिम, सम्मान र बाल कार्यक्रमका बजेट कटौती
वडा नं. ६ मा टोल विकास संस्था सशक्तीकरण, बालबालिका कार्यक्रम तथा ज्येष्ठ नागरिक सम्मानका लागि छुट्याइएको रु. ३ लाख ५३ हजार बजेट कटौती गरी ‘वडा जोखिम न्यूनीकरण तथा सुरक्षा व्यवस्थापन’ शीर्षकमा सारिएको छ।
त्यस्तै वडा नं. १८ मा कर्मचारी क्षमता विकासका लागि विनियोजित रु. ६३ हजार बजेट रकमान्तर गरी ‘जनप्रतिनिधि तथा कर्मचारी अवलोकन भ्रमण’ का लागि प्रयोग गरिने भएको छ।
वडा कार्यालयदेखि अपाङ्ग सहायता र सीसी क्यामरसम्म बजेट
वडा नं. ११ मा सडक पोल बत्ती मर्मतका लागि छुट्याइएको बजेट कटौती गरी वडा कार्यालयको बत्ती, वायरिङ तथा प्रोजेक्टर खरिदमा प्रयोग गरिने भएको छ। साथै अपाङ्गका लागि ह्वीलचेयर खरिदका लागि विनियोजित रु. १ लाख बजेट योग साधना केन्द्रलाई प्रदान गरिने निर्णय गरिएको छ।
वडा नं. १७ मा जेहेन्दार विद्यार्थी छात्रवृत्ति तथा विद्यालय प्रोत्साहन भत्ता कटौती गरी दियालो चोक, भुसाल चोक र लगौटा आधारभूत विद्यालयमा सीसी क्यामरा जडान गर्न रु. २ लाख ९१ हजार बजेट विनियोजन गरिएको छ।
कृषि, सिँचाइ र सडक योजनामा समेत हेरफेर
वडा नं. २५ मा हरियाली प्रवर्द्धनका लागि छुट्याइएको रु. २ लाख बजेट झिकेर सिँचाइ बोरिङ मर्मतमा प्रयोग गरिने भएको छ। त्यस्तै वडा नं. २३ मा विपद व्यवस्थापन तथा सरसफाइ शीर्षकको रु. ५ लाख बजेट कालिका कृषि सहकारी र कुमारीचोक गौचरण अगाडिको सडक कालोपत्रे योजनामा सारिएको छ।
नगर कार्यपालिका को निर्णय :



