चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनको प्रथम जिल्ला अधिवेशनमा नयाँ नेतृत्व चयन गरिदैछ । अधिवेशनको सांसद एवम् पार्टी नेता हरि ढकालले उद्घाटन गरे । भरतपुरको स्वादसदन पार्टी प्यालेसमा अधिवेशन चलिरहेको छ । ४९० प्रतिनिधिको मतदानमार्फत हुने नेतृत्व चयनले पार्टीको स्थानीय शक्ति संरचनामा नयाँ सन्देश दिने भएकाले अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ।
जिल्ला सभापति पदमा चार जना उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
प्रकाश आचार्य, कृष्ण प्रसाद भूषाल, एकराज बुर्लाकोटी र मिनि माधव खनाल सभापतिका उमेदवार छन् ।
अधिवेशनको मुख्य आकर्षण सभापति पद नै बनेको छ। वर्तमान नेतृत्व सम्हालेका कृष्ण प्रसाद भूषाल पुनः नेतृत्वमा दोहोरिन चाहन्छन्। पार्टीलाई प्रारम्भिक चरणदेखि संगठित बनाउन महत्वपूर्ण भूमिका खेलेका भूषाललाई संगठन निर्माणमा अनुभवी र स्थायित्व दिने नेतृत्वका रूपमा एक पक्षले मूल्यांकन गरिरहेको छ। अब समय सुँहाउदो जिल्लाको ‘लिडरसिप’ भुषालबाट संभव नभएको ईतरपक्षको तर्क छ ।
सम्पन्न भएका आम चुनावहरुमा युवा नेतृत्वले शसक्त भूमिका निभाएको कतिपय कार्यकर्ताको बुझाई छ ।
तर यही सभापति पदमा अहिले परिवर्तनको बलियो बहस पनि सँगसँगै चलेको छ। “अब एउटै शैली होइन, नयाँ सोच र नयाँ पुस्ताको नेतृत्व आवश्यक छ” भन्ने आवाज कार्यकर्ता पंक्तिमा खुलेर उठ्न थालेको छ।
युवा उम्मेदवारप्रति बढ्दो आकर्षण देखिएको छ ।
इन्जिनियर पृष्ठभूमिका मिनि माधव खनाल र प्रकाश आचार्यलाई नयाँ पुस्ताको प्रतिनिधि रूपमा हेरिएको छ। संगठनलाई आधुनिक शैलीमा अघि बढाउन सक्ने क्षमता उनीहरूमा रहेको भन्दै युवापंक्तिबाट उनीहरूको चर्चा तीव्र बनेको छ।
त्यसैगरी, एकराज बुर्लाकोटी पनि बलियो दाबेदारका रूपमा उभिएका छन्। सामाजिक सक्रियता र विशेषगरी ब्लड डोनर्स सोसाइटीमार्फत उनले बनाएको जनसम्पर्कले उनलाई “ग्रासरुट कनेक्ट” भएको उम्मेदवारका रूपमा स्थापित गरेको छ ।
कार्यकर्ताबीच अहिले एउटै प्रश्नले बहस तातेको छ—
भूषालको नेतृत्वलाई निरन्तरता दिने कि नयाँ पुस्तालाई अवसर दिने?
एकातिर भूषाललाई संगठन निर्माणको कठिन समयका “स्थापना नेतृत्व” का रूपमा सम्मान गरिन्छ भने अर्कोतर्फ लामो समय एउटै नेतृत्व रहँदा संगठनमा गतिशीलता घट्न सक्ने तर्क पनि बलियो रूपमा उठिरहेको छ।
उपसभापतिमा निर्मला गिरी, टिकादत्त इटनी र प्रभाकर जोशीबीच प्रतिस्पर्धा छ।
सचिव पदमा तेजेन्द्र प्रसाद पौडेल र नेत्र प्रसाद लामिछाने प्रतिस्पर्धामा छन्।
सहसचिव पदमा कुशल पाठक, चुम बहादुर जी.सी., वेद प्रसाद आचार्य र पार्वती पाण्डे प्रतिस्पर्धामा छन्।
४९० प्रतिनिधिको मतले आज चितवन रास्वपाको नेतृत्व मात्र होइन, पार्टीको आगामी संगठनात्मक दिशा समेत तय गर्नेछ।
अब सबैको नजर एउटै प्रश्नमा अडिएको छ—
चितवनले अनुभवलाई निरन्तरता दिनेछ वा नयाँ पुस्ताको राजनीतिक ऊर्जा स्वीकार गर्नेछ?


