चितवनमा साप्ताहिक बजार बन्दको विषयमा व्यवसायीबीच मतभेद

चितवन समाचार डटकम ।
चितवनमा साप्ताहिक बजार बन्द गर्ने दिनको विषयलाई लिएर व्यवसायिक संघसंस्थाबीच फरक–फरक धारणा सार्वजनिक भएको छ । चितवन उद्योग वाणिज्य संघले शनिबार बजार बन्द र सोमबार खुला गर्ने निर्णय सार्वजनिक गरेको छ भने फेन्सी व्यवसायी संघ चितवनले हालसम्मकै अभ्यासअनुसार सोमबार बजार बन्दलाई नै निरन्तरता दिने जनाएको छ ।

चितवन उद्योग वाणिज्य संघले जारी गरेको हार्दिक अपीलमा विगत लामो समयदेखि विभिन्न वस्तुगत संघहरूले सोमबार बजार बन्द गर्दै आएको उल्लेख गर्दै हाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिइरहेको अवस्थामा सोमबारसमेत बजार बन्द हुँदा व्यवसायी, उपभोक्ता तथा सेवाग्राहीमा अन्योल सिर्जना भएको जनाएको छ ।

संघले जेठ १० गते बसेको संयुक्त बैठकको निर्णयअनुसार अबदेखि सोमबार नियमित रूपमा बजार सञ्चालन गर्ने र शनिबार सामूहिक रूपमा व्यवसाय बन्द गर्ने निर्णय गरिएको जानकारी दिएको छ ।

संघका अनुसार एउटै दिन सामूहिक रूपमा व्यवसाय बन्द गर्दा बजार व्यवस्थापन, सरसफाइ, मर्मतसम्भार तथा व्यवसायिक एकता बलियो हुने विश्वास लिइएको छ । साथै कर नीति, बजार व्यवस्थापन र व्यवसायिक हकहितका विषयमा सामूहिक आवाज प्रभावकारी हुने अपेक्षा पनि गरिएको छ ।

यता फेन्सी व्यवसायी संघ चितवनले भने दुई वर्षअघि सम्पन्न साधारण सभाबाट सर्वसम्मत रूपमा पारित निर्णयअनुसार सोमबारलाई नै साप्ताहिक बजार बिदाका रूपमा निरन्तरता दिइने जनाएको छ ।

संघले व्यवसायिक अनुशासन, बजार व्यवस्थापन तथा स्वस्थ व्यवसायिक वातावरण कायम राख्न सोमबार बिदाको अभ्यास प्रभावकारी रहेको दाबी गरेको छ ।

फेन्सी व्यवसायी संघले व्यवसायीहरूको साझा सहमति र आवश्यकताका आधारमा गरिएको निर्णयलाई निरन्तरता दिने उल्लेख गर्दै सम्पूर्ण सदस्यहरूलाई उक्त निर्णयको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

दुई संस्थाबाट फरक–फरक निर्णय सार्वजनिक भएपछि चितवनका व्यवसायी तथा उपभोक्तामाझ अन्योल सिर्जना भएको छ । अब बजार बन्दको एकीकृत व्यवस्थापनका लागि थप छलफल र सहमति आवश्यक देखिएको व्यवसायीहरूको भनाइ छ ।

शेयर गरौ

ताजा अपडेट