काठमाडौं । बेलायती सञ्चारमाध्यम बीबीसी वल्र्ड सर्भिसले नेपालमा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको विषयमा सार्वजनिक गरेको डकुमेन्ट्रीले नेपालमा तरंग ल्याएको छ । ४१ मिनेटको डकुमेन्ट्रीमा दुर्लभ फुटेजहरूसँगै केही नयाँ सूचनाहरू समावेश गरिएको छ ।
डकुमेन्ट्री अनुसार, भदौ २३ गतेको आन्दोलनमा १९ जना युवाहरूको गोली लागेर निधन भएको थियो। प्रदर्शनकारीहरूले संसद भवनमा आक्रमण गर्दा र प्रहरीमाथि ढुंगामुढा गर्दा गोली चलेको उल्लेख गरिएको छ। मारिएका मध्ये १७ वर्षीया श्रीयम चौलागाईंलाई डकुमेन्ट्रीमा विशेष ध्यान दिइएको छ।
श्रीयम, जो अग्रपंक्तिमा थिएनन्, मुठभुटबाट बच्न खोज्दा गोली लागेर ढलेको डकुमेन्ट्रीमा देखाइएको छ। यसका अतिरिक्त, प्रदर्शनकारीहरूले संसद भवनको पर्खाल भत्काएर गेटमा आगो लगाएपछि प्रहरीले टियर ग्यास र पानीको फोहोरा चलाएका थिए। जब प्रदर्शनकारीहरू पछि हटेनन्, गोली चलाइएको डकुमेन्ट्रीमा उल्लेख छ।
बीबीसीले डकुमेन्ट्रीमा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङको कलसाइन ‘पिटर १’ बाट गोली चलाउने आदेश आएको दावी गरिएको छ। डकुमेन्ट्रीले प्रहरीको आन्तरिक रिपोर्टलाई आधार बनाउँदै खापुङलाई मुख्य जिम्मेवार ठहर गरेको छ।
नेपाल प्रहरी भने बीबीसीको रिपोर्टसँग असहमत छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआइजी अविनारायण काफ्लेले भने, ‘डकुमेन्ट्रीमा उल्लेख गरिएको प्रहरी कलसाइन संवाद आधिकारिक होइन।’ उनले थपे, ‘प्रहरीका बारेमा भनेको कुरा हामीसँग सोधेर जानकारी लिन सकिन्छ, यस्तो रिपोर्ट बनाउने कुनै आवश्यकता छैन।’
प्रवक्ता काफ्लेले स्पष्ट पारे, ‘हाम्रो संगठनले पत्रकार सम्मेलन गरेर सबै तथ्य सार्वजनिक गरेको छ। त्यस्तो डकुमेन्ट्रीलाई हामी आधिकारिक मान्दैनौं।’
डकुमेन्ट्रीमा जेनजी अभियन्ता रक्षा बमको भूमिका पनि प्रमुख रूपमा प्रस्तुत गरिएको छ । उनले हिंसात्मक नहुने भन्दै भाषण गरे तापनि जलिरहेको सिंहदरबार अगाडि सेलिब्रेसन गरेको दृश्य डकुमेन्ट्रीमा समावेश गरिएको छैन।


