कालिका पावर कम्पनीले सात प्रतिशत बोनस सेयर दिने

 

चितवन ।
कालिका पावर कम्पनी लिमिटेडले नाफाबाट आफ्ना सेयर सदस्यलाई ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।
भरतपुरमा सोमबार भएको १८ औँ वार्षिक साधारणले मुनाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । कम्पनीको सञ्चित मुनाफा चुक्ता पुँजी ९३ करोड ३९ लाख ४९ हजार ५०० रुपियाँ छ । त्यसको ७ प्रतिशतले हुन आउने ६ करोड ५३ लाख ७६ हजार ४६५ रुपियाँ बोनस सेयर दिने निर्णय भएको सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।
कम्पनीले घोषणा गरेको लाभांस विद्युत् नियमन आयोगबाट स्वीकृत गरेपछि सेयर धनीले पाउनेछन् । कम्पनीले कर प्रयोजनका लागि०.३६८४ प्रतिशत नगद लाभांशसमेत दिनेछ । त्यसका लागि ३४ लाख ४० हजार ८६६ रुपियाँ स्वीकृत भएको छ ।
गत आर्थिक वर्षमा कम्पनीले नौ करोड भन्दा धेरै नाफा गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा आठ करोड ४९ लाख आठ हजार ५८९ रुपियाँ नाफा गरेको कम्पनीले गत आव २०८१÷०८२ मा नौ करोड ८४ लाख २२ हजार ३५९ रुपियाँ नाफा गरेको गरेको हो । अघिल्लो वर्षभन्दा गत आर्थिक वर्ष एक करोड ३५ लाख १३ हजार ७७० रुपियाँ नाफा गरेको जानकारी दिएको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १० दशमलव ५४ प्रतिशत हो । यो अन्य विद्युत आयोजनाको भन्दा राम्रो रहेको कम्पनीले दावी गरेको छ । कम्पनीले दुई वर्षदेखि बोनस सेयर भने घटाएको छ । आर्थिक वर्ष २०७९÷०८० सम्म १५ प्रतिशत बोनस सेयर दिँदै आएको कम्पनीले त्यसपछिका दुई वर्ष १० प्रतिशत बोनस सेयर दिँदै आएको थियो । त्यसपछि घटाएर अहिले सात प्रतिशतमा झारेको हो ।
वार्षिक साधारण सभाले कम्पनीको पुँजी वृद्धि गर्न नियम संशोधनसमेत गरेको छ । संस्थाले दरौदी ग्यासियर हाइड्रोअन्तर्गतको २०६४ सालमा स्थापना भएको कालिका पावर कम्पनीले गोरखाको अजिरकोट गाउँपालिका स्थित दरौदी खोलाबाट विद्युत् उत्पादन गरेको छ ।
गत वर्ष मात्रै कम्पनीले तीन करोड २२ लाख ७८ हजार हजार युनिट विद्युत् उत्पादन गरेको थियो । २०७३ सालबाट विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गरेको कालिका पावरले ६ हजार किलोवाट क्षमताको जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।
कालिका पावरको संस्थापक सेयर धनी पुँजी ७० प्रतिशत र सर्वसाधारण पुँजी ३० प्रतिशत रहेको छ । कम्पनीले गोरखाको दरौदी खोलामा प्रस्तावित माथिल्लो दरौदी बी साना विद्युत् आयोजना र माथिल्लो दरौदी सी साना जलविद्युत् आयोजनामा ५० प्रतिशत सेयर राख्ने निर्णयसमेत गरेको छ । यी दुईवटा आयोजनाले १७८५ मेगावाट विद्युत् निकाल्ने लक्ष्य राखेको छ ।

 

शेयर गरौ

ताजा अपडेट