रसुवा ।
नेपाल चीन सीमास्थित रसुवागढीमा निर्माणाधीन मितेरी पुल आगामी एक महिनाभित्र सञ्चालन हुने भएको छ ।
चिनियाँ अधिकारीहरुले प्रतिकूल मौसमका बाबजुद पनि निर्माण कार्यलाई प्राथमिकता दिँदै निर्धारित समयभित्र सम्पन्न गर्ने तयारी गरेको छ । गत असार २४ गतेको भिषण बाढीले ल्हेन्दे्रखोला क्षेत्र स्थित पुरानो मितेरी पुल बगाएपछि दुई देश बीचको आवतजावत अवरुद्ध भएको थियो । उक्त अवस्थापछि चिनिायाँ पक्षले तत्काल नयाँ पुल निर्माण कार्य अघि बढाएको हो ।
मितेरी पुल बगाएसँगै नाकाबाट हुने आयात निर्यात ठप्प हँुदा कम्तीमा १४ देखि १५ अर्ब रुपियाँ बराबरको राजस्व गुमेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षको यसै अवधिमा रसुवागढी नाकाबाट करिब १४ अर्ब रुपियाँ भन्सार राजस्व संकलन गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार हालैको चिनियाँ अधिकारीहरुसँगको समन्वय बैठकमा पुल निर्माण सम्पन्न भएपछि दुबै देश बीच बैठक बसेर सञ्चालन मिति तय गरिने जानकारी दिनुभयो । साथै, चिनियाँ पक्षले प्रतिकूल मौसम हुँदाहुँदै पनि पुल निर्माणमा निरन्तर दिएको छ । यदि अप्रत्यासित विपद् वा अन्य अवरोध सिर्जना भएन भने एक महिनाभित्र यातायाता सञ्चालन हुने अपेक्षा गरिएको प्रजिअ पन्थीले बताउनुभयो ।
त्यस्तै स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड अन्तर्गत करिब १६ किलोमिटर सडक मर्मत तथा पुननिर्माण कार्य भइरहेको छ । तर निरन्तर पहिरो, नदीकटान र भीरपाखाको चुनौतीका कारण कार्य प्रगति अपेक्षा अनुरुप अघि बढ्न सकेको छैन । लिङलिङ, कागतीबारी, घट्टेखोला र तातोपानी टिमुरेबीचका केही संवेदनशील स्थानमा नदीले सडक कटान गरेकाले निर्माण कार्यमा कठिनाई उन्पन्न भएको सडक विभागले जनाएको छ ।


