चितवन।
चितवन उद्योग बाणिज्य संघले नारायणगढमा बिहीबारदेखि पाँच दिने महिला उद्यमी मेला आयोजना गर्ने भएको छ ।
संघले मङ्गलबार पत्रकार सम्मेलन गरि मेलाको बारेमा जानकारी दिएको हो । संघका अध्यक्ष सुमनकुमार श्रेष्ठका अनुसार संघ परिसरमा आयोजना गर्न लागिएको उक्त मेलामा चितवन जिल्ला लगायत यस वरपर क्षेत्रका घरेलु तथा लघु उद्यमी महिलाद्वारा उत्पादन गरिएका वस्तुहरुको प्रदर्शनी एवं बिक्री वितरण गरिने छ । उहाँले मेलाको उद्देश्यबारे वताउँदै भन्नुभयो, “महिलाहरुलाई आत्मनिर्भर बनाउने र गृहणी महिलाहरुलाई उद्यमशिलता तर्फ उन्मुख बनाउने उद्देश्यले संघ अन्र्तगतको महिला उद्यमी विकास समिति र महिला उद्यमशिलता संग सम्बन्धित उपसमितिहरुको सक्रियतामा उक्त मेला गर्न लागिएको हो ।”
“महिला उद्यमशिलताको विकास मार्फत महिला सशक्तिकरण” भन्ने मूल नाराका साथ पाँच दिनसम्म चल्ने उक्त मेलामा ३० वटा स्टल राखिने छन् । मेला कम्तिमा १५ हजार दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ । भने मेला समयावधि भर करिव ३० लाख रुपिंयाँकोे आर्थिक कारोवार हुने अनुमान छ ।
संघ अन्र्तगतको महिला उद्यमी विकास समितिकी संयोजक अस्मिता तिम्सिना रिजालकाअनुसार गत वर्षसम्म तीन दिन आयोजना गरिँदै आएको मेला यस पटक माग अनुसार पाँच दिन बनाइएको हो । मेलामा महिलाहरुले उत्पादन गर्दै आएका घरेलु परिकार र सामग्रीलाई विशेष ग्राह्यता दिइनेछ । उद्योगी व्यवसायीहरुको हक, हितको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्दै यस क्षेत्रको आर्थिक विकासमा योगदान पुर्याउँदै आएको चितवन उद्योग बाणिज्य संघ २०१६ सालमा स्थापना गरिएको नीजि व्यवसायीहरुको साझा संस्था हो ।
चितवन उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवि सुवेदीका अनुसार संघले स्थानीय उत्पादन र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले २०५२ सालमा नेपालमै पहिलो पटक महोत्सवको आयोजना गरि हाल सम्म १५ संस्करणका चितवन महोत्सव सम्पन्न गरि सकेको छ । संघको आयोजना र अगुवाईमा पटकपटक कृषि मेला, सूचना प्रविधि मेला, घर बनाउने मेला लगायतका मेला महोत्सव सम्पन्न गरिसकेको उहाँले जानकारी दिनुभयो । त्यो मध्ये महिला उद्यमी मेला पनि एक हो ।


