चितवन समाचारडटकम, १६ फागुन ।
पोष्टमार्टममा समय लाग्ने भएकाले हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको श्रद्धान्जली कार्यक्रम भोली विहान ८ बजे दखी १० बजेदेखी १० बजे सम्म टुँडीखेलमा हुने भएको छ ।
यस अघि श्रद्धान्जली कार्यक्रम आजै गर्ने तयारी भएपनि पोष्टमार्टम गर्न समय लाग्ने भएपछि भोलीको लागी सारिएको नेकपाका केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिनुभयो ।
सेनाको हेलिकप्टरमार्फत बिहिबार दिउँसो काठमाडौं ल्याइएका शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमको काम सुरू भएको हो।
सबै शव पोष्टमार्टमका लागि १० देखि १५ घण्टा लाग्ने शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका निमित्त प्रमुख डा. रिजेन श्रेष्ठले जानकारी दिनुभएको छ ।
डा. श्रेष्ठको नेतृत्वमा अस्पतालका ९ जना अवासीय चिकित्सक, तीन जना डेन्टल चिकित्सकले शव परीक्षण गरिरहेका छन्।
पर्यटनमन्त्री रवीन्द्र अधिकारी र उनका पीएसओ अर्जुन घिमिरेको मात्रै शवको पहिचान भएको छ। बाँकी पाँच जनाको शव जलेको अवस्थामा रहेकोले पहिचान हुन सकेको छैन।
शवको डिएनएका लागि केन्द्रीय प्रहरी प्रयोगशालाको समूहले काम गरिरहेको छ।
ताप्लेजुङको सिस्नेभीरमा बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र सुरक्षाकर्मी अर्जुन घिमिरेको निधन भएको हो।


