काठमाण्डौं २२ साउन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ को जनवरीदेखि सञ्चालनमा आउने भएको छ । आइतबार बसेको नेपाल उड्डयन प्राधिकरण (क्यान) को सञ्चालक समितिको बैठकले अंग्रेजी नयाँ वर्षदेखि विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको अध्यक्षमा क्यानको सञ्चालक समितिको बैठक बसेको थियो । सोही बैठकले जनवरी १ देखि विमानस्थल सञ्चालनमा ल्याउने निर्णय गरेको क्यानका प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए ।
हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम ९८ प्रतिशत सकिएको छ । पर्यटन क्षेत्रको सम्भावना बोकेको पोखरामा सरकारले क्षेत्रीयस्तरको विमानस्थल बनाउने निर्णय गरेसँगै यसको काम धमाधम अघि बढिरहेको र अहिले निर्माण सम्पन्नताको चरणमा पुगेको छ ।
यो विमानस्थलमा वाइडबडी विमानको सट्टामा १८० सिट क्षमताका न्यारोबडी विमान सञ्चालन गरिने छ । साँघुरो उपत्यका भएकाले वाइडबडी विमानहरू सञ्चालनमा समस्या आउने हुँदा प्राविधिक कारणले न्यारोबडी विमान मात्रै यस विमानस्थलमा चल्ने बताइएको छ ।
यस्तै, यस विमानस्थलमा नेपालकै पहिलोपटक कंक्रिटको धावनमार्ग बनाइएको छ । जसमा छिटोछिटो धावनमार्ग सञ्चालन गर्नुपर्ने सरकारी पक्षको जिकिर छ । सरकाले आयोजना निर्माणका लागि अहिलेसम्म ३ हजार ८९९ रोपनी जग्गा अधिग्रहण गरेको छ । यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कूल लागत २२ अर्ब रुपैयाँ रहेको र यसको निर्माणको काम चिनियाँ ठेकेदार कम्पनीले गरिरहेको छ । तोकिएको समयभन्दा अघि नै सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजना निर्माणमा कोरोना महामारीको प्रभाव परेको थियो । जसले गर्दा आयोजनाको निर्माण सम्पन्न हुन केही ढिलाई भएको क्यानले जनाएको छ ।


