इच्छाकामना गाउँपालिकाले दियो बाख्रापालक किसानलाई अनुदान

चितवन २३ चैत । इच्छाकामना गाउँपालिकाले नमूना खोर निर्माण तथा खोर सुधारका लागि बाख्रापालक किसानलाई अनुदान वितरण गरेको छ। किसानको आर्थिक समृद्धिमा पनि सघाउ पुर्‍याउने उद्देश्यले गाउँपालिकाले बाख्रापालक किसानका लागि अनुदान रकम वितरण गरेको हो।
मङ्गलबार गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले वडा नं १ का ३३ जना बाख्रापालक किसानलाई जनही रु १० हजारका दरले रकम हस्तान्तरण गर्नु भयो । उहाले वडा नं १ को ज्यान्दाला, तोवाङ र मेत्राङका बाख्रापालक किसानलाई अनुदान रकम हस्तान्तरण गरेकी हुन्।
यसैबीच उत्कृष्ट खोर निर्माण गर्ने तीन समूहलाई रु २५ हजारका दरले रकम हस्तान्तरण गरिएको छ। गाउँपालिकाका सातवटै वडामा गरी ५२ बाख्रापालक कृषक समूह निर्माण गरी काम भइरहेको छ। हालसम्म ३९ बाख्रापालक किसानलाई रकम वितरण गरिसकिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
गाउँपालिकाका ५२ समूहका १३० बाख्रापालक किसानलाई नमूना खोर निर्माण तथा खोर सुधारका लागि अनुदान दिइने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । जनताको जीवनस्तर उकास्नका लागि गाउँपालिकाको नीति तथा कार्यक्रमअन्तर्गत गैररसकारी संस्था हेफर नेपाल र दियालो परिवारसँग तीन वर्षभित्र रु एक करोड ५२ लाख खर्च गर्ने गरी सम्झौता भएको छ।
त्यसमध्ये साझेदारी संस्थाको २५ प्रतिशत सहयोग रहनेछ। साथै गाउँपालिकाले युवा र बाबु समूह गठन गरी आर्थिक समृद्धिका लागि आधारशिला तालिम दिइने अध्यक्ष गुरुङले बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट