सेयर कारोबारमा कीर्तिमान : बेच्नेलाइ निरासा खरिद गर्नेलाइ सुनौलो

 

चितवन ३१ साउन । आइतबार बिक्री गर्न भनेर बसेका शेयर बजारका लगानिकर्तालाइ निरासाको दिन बन्यो । खरिद गर्नको लागि तयार भएका लगानिकर्तालाइ भने सुनौलो अवसरको दिन साबित भयो ।
आज सेयर कारोबार रकममा कीर्तिमान बनाएको छ ।
आज हालसम्मकै उच्च रकम २१ अर्ब ६२ करोड रुपैयाँको सेयर कारोबार भएको हो। यसअघि गत जेठ ३० गते १९ अर्ब ५५ करोड रुपैयाँको कारोबार भएको रेकर्ड थियो।

कारोबार रकममा नयाँ कीर्तिमान बने पनि बजारको परिसूचक नेप्से २४ अंकले घटेको छ। २४.५७ अंकको गिरावटपछि परिसूचक ३१५४ अंकमा कायम भएको छ।
बजार खुलेको १६ मिनेटमै ३१८७ अंकसम्म पुगेको परिसूचक त्यसपछि साढे २ बजेसम्म रातो रह्यो। साढे २ बजे केहीबेर हरियो देखिएको परिसूचक अन्ततः टिकेन।

समूहगत रुपमा हेर्दा यस दिन माइक्रोफाइनान्स र उत्पादन समूह उच्च अंकले बढेका छन्। उत्पादन १६०, माइक्रोफाइनान्स ११५ अंकले बढे। लगानी समूह १ अंकमुनि हरियो रह्यो।

यस दिन बैंकिङ ७, विकास बैंक १५९, फाइनान्स ८६, होटल तथा पर्यटन ६६, जलविद्युत १५७ र जीवन बीमा समूह १९१ अंकले घटेका छन्। त्यस्तै निर्जीवन बीमा समूह २२६, अन्य ४१ र ब्यापार समूह ३५ अंकले घटे।

यस दिन युनियन लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८५४ रुपैयाँ पुगेको छ। त्यस्तै खानीखोला हाइड्रो, जीवन विकास लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ।

हालै सूचीकृत जीवन विकासको मूल्य प्रतिकित्ता २६६८ रुपैयाँ पुगेको छ। आइसिएफसी फाइनान्सको मूल्य साढे ९ प्रतिशतले बढ्यो। वाणिज्य बैंकमा नेपाल बैंकको मूल्य सबैभन्दा धेरै ७.३ प्रतिशतले बढ्यो।

रिडी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै साढे ८ प्रतिशतले घटेको छ। श्रीइन्भेष्टमेन्ट फाइनान्सको मूल्य ७.८, एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य ६.६ प्रतिशतले घटेको छ। रसुवागढी, माथिल्लो तामाकोसी तथा रिलायन्स फाइनान्सको मूल्य ६ प्रतिशत बढीले घटेको छ।

कारोबारका आधारमा नेपाल बैंक अग्रस्थानमा रह्यो। कम्पनीको १ अर्ब ५ करोडको कारोबार हुँदा दोस्रोमा रहेको हिमालयन डिस्टिलरीको ७९ करोडको सेयर किनबेच भयो। अपि पावर, रिडी हाइड्रोपावर र अरुण भ्याली पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए ।

शेयर गरौ

ताजा अपडेट