हिमलाल ढकाल (अर्जुन)
चितवन, १ वैशाख । नयाँ वर्षको अवसर पारेर भरतपुर हाइटमा तारे सुविधा दिने होटल सिराइचुली सञ्चालनमा आएको छ ।
चितवनका उद्योगी व्यवसायीको लगानीमा निर्माण भएको होटल नयाँ वर्षको अवसर पारेर आम्सिक सञ्चालनमा आएको छ । यो सहित ग्रुपले अन्य होटल तथा रिसोर्ट पनि सञ्चालनको तयार गरेका छन् ।
लगानीकर्ता चुडामणि खनालले भन्नु भयो ‘सुविधा सम्पन्न आकर्शक सेवा दिने उद्देश्यले होटल निर्माण गरेका छौ, अबको केही हप्ता भित्र औपचारिक रुपमा सञ्चालन गर्ने तयारी छ ।’ स्टार स्तरको सेवा हामीले दिने छौ तर स्टारको प्रमाणपत्र लिने तयारी छ उहाले भन्नु भयो ।
सिराइचुली होटलमा ७१ वटा कोठाहरु रहेका छन् । स्वीट, डिलक्स, सेमी डिलक्स, ८ वटा मिटिङ हल, सानो ठुलोगरी दुइवटा वैंक्वेट हल, होटलको माथिल्लो तलामा स्विमिङ पुल, रुफ टप रेष्टुरेन्ट, स्पासहित अन्य सुविधा रहेको अर्का लगानीकर्ता कल्याण जोशीले जानकारी दिनु भयो ।
भरतपुरको हाइटमा रहेकाले नारायणगढ बजार सहितको क्षेत्र प्रष्ट देख्न सकिने छ । आठ रोपनी क्षेत्रफलमा निर्माण भएको होटल भरतपुरको ओरालोमा रहेकाले सवैलाई पायक पर्ने लगानीकर्ताको भनाइ रहेको छ ।
त्यस्तै गरी भरतपुर महानगरपालिका पटिहानी चितवन राष्ट्रिय निकुञ्जको नजिकै पटिहानी रिसोर्ट सञ्चालनको अन्तिम तयारीमा रहेको छ । चार विगाह क्षेत्रफलमा फैलिएको यो रिसोर्ट सार्क सम्मेलन गर्न मिल्ने गरी निर्माण गरिएको लगानीकर्ता कल्याण जोशीले जानकारी दिनु भयो । सार्कको झल्को दिने गरी सातवटा सुविधा सम्पन्न भिल्लाहरु निर्माण गरिएको छ । ५२ वटा कोठा रहेको यस रिसोर्टमा आन्तरराष्ट्रिय मापदण्ड अनुसार निर्माण भएको स्विमिङ पुल, आकर्शक बगैचा, तीनसय भन्दा धेरै जना अट्ने हल, रिसोर्टहरु निर्माण पूरा भैसकेको छ ।
यहाँबाट चितवन राष्ट्रिय निकुञ्जका जनावर अवलोकन गर्न सकिने, बोटिङ, थारु सस्कृति हेर्न पाइनेलगायतको सुविधा दिने उहाले जानकारी दिनु भयो । कोरोनाको कहरपछि पर्यटकीय क्षेत्रमा सुधार आउने भन्दै होटल तथा रिसोर्ट सञ्चालनको तयारीमा छन् । केही महिना भित्रै सञ्चालनमा आउने लगानीकर्ताले जानकारी दिएको छ ।
करिब एक वर्ष कोरोनाका कारण पर्यटकीय क्षेत्रमा परेको असरबाट सुधार आउने आशामा रहेपनि पुन कोरोनाको महामारी आउने हो की भन्ने डर लागेको लगानीकर्ता खनालले बताउनु भयो ।
चुडामणि खनाल, कल्याण जोशीलगायतको समुहको लगानीमा काठमाण्डौ उपत्यकाको गोदावरीमा ६१ कोठाको गोदावरी फरेष्ट होटल निर्माणाधिन रहेको छ । एक वर्ष भित्र सञ्चालनमा ल्याउने गरी काम भइराखेको लगानीकर्ता जोशीले जानकारी दिनु भयो ।
त्यस्तै गरी भरतपुर महानगरपालिका वडा नंं २९ मुग्लिन नारायणगढ सडकको नजिक भतेरीमा रिभर बैंक फन पार्क एण्ड रिसोर्ट निर्माणाधिन रहेको छ । ४८ कोठा रहेको यो रिसोर्ट बुटिक होटलको रुपमा विकास गरिने जोशीले जानकारी दिनु भयो । आन्तरिक तथा वाह्य पर्यटकलाई आवास तथा मनोरञ्जन प्रदान गर्न होटल तथा रिसोर्टले सुविधामा कुनै कमी नराख्ने लगानीकर्ताले जानकारी दिएका छन् । कोरोनाको संक्रमण हट्ने वितिकै चितवनमा एक दर्जन होटर तथा रिसोर्ट सञ्चालनमा आउने तयारी अवस्थामा रहेका छन् ।


