चितवन समाचार डटकम,
९ असार । चितवनको शक्तिखोरबाट पृथ्वी राजमार्ग जोड्ने निर्माणधिन छोटो सडकको काम ४५ प्रतिशत सकिएको छ ।
मुग्लिन नारायणगढ वैकल्पिक राजमार्गको रुपमा हेरिएको यो सडक अहिलेसम्म ४५ प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जानकारी दिएको छ । सन् २०१८ बाट काम सुरु भएको यो सडक २०२० को अन्तिममा सम्पन्न गर्नु पर्ने थियो । तर लकडाउनको कारणले ढिलाइ भएपनि काम भने नरोकिएको कम्पनीले जनाएको छ ।
निर्माणको ठेक्का पाएको होनेष्ट कन्ट्रक्सनका इन्जिनियर श्यामानन्द गुप्ताले भन्नु भयो ‘लकडाउन, वर्षाको वावजुद पनि कामलाई निरन्तरता दिएका छौ, अहिले सडकको वेस निर्माण, ड्रेनको काम भइराखेको छ ।’ लकडाउनको सुरुमा काम बन्द भएपनि अहिले भने भइराखेको उहाले जानकारी दिनु भयो ।
शक्तिखोरबाट चितवनको पुरानो सदरमुकाम उपरदाङगढी हुदै काठमाण्डौ जाने पृथ्वी राजमार्गको फिसलिङ जोड्नेछ । ८५ करोडको लागतमा निर्माण कार्य भइराखेको सडकको कुल लम्वाइ ३६ किलोमिटर रहेको छ । छ मिटर कालोपत्रे हुने यो सडक जिल्ला स्तरको हो । यो सडक भएर साना तथा मझ्यौला सवारी साधन चल्न सक्नेछ । भारी लोड भएका ठुला सवारी साधन भने चल्न सक्ने छैन इन्जिनियर गुप्ताले भन्नु भयो । मिनिवस, मिनि ट्रक, वस, भ्यान, कार जीप, माइक्रोबस लगायतका साधन राम्रोसंग चल्ने उहाले जानकारी दिनु भयो । अहिलेपनि साना सवारी साधन चलिराखेको निर्माण कम्पनीले जनाएको छ ।
इन्जिनियर गुप्ताले भन्नु भयो ‘पहाडी बाटो भएकाले मोडहरु धेरै छन्, धमाधम काम गर्न पाएमा अबको एक वर्षमा काम सकिन्छ ।’ हाम्रो सम्झौता अनुसार २०२० भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने छ विसम अवस्थाको कारणले गर्दा म्याद थपिने आशा गरेका छौ । हामीले अहिले सामग्रीको अभावको वेलामापनि काम भने गरिराखेका छौ । अव भारी वर्षा हुन थालेपछि काम रोक्ने छौ ।
निर्वाचन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलले टाँडीदेखि शक्तिखोर हुदै फिसलिङ जाने राजमार्ग निर्माणले पूर्वी चितवनको आर्थिक अवस्थामा सकरात्मक प्रभाव पार्ने बताउनु भयो । पहाडी क्षेत्रमा उत्पादन भएको कृषि सामग्रीले बजार पाउने र यस क्षेत्रमा पर्यटकीय गतिविधि वृद्धि हुनाले यहाँको विकासमा सडकले मुल भूमिका खेल्ने बताउनु भयो । यो सडकको सांसद पोखरेलले सिलान्यास गर्नु भएको थियो ।
सडक निर्माणपछि यहाँको जनतामा आर्थिक अवस्था सुधार आउने कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले बताउनु भयो । पहाडी क्षेत्रमा उत्पादन भएका सामग्री बजारसम्म लैजान सहज हुने भएकाले यसको महत्व अलगै रहेको बताउनु भयो । जिल्लाको पुरानो सदरमुकाम उपरदाङगढी, चिसो वातावारण, झरना, सुन्तता, जुनार फल्ने स्थान, चेपाङ वस्ती, हिमाली श्रृङखला सजिलै देख्न सकिने भएकाले यहाँ पर्यटकको भिड लाग्ने उहाँको भनाइ छ । काठमाण्डौ जानको लागि मुग्लिन सडकको बैकल्पिक राजमार्ग पनि भएकाले यसको महत्व ठूलो रहेको उहाले बताउनु भयो ।


