चितवन ३२ जेठ । गत वर्ष नफलेर धानबाली जोतेका किसानले अहिले रोगले फलेको धान काम नलाग्ने भएपछि जोतेका छन् ।
फलेको धानमा नेक ब्लाष्ट घांटी सुक्ने रोग लागेर काम नलाग्ने भएपछि बाध्य भएर किसानले ट्याक्टर लगाएर जोतेका छन् । फलेको धानलाई औषधि लगाएर निको पार्न नसकेपछि दाना नभएर पोगटा मात्र बसेको थियो ।
राप्ती नगरपालिका ४ वेलुवाका किसान कमलप्रसाद तिवारीले २२ कठ्ठामा धान लगाएका थिए । रोगका कारण धान उत्पादन नभएपछि निरास भएका किसान तिवारीले आइतबार ट्याक्टर लगाएर धानको बोटसहित जोतेका छन् ।
रोग लागेको तीन दिनमा सबै सखाप भयो नजोतेर के गर्ने तिवारीले भन्नु भयो । पराल मात्र भित्राउनु भन्दा जोतेर अर्को खेती लगाउन राम्रो भएकाले जोतेको उहाले दुखेसो पोख्नु भयो ।

उहाले २२ कठ्ठा जग्गा ठेक्का लिएर खेती गर्दै आउनु भएको थियो । ती जग्गाबाट एक मुठी पनि धान आएको छैन । जोताई देखि रोग लागेपछि विषादी प्रयोग गर्दासम्म ५५ हजार रुपैयाँ खर्च गरेको तिवारीले भन्नु भयो । उहाले प्रति कठ्ठा २ हजार ५ सय रुपैयाँ वार्षिकरुपमा भाडा तिर्दै आउनु भएको थियो । अघिल्लो वर्ष २२ कठ्ठामा ५५ क्वीन्टलसम्म धान उत्पादन भएको थियो ।
उहाकै साधमा खेती गर्दै आउनु भएका वुद्धिराज खरेलको ५ कठ्ठामा हर्दिनाथ–१ जातको धानमा यस्तै समस्या देखिएको छ । धान झुल्दा राम्रो उत्पादन हुने आशा थियो, किसान खरेलले भन्नु भयो, ५ कठ्ठामा १६, १७ बोरा उत्पादन हुन्थ्यो, अहिले एउटा गेडो पनि नआउने भयो ।
कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार हर्दिनाथ १ मा नेक ब्लाष्ट रोग लाग्ने भएकाले नलगाउन सुझाब दिदा नमानेर लगाउदा समस्या आएको बताउनु हुन्छ । यस्तो समस्या जिल्लामा ५ सय हेक्टर भन्दा धेरै क्षेत्रफलमा आएको उहाले बताउनु भयो ।


