हेटौंडा १२ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि सरकारले निश्पक्ष छानबिन गर्ने बताएका छन् ।
हेटौँडामा गृहमन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले सेक्युरिटी प्रिन्टिङ प्रेस कमिसन प्रकरणमा बाँस्कोटामाथि निश्पक्ष छानबिनमा सरकारले भूमिका निर्वाह गर्ने दाबी गरे । ‘बाँस्कोटाले राजीनामा दिइसकेका छन्,’ उनले भने, ‘अब सरकारले छानबिन गरेर समाधान गर्छ ।’
गृहमन्त्री थापाले तत्कालीन सभामुख कृष्णबहादुर महराकोमाथिको आरोप पनि निश्पक्ष छानबिन गरेर अदालतमार्फत टुंगिसकेको बताए । उनले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन ‘एमसिसी’बारे गम्भीर बहस भइरहेको बताउँदै सरकारले समस्या समाधान गर्ने तयारी गरिरहेको स्पष्ट गरे । उनले भने, ‘संसदमा छलफल भइसकेको एमसिसीको सम्बन्धमा सरकारले समाधान निकाल्ने तयारी अघि बढाइसकेको छ ।’
गोष्ठीमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखहरू तथा नेपाली सेनाका उच्च अधिकृतहरू सहभागी थिए । दुई दिने गोष्ठी आइतबार सकिएको हो ।
नयाँ पत्रीकाबाट


