काठमाडौं , मंसिर ५ :
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि श्रीलंकाले यू२३ टोली घोषणा गरेको छ ।
श्रीलंकाको सिनियर टोलीबाट खेलिसकेका दुबै हातले बलिङ गर्ने २१ वर्षिय युवा अलराउन्डर कामिन्डु मेन्डिसलाई उप कप्तानको जिम्मेवारी दिइएको छ । कामिन्डु दायाँ र बायाँ दुबै हातले स्पिन बलिङ गर्ने गर्दछन् । उनले श्रीलंकाबाट २ ओडीआई र ४ टि ट्वान्टी आई खेलेका छन् । गत वर्ष अक्टोबरमा कोलोम्बोमा इंग्ल्यान्डविरुद्ध टि ट्वान्टीमा डेब्यू गर्दै उनले २४ रन जोडेका थिए ।
कामिन्डुले श्रीलंकाबाट यू१९ विश्वकप खेलि सकेका छन् । त्यस्तै सागको लागि श्रीलंकाबाट एक दिवसिय क्रिकेट खेलिसकेका मध्य गतिका बलर आसिता फर्नान्डोलाई टोलीमा समेटेको छ । आसिता फर्नान्डोले १ ओडीआई, २७ प्रथम श्रेणी र ३५ लिष्ट ए खेलेका छन् । सन् २०१६ मा यू१९ विश्वकप खेलेका फर्नान्डो त्यसै वर्ष अष्टे«लियासँगको लागि टेष्ट सिरिजको लागि श्रीलंकाको टोलीमा परेका थिए । तर डेब्यू गर्न पाएनन् ।
उनले सन् २०१७ मा जिम्बावेविरुद्ध ओडीआईमा डेब्यू गरेका थिए । श्रीलंकाले ब्याटिङ अलराउन्डर चरिथ असालांकालाई कप्तानको जिम्मेवारी दिएको छ । उनले ३१ प्रथम श्रेणी, ३२ लिष्ट ए र ७ टि ट्वान्टी एस खेलेका छन् । श्रीलंकाको घोषणा टोलीमा सबै युवा र प्रथम श्रेणीको अनुभव बटुलेका रहेका छन् । श्रीलंकाले यू१९, प्रथम श्रेणी र बंगलादेशमा जारी इमर्जिङ टिम्स एसिया कप खेलेका खेलाडीलाई सागमा मौका दिएको छ ।
साग मंसिर १५ देखी २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा हुने छ । जसको लागि नेपाली पुरुष टोलीले पनि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ । सागमा पाकिस्तान र भारतको क्रिकेट टोली नआउने बताएका छन् ।


