एसिसी इमर्जिङ टिम्स कपमा नेपालको पहिलो जित

काठमाडौं ,कार्तिक ३०।

बंगलादेशमा भइरहेको एसिसी इमर्जिङ टिम्स कपमा नेपालले पहिलो जित निकालेको छ । राजधानी ढाकामा शनिबार भएको खेलमा नेपालले हङकङलाई ४० रनले हराउँदै पहिलो जित हात पारेको हो ।

नेपालले दिएको २१८ रनको लक्ष्य पछ्याएको हङकङले ४५।५ ओभरमा सबै विकेट गुमाएर १७७ रन बनाउन सक्यो ।

हङकङका किन्चिट शाहले ५३,  एहसान नवाजले अविजित ४४ रन जोड्दा हरोन महमद अर्सादले २६ रन बनाएका थिए ।

नेपालका लागि करण केसी र अविनास बोहराले ३–३ विकेट लिए भने सुशन भारीले २ विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा  २ सय १७ रन  जोडेको थियो । नेपालको सुरुवात भने खराब रह्यो । कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो बलमा क्याचआउट हुन पुगेका थिए । लगातार दोस्रो खेलमा दोस्रो बलमा आउट भएका ज्ञानेन्द्रले यस खेलमा पनि खाता खोल्न सकेनन् । उनी यसअघि भारतविरुद्ध पनि दोस्रो बलमा बोल्ड भएका थिए ।

कुशल भुर्तेल १ रन आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरद भेषवाकरले ८९ रनको योदन दिए । शरद र दिपेन्द्र सिंह ऐरीबीच ८३ रनको साझेदारी  रह्यो । जसमा दिपेन्द्रले ३७ रनमा बनाएका थिए । आरिफ शेख ४८ रन बनाए भने विनोद भण्डारीले १५ रन जोडेका थिए । अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

हङकङका लागि मोहमद अजिज खानले ३ विकेट लिए भने नस्रुलाह राना र एहसान नवाजले २र२ विकेट लिए ।

जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । अब नेपालले समूह चरणको अन्तिम खेल मंसिर २ गते बंगलादेशसँग खेल्नेछ।

शेयर गरौ

ताजा अपडेट