काठमाडौ २२ कार्तिक । १२ वर्षअघि रौतहट राजपुर फरहदवा–४ स्थित शेख इद्रिसको टहरोमा भएको बम विस्फोटमा घाइते भएकाहरूलाई इन्जेक्सन लगाई बेहोस पार्ने डाक्टरको परिचय खुलेको छ ।
घाइतेलाई इन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा सांसद मोहम्मद अफ्ताब आलमका काकाको छोरा डा. समिम अख्तर संलग्न रहेको प्रहरी स्रोतले जनाएको छ । अख्तर हाल रौतहटको गौरमा कांग्रेसका पुराना नेता शेख इद्रिस खालिहानको नाममा ‘श्री शेख इद्रिस डाइग्नोस्टिक सेन्टर’ क्लिनिक सञ्चालन गरेर बसेका छन् ।
डा. अख्तरले पाकिस्तानबाट एमबिबिएस अध्ययन गरेका हुन् । तर, प्रहरीले इन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा संलग्न अभियुक्तबारे भने अनुसन्धान अघि बढाएको छैन । इन्जेक्सन लगाउने कार्यमा संलग्नहरूको सम्बन्धमा सूचना प्राप्त नभएकाले अनुसन्धान अघि नबढाएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भूपेन्द्र खत्रीले इन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा संलग्न हुनेहरूको सम्बन्धमा सूचना प्राप्त नभएको बताए । अब भने यस सम्बन्धमा पनि अनुसन्धान अघि बढाइने उनले बताए । ‘विस्फोटका घाइतेलाई इन्जेक्सन लगाएर बेहोस बनाएको र पछि इँटाभट्टामा लगेर जलाएको जानकारीमा छ । तर, कसले इन्जेक्सन लगाएको हो ? त्यस सम्बन्धमा भने सूचना थिएन । अब सूचना संकलन गर्ने कार्यमा प्रहरी अघि बढिसकेको छ,’ एसपी खत्रीले भने ।
मृतक पिन्टुका बाबुले प्रहरीसँग खुलाए डा. अख्तरको संलग्नता
मृतक पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बाबु श्रीनारायण सिंह राजपुतले विस्फोटमा आफ्नो छोरा घाइते भएको, तर पछि इन्जेक्सन लगाई बेहोस बनाएको बयान प्रहरीलाई दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को प्रतिवेदनमा भने सिंहले घाइते भएका पिन्टुलाई डा. समिरले इन्जेक्सन लगाई बेहोस बनाएको बताए छन् । प्रतिवेदनमा उनले भनेका छन्, ‘मलाई सानो घाउ छ । म घर जान सक्छु भन्थेँ, तर अफ्ताबको भाइ डा.समिरले इन्जेक्सनमा जहर हाली मेरो छोराको नशामा दिएको थाहा पाएँ । मेरो छोरा मर्ने अवस्थामा थिएन ।’
नयाँ पत्रिकासँगको कुराकानीमा पनि भने सिंहले डा. समिमले नै घाइते छोरालाई इन्जेक्सन लगाई बेहोस बनाएको बताए । ‘मेरो छोरालाई इन्जेक्सन लगाई बेहोस बनाए । पछि, इँटाभट्टामा लगेर जलाए । इन्जेक्सन लगाएको अफ्ताबका भाइ डा. समिमले हो । मैले इन्सेकलाई त्यसवेला समिर भनेको थिएँ । मुस्लिम समुदायमा नाम अप्ठ्यारो हुन्छ । त्यसवेला समिर भनेँ । त्यो मान्छे खासमा समिम हो,’ उनले भने ।
प्रहरीका स्रोतका अनुसार घटना हुँदा डा.समिम राजपुरस्थित निवासमै थिए । बम विस्फोटमा घाइते भएको थाहा पाएपछि उनी अफ्ताबको सम्पर्कमा पुगेका थिए । अफ्ताबकै आदेशमा उनले घाइतेलाई इन्जेक्सन लगाएको प्रहरी स्रोतको भनाइ छ ।
थुनछेक बहस शुक्रबार पनि हुने
सांसद अफ्ताब आलमको मुद्दामा बिहीबारदेखि थुनछेक बहस सुरु भएको छ । जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान सकिएपछि वकिलहरूले बहस गरेका थिए । बहस नसकिएकाले शुक्रबार पनि जारी रहनेछ ।
सरकारका पक्षबाट सरकारी वकिल खणीन्द्रराज कटवालले पहिलो बहस गरे । उनले प्रहरीले अनुसन्धानका आधारमा घटनामा संलग्न आलमलाई जन्मकैदको सजाय हुनुपर्ने माग गरे । सहन्यायाधिवक्ता अर्जुनप्रसाद कोइरालाले आलमले मानवीय संवेदना नै बिर्साउने घटना घटाएका कारण उनलाई हदैसम्मको कारबाहीको माग गरे ।
बिहीबार दिउँसो २ बजेबाट सुरु भएको बहसमा पीडितका पक्षबाट अर्का सहन्यायाधिवक्ता सूर्यराज दाहालले सांसद जस्ताले जघन्य अपराध गरेका कारण हदैसम्मको सजायको माग गरे ।
आलमलाई ५१ वटा प्रश्न सोधिएको थियो । तेस्रो दिनको बयानमा उनलाई ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी कसुरबारे प्रश्न सोधिएको थियो । न्यायाधीशले सोधेको अधिकांश प्रश्नको आलमले इन्कारी बयान दिएका थिए ।
आलमका पक्षका २८ जना वकिलले बहस गर्ने
आलमको तर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, रमण श्रेष्ठ, योगेन्द्र अधिकारी, सुनील पोखरेल, कृष्ण घिमिरे, गोपालकृष्ण घिमिरेले बहसका लागि वकालतनामा लिएको रौतहट बार एसोसिएसनका अध्यक्ष अनन्त अधिकारीले जानकारी दिए । वरिष्ठ अधिवक्ता शम्भु थापाले आलमको पक्षमा बहस गर्ने भनिए पनि उनको वकालतनामा भने आइसकेको छैन । आलमको पक्षमा रौतहटका २८ जना वकिलले समेत बहस गर्ने अधिकारीले बताए । आलममाथि प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विस्फोटक सामान ओसारपसार तथा गैरकानुनी भण्डारण गरी तीनवटा मुद्दा अदालतमा दर्ता गरेको थियो ।
नयाँ पत्रीकाबाट


