दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु, चालक नियन्त्रणमा

 

चितवन ।
चितवनमा केही दिनअघि भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ ।
दुवै घटनामा संलग्न सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार, पहिलो घटना मिति २०८३ असार १७ गते राप्ती नगरपालिका–७, वीरेन्द्रनगरस्थित पूर्व–पश्चिम राजमार्गमा भएको थियो ।
बा ७१ प १८७२ नम्बरको मोटरसाइकललाई बा ७ च ७१३९ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकल चालक भारतको मोतिहारी, झाँझर घर भई हाल राप्ती नगरपालिका–७, वीरेन्द्रनगर बस्ने ३६ वर्षीय मुन्ना कुमार साह गम्भीर घाइते हुनु भएको थियो । उहाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेकोमा असार २५ गते चिकित्सकले मृत घोषणा गरेका हुन् ।
उक्त घटनामा संलग्न कार चालक सिन्धुली जिल्ला गोलन्जोर गाउँपालिका–६ निवासी ३४ वर्षीय शम्शेर बहादुर हायुलाई इलाका प्रहरी कार्यालय भण्डारको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, दोस्रो घटना पनि असार १७ गते राप्ती नगरपालिका–८, खुरखुरेमा भएको थियो । बा.प्र. ०३–००१ ज ४७८ नम्बरको भ्यानले पैदलयात्रीलाई ठक्कर दिँदा भारतको बिहार राज्य, सीतामढी घर भई हाल चितवनको खैरहनी नगरपालिका–६, पुरानो पर्सामा डेरा गरी बस्ने अन्दाजी ३४ वर्षीय मोहम्मद बसु शेख गम्भीर घाइते हुनु भएको थियो । उहाको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेकोमा असार २५ गते चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनामा संलग्न भ्यान चालक राप्ती नगरपालिका–६, प्यारिढाप निवासी ३६ वर्षीय कृत्यबहादुर तामाङलाई इलाका प्रहरी कार्यालय भण्डारले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट