काठमाडौँ। नेपालको हिमाली भेगमा मात्र पाइने हिउँचितुवालाई हिमालकी रानी मानिन्छ । नेपालको हिमाल र हिउँ संरक्षणको मानक भनेकै हिउँचितुवा रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हिमालको हिउँसँगै मिसिएर बस्छ, हिउँबिना हिउँचितुवाको परिकल्पना गर्न सकिँदैन त्यसैले यसलाई हिमालकी रानी भनिएको हो ।”
उहाँका अनुसार हिउँजस्तै सेतो बिरालो प्रजातिको लजालु प्राणी हिउँचितुवा लोपोन्मुख प्रजातिमा पर्छ । जटिल जलवायुमा बस्ने, सीमित सङ्ख्यामा भए पनि हिमाली प्रणालीको स्वच्छताको सूचक हो हिउँचितुवा । हिमालमा जति धेरै हिउँचितुवा भेटिन्छन् त्यति त्यहाँको पर्यावरण सुरक्षित र स्वस्थ्य छ भन्ने ठानिन्छ तर पछिल्लो समय जलवायु परिवर्तन र वातावरण विनाशसँगै हिमालकी रानी हिउँचितुवाको जीवन सङ्कटमा पर्दै गएकामा भने उहाँ चिन्ता व्यक्त गर्नुहुन्छ ।
महानिर्देशक कँडेलका अनुसार हिमालको हिउँ पग्लँदै जाँदा यसको बासस्थान हिमालको शिरतिर सर्दै छ । अझ तल रहेका सामान्य जातका चितुवाले बढ्दो तापक्रमसँगै माथि उक्लँदै हिउँचितुवाको आहारामाथि कब्जा जमाउन थालेका छन् ।
विभागका प्रवक्ता वेदकुमार ढकालले भन्नुभयो, “हिउँचितुवाको जीवन र नेपालको जलवायु परिवर्तन, तल्लो क्षेत्रको जल, जङ्गल जीविकाको संरक्षणबिच तोड्नै नहुने सम्बन्ध छ ।”
उहाँका अनुसार मानिससँग हिउँचितुवा कहिलेकाहीँ मात्र आमनेसामने हुन्छ । बाघले जस्तो यसले मान्छेलाई आक्रमण गर्दैन । लुक्दै आफ्नो बाटो लाग्छ ।
हिउँरेखा माथि सर्दै जाँदा माथि उक्लेको हिउँचितुवाले आहारा नपाउने समस्या बढ्दो छ । जायजन्म धेरै भएका बखत फराकिलो क्षेत्रमा विचरण गरे पनि घरबस्ती पसेरै पशुधन खाइदिने स्वभाव हिउँचितुवाको नहुने दाबी उहाँले गर्नुभयो । जलवायु परिवर्तनको असरले सगरमाथालगायतका क्षेत्रमा तिब्बती ब्वाँसो र तल्लो भेगको चितुवा गोठमै पसेर भेडाच्याङ्ग्रा खाइदिने गर्दा त्यसको दोष हिउँचितुवालाई लाग्ने गरेको ढकालले बताउनुभयो ।
दसबर्से कार्ययोजनासहित संरक्षणको पहल
नेपालमा हिउँचितुवाको वैज्ञानिक अध्ययन हुन नसक्दा संरक्षणमा कठिनाइ छ । हिमालको भौगोलिक अवस्था कठिन हुने भएकाले बाघ र गैँडा गणना गरे जस्तो हिउँचितुवा गन्न सकिँदैन । उच्च हिमाली भेगमा प्रविधि र मानव स्रोतसाधन पुर्याउनै कठिन हुने महानिर्देशक कँडेलले जानकारी दिनुभयो । जसका कारण सबै खालका तथ्य सङ्कलन गर्न सकिँदैन ।
सन् १९०० को दशकमा गरिएको गणना अनुसार नेपालमा ३५० देखि चार सय वटा हिउँचितुवा रहेको अनुमान थियो । बुधबार मात्र सार्वजनिक कञ्चनजङ्घा क्षेत्रको एक सर्वेक्षण अनुसार त्यहाँ अनुमानित नौदेखि २४ वटा हाराहारीमा हिउँचितुवा छन् । डोल्पामा ३० वटा हिउँचितुवा रहेको अर्को फरक सर्वेक्षणले देखाएको छ । हुम्ला, गौरीशङ्कर क्षेत्रमा विभिन्न संस्थाले आफ्नै तरिकाले सर्वेक्षण गरे पनि नतिजा बाहिर आएको छैन । सबैलाई एकीकृत गरेर पूर्ण तथ्य बनाउन विभागले पहल थालेको छ ।
सङ्ख्यामा कम भए पनि नेपालका उच्च हिमाली भेगको संरक्षित क्षेत्रमा ४० प्रतिशत र बाह्य भेगमा ६० प्रतिशत वासस्थान छ । हिउँचितुवा संरक्षणमा नेपालमा विदेशको जस्तै कानुनमा कडाइ गर्न सकिने अवस्था छैन । महानिर्देशक कँडेलका अनुसार छिमेकी मुलुक भारतको हिउँचितुवा बस्ने क्षेत्रमा कोही प्रवेश गरेमा सिधै गोली ठोक्न पाइने कानुन छ । त्यसको विपरीत नेपालमा समुदायलाई नै संरक्षणको स्वामित्व दिने गरी सचेतना बढाउने संरक्षणको नीति छ ।
उहाँले थप्नुभयो, “विदेशी पर्यटकले हिउँचितुवालाई हिमालको दुर्लभ र आदर्श वन्यजन्तु मान्छन्, त्यो हेर्न जतिसुकै मूल्य तिर्न पनि तयार हुन्छन् ।” नेपालको हिमाली भेगमा हिउँचितुवाको धर्म संस्कृतिसँग प्रगाढ नाता छ । सगरमाथामा हिउँचितुवालाई हिमालको भगवान्को प्रतीकका रूपमा स्थानीयले पूजाअर्चना गर्छन् ।
विभागले हिउँचितुवा संरक्षणको १० बर्से कार्ययोजना बनाएर काम थालेको छ । जसमा वैज्ञानिक अध्ययन गर्ने, राहतमैत्री संरक्षणसँगै समुदायलाई संरक्षणको स्वामित्व दिने गरी संरक्षण थालिएको छ । सगरमाथा, डोल्पा, कञ्चनजङ्घालगायतका क्षेत्रमा स्थानीय उपभोक्ता समितिमार्फत संरक्षणको एकीकृत अभियान सुरु भएको विभागले जनाएको छ ।
आगामी वर्ष वैज्ञानिक अनुसन्धान गर्दा प्रविधिको उच्चतम प्रयोगसहित डिएनए सङ्कलन, क्यामरा ट्र्यापिङ, ड्रोनको प्रयोग गरिने जनाइएको छ ।