चितवन २६ कात्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान केन्द्रहरुलाई लैङ्गिकमैत्री बनाउन निर्देशन दिनुभएको छ । मतदान केन्द्रहरु अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अशक्त, सुत्केरी भएका ब्यक्तिहरुले समेत सहज रुपमा मतदान गर्नेगरी मतदान केन्द्रहरु निर्माण गर्न मतदान अधिकृतहरुलाई निर्देशन दिनुभएको हो ।
गोरखापत्र संस्थानले बागमती, गण्डकी र लुम्बिनी प्रदेश अन्तर्गतका जिल्ला समाचारदाताहरूका लागि निर्वाचन समाचार लेखन अनुशिक्षण कार्यक्रमको सौराहामा उद्घाटन गर्नुहुँदै प्रमुख आयुक्त थपलियाले मतदातालाई सुरक्षित छु भन्ने विश्वस्त तुल्याउने वातावरणका लागि सुरक्षा निकायसँग आग्रह गर्नुभयो ।
“सुरक्षा निकायले सुरक्षाको प्रबन्ध सबल हिसाबले गर्नुपर्छ र सूक्ष्म ढङ्गले निर्वाचनलाई असर पार्ने क्रियाकलाप भएका छन् छैनन् निगरानी राख्न जरुरी छ” उहाँले भन्नुभयो । आचारसंहिताको पालनामा चितवनले सभ्य संस्कृति देखाएको उल्लेख गर्दै छिमेकी जिल्लाहरुले पनि यसको अनुसरण गर्नुपर्नेमा जोडदिनुभयो । निर्वाचनमा दलको घोषणापत्रले प्राथमिकता पाउनुपर्ने भए पनि व्यक्तिको विचार हावी भएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले निर्वाचनलाई राष्ट्रिय पर्वका रुपमा लिन र मतदाता शिक्षालाई प्रभावकारी हुनेगरी समाचार सामग्री प्रस्तुत गर्न समाचारदाताहरुसँग आग्रह गर्नुभयो ।


