अनुदान पाउँदा पनि गोबरग्यास राख्ने घटे, चितवनका १२ हजार घरमा प्लान्ट

तीर्थ नेपाल , चितवन समाचारडटकम
१४ माघ ।

भरतपुर महानगरपालिका वडा नम्वर ५ गुलाफवाघका विष्णुप्रसाद आचार्य

भरतपुर महानगरपालिका वडा नम्बर ५ गुलाफवागका विष्णुप्रसाद अाचार्यकाे घरमा खाना पकाउन एलपी ग्यास प्रयोग हुदैन । २०४६ सालदेखि उहाँले गोवर ग्यास प्रयोग गर्दै आउनुभएको छ । घरमा तीनवटा गाई छन् । गाईवाट दुध पनि पाईने , मलमुत्र गोवर ग्यासमा प्रयोग हुने र वाहिरिने लेदो मलका रुपमा तरकारीमा हाल्न पाईने कुराले आचार्यलाई अझै लोभ्याईरहेको छ । “मैले गोबर ग्याँस राखेर धेरै फाईदा पाएँ, धेरैले प्रयोग गर्न छाडेका छन् मैले भने ३० वर्षदेखि यसको अनवरत प्रयोग गरेको छु ” आचार्यले भन्नुभयो ।
आचार्यले जस्तै शहरी तथा ग्रामिण क्षेत्रमा अहिले गोवर ग्यास प्रयोग गर्नेको संख्या निकै कम छ । सरकारले गोबर ग्यास प्लान्ट राख्न अनुदानको व्यवस्था गरेपनि आजकल यस प्रति आकर्षण घटेको छ ।

पशुपालन गर्ने किसानको सख्यामा दिनानुदिन कमी हुनुले घरेलु प्रयोजनका लागि गोबर ग्यास राख्नेको सख्या घट्दै गएको हो । बढ्दो सहरीकरण, विद्युतीकरण, जनशक्तिको कमी लगायतका विषयले गर्दा वार्षिक रुपमा प्लान्ट राख्नेको सख्या घट्दै गएको राष्ट्रिय गोवर ग्यास निर्माण तथा सेवा प्रालिका निर्देशक प्रकाशचन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।

घरेलु प्रयोजनका लागि चार घनमिटर र ६ घनमिटर गरी दुइ किसिमका प्लान्ट राख्ने गरिएको छ । निर्देशक श्रेष्ठका अनुसार चार घनमिटर निर्माण गर्न रु ५५ हजार लाग्ने गर्दछ । सामान र प्रविधिमा २० हजार रुपैयाँ बराबर अनुदान र बाँकी खर्च उपभोक्ताले व्यहोर्नु पर्ने हुन्छ । त्यसै गरी ६ घनमिटरको लागि रु ६५ हजार लाग्ने जसमध्य २१ हजार ६ सय रुपैया अनुदानबाट प्राप्त हुन्छ । यसरी अनुदानमा बनाउन सकिने भएपनि सर्वसाधारणको यस प्रति पछिल्लो समय आकर्षण घटेको निर्देशक श्रेष्ठले स्पष्ट पार्नु भयो ।

राष्ट्रिय गोवर ग्यास निर्माण तथा सेवा प्रालिका निर्देशक प्रकाशचन्द्र श्रेष्ठ

चितवनमा अहिले १२ हजार घरधुरीमा गोबर ग्यास प्लान्ट रहेको उहाले जानकारी दिनु भयो । प्लान्ट निर्माणमा चितवनमा राष्ट्रिय गोवर ग्यास निर्माण तथा सेवा प्रालि सहित आधा दर्जन सस्थाले काम गर्दै आएका छन् । बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसंगको सहकार्यमा यी सस्थाहरुले अनुदान उपभोक्ताको हातमा पु¥याउने गरेका छन् ।

आफ्नो सस्थाबाट मात्रै तीन वर्ष अगाडि वार्षिक तीनसय ५० जनाले प्लान्ट जडान गर्ने गरेकोमा गएको वर्ष एकसय ५० घरमा मात्र जडान भएको निर्देशक श्रेष्ठले जानकारी दिनु भयो । यो सख्या चालु आर्थिक वर्षमा अझै घट्ने देखिएको कार्यालयले जनाएको छ ।

जिल्लामा गोबर ग्यासका घरेलु प्लान्टहरु राख्ने क्रम घटिरहदा केही सामुदायिक सस्था र व्यावसायिक प्रतिष्ठानहरुले २० घनमिटर भन्दा माथिका प्लान्टहरु जडान गर्न थालेका छन् । यो सख्या चितवनमा ६० वटा रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार भरतपुर अस्पताल, जुनियर प्रहरी अधिकृत प्रशिक्षण केन्द्र भरतपुर, केही पोल्ट्री फार्महरु, गाइफार्महरुमा ठुला प्लान्ट जोडिएको निर्देशक श्रेष्ठले बताउनु भयो ।

नेपालमा हाल गोबर ग्यासका करिब चारलाख प्लान्ट निर्माण भएका छन् । त्यस मध्य राष्ट्रिय गोवर ग्यास निर्माण तथा सेवा प्रालिले मात्रै ५५ हजार प्लान्ट निर्माण गरेको श्रेष्ठले जानकारी दिनु भयो । निर्माण गरेका मध्य ९० प्रतिशत सञ्चालनमा रहेको कार्यालयको दावी छ । यस सस्थाले रौतहटदेखि कैलालीसम्म ४० जिल्लामा प्लान्ट निर्माण गर्दै आएको जनाएको छ ।

गोवरग्यास प्लान्टमा पूर्ण अनुदानको ब्यवस्था भएमात्रै यसको प्रयोगमा वृद्धि हुन सक्ने राष्ट्रिय गोवर ग्यास निर्माण तथा सेवा प्रालिका सञ्चालक सदस्य केशव देवकोटाको भनाई छ । हाल दलित समुदायलाई मात्र पूर्ण अनुदानको ब्यवस्था रहेकोमा यसको दायरा वढाई सवैलाई पूर्ण अनुदानको व्यवस्था सरकारले गर्ने सके बैकल्पीक उर्जाको प्रयोगमा कायापलट हुने देवकोटाले बताउनुभयो ।

ताजा अपडेट