मौसममा सुधार नभए किसानको तरकारी अझै नबिक्ने

चितवन, १३ माघ । चिसो मौसम भएकै कारण किसानले वारीमा लगाएको तरकारी बिक्री हुन छाडेको छ । लाखौ खर्च गरेर खेती गरेका चितवनका किसानले बारीमा लगाएको तरकारीले उचित मुल्य नपाउदा अझै बिक्री हुन सकेको छैन ।
बन्दा, काउली, मुलालगायतका तरकारी अहिले प्रतिकिलो दुइ रुपैयाँमा पनि बिक्री हुन नसक्दा चिन्तामा परेका छन् । लागत मुल्य भन्दा ज्यादै न्युन रुपैयाँ दिन व्यापारीहरु खेतमा जादा किसानले तरकारी बिक्री गर्न नसेका हुन् ।
चिसो मौसमको कारण तरकारी बिक्री हुन छाडेको फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनका अध्यक्ष थिरप्रसाद धिताल बताउनुहुन्छ । ‘चिसो मौसम, उत्पादन धेरै यही कारणले यहाँको तरकारी बिक्री हुन छाडेको छ’ धितालले भन्नु भयो ‘घरघरमा उत्पादन भएको छ, मौसम चिसो पनि छ, यसले गर्दा किन्ने व्यक्ति थोरै भएकैले चिसो जातका तरकारी बिक्री नभएको हो ।’ यहाँ उत्पादन भएको तरकारी भारतमा बिक्री गर्न समस्या भएको अध्यक्ष धितालले भन्नु भयो ।
भारतमा उत्पादित सामग्री नेपालमा ल्याउन सहज छ तर यहाँ उत्पादित तरकारी लैजान जटिल समस्याको कारण बिक्री नहुदा किसानले मुल्य नपाउने उहाको भनाइ छ । धितालका अनुसार अहिले चितवनका किसानले वारीमा प्रतिकिलो २ देखि ८ रुपैयाँसम्म तरकारीको मुल्य पाएका छन् । यो मुल्यले लागत उठ्दैन मौसममा सुधार नभए अझै एकदुइ हप्ता तरकारीले राम्रो मुल्य नपाउने उहाँको भनाइ छ । जाडो र वर्षातको कारण चिसो जातका तरकारीको मुल्य घटेको व्यापारीको भनाइ छ । उनीहरुको भनाइ अनुसार भारतको सिमावर्ती क्षेत्रमा हरियो केराउ, काउली, मुला, बन्दा लगायतका तरकारीले मुल्य राम्रो पाउन सक्छन् । यहाँको उत्पादित तरकारी भारतमा लैजान सके किसानले वारीमा नै प्रतिकिलो २० रुपैया भन्दा धेरै पाउन सक्ने व्यापारीहरु बताउँछन् ।
लागत अनुसारको किसानले मुल्य नपाउदा समस्या आएको तरकारी जोन पार्वतीपुरका प्रमुख भरतत आचार्यले बताउनु भयो । काउली, वन्दा मात्रै नभएर टमाटरको मुल्य पनि गिरावट भएको छ उहाले भन्नु भयो यो समय धेरै उत्पादन हुने भएकाले पनि बजार पाउन समस्या हुन्छ । पश्चिम चितनवका क्षेत्रमा यस अगाडिनै तरकारी उत्पादन गर्नेले राम्रो मुल्य पाएपनि आज भोली बजार निस्केका तरकारीले मुल्य कम पाएको उहाको भनाइ छ । सिजन शुरु हुनु भन्दा अगाडि बजारमा ल्याउन सके राम्रो आम्दानी गर्न सकिने उहाले बताउनु भयो ।
मुल्य नै नपाएको कारण खैरहनी नगरपालिका वडा नं. ६ का पुरन महतोले तरकारी बारीमा डोजर लगाउनु भयो । लागत मुल्य धन्दा धेरै कम मुल्य दिने भन्दै तरकारी बिक्री गर्न बिचौलीया आएपछि डोजर लगाउनु परेको उहाँको भनाइ छ । उपभोक्ताले बजारमा प्रतिकेजी १५ रुपैयामा मुला, ३० रुपैयामा बन्दा बिक्री हुदा, बिचौलिया ब्यापारीले प्रतिकेजी दुई रुपैया भन्दा कम मुल्यमा खरिद गर्ने भनेपछि वाध्य भएर डोजर लगाएको बताउनु भयो ।
‘लगानी र मेहनत नै नउठेपछि डोजर लगाएँ’ महतोले भन्नु भयो ‘व्यापारीले आफु खुसी तोकेको मुल्यमा दिनु भन्दा नष्ट गर्न उचित लाग्यो, बरु सित्तैमा लैजाउ भन्दा पनि मानेन् ।’ महतोले अर्काको जग्गा भाडामा लिएर तरकारी लगाउनु भएको छ । महतोले १६ कठ्ठा क्षेत्रफलमा लगाएको बन्दा र मुलामा डोजर लगाउनु भएको थियो । यसबाट उहाको १० लाख रुपैयाँ घाटा भएको छ ।

शेयर गरौ

ताजा अपडेट