चितवन समाचार डटकम
६ चैत । आफ्ना बालबालिका सरकारी विद्यालयमा पढाउनु पर्छ भन्दा नाक खुम्चाउने अभिभावकलाई गतिलो जवाफ जानकी माध्यमिक विद्यालय मेघौलीले दिएको छ ।
निजि विद्यालयमा बालबालिका पढाउन दौडिरहेका अभिभावक अहिले जानकी विद्यालय खोजी रहेका छन् । गुणस्तरीय शिक्षा, घाँटीमा टाइ, बोलीमा अंग्रेजी, सुन्दर भवन भन्दै निजि विद्यालय धाउने अभिभावकहरु जानकी विद्यालय आउने गरेका हुन् । पश्चिम चितवनमा शैक्षिक गुणस्तरीयतामा अब्बल बन्दै गरेको विद्यालयले खेलकुदमा रेकर्ड ब्रेक गरेको छ । राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पु¥याएको विद्यालयले राष्ट्रपति रनिङ शिल्डमा हयाट्रिक गरेको छ ।
- विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद सापकोटाको भनाइ जस्ताको तस्तै ।
स्थापनाको अवस्था
आपवगैचाको खुल्ला चौरमा २०२५ पुस १० गते यो विद्यालय स्थापना भएको हो । निम्न माध्यमिक तहसम्म पढाइ हुदै आएको यो विद्यालयले २०४० मा माध्यमिक विद्यालय स्वीकृति पायो । पश्चिम क्षेत्रको रोजाइको विद्यालयमा विद्यार्थीको आकर्षण वढिराखेको छ । सामुदायिक विद्यालयप्रतिको आकर्षण घट्दो समयमा हामीले यसको गुणस्तरीयतालाई खस्कन दिएका छैनौ ।
वि.सं.२०५८ मा प्लसटुको स्वीकृति पाएको विद्यायमा यस वर्षबाट विज्ञान र व्यवस्थापन विषयमा पढाइ हुदै आएको छ । आदिवासी तथा जनजातिको वाहुल्यता रहेको यहाँ शिक्षामा अब्बल बनाउनु ज्यादै कठिन छ । तर पनि हामीले मेहनत गरेर गुणस्तरीयतालाई खस्कन दिएका छैनौ ।
विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद सापकोटा
विद्यालयको उत्पादन
हाम्रा विद्यार्थीले विश्वका विभिन्न स्थानमा हमत्वपूर्ण भूमिका निभाएका छन् । २०४० सालमा माविको स्वीकृति पाएको विद्यालयले पहिलो पटकको एसएलसीमा नै सफलता हासिल गरेको छ । पहिलो एसएलसी दिएका प्रथम विद्यार्थी डाक्टर नन्द रेग्मी अमेरिकामा अनुसन्धान वैज्ञानिक छन् । उहाँले अनुसन्धानको क्षेत्रमा राम्रो नाम कमाउनु भएको छ । २०४८ सालमा एसएसली दिएका डाक्टर डिल्ली अधिकारी नेपाल टेलिकमका प्रवन्ध निर्देशक हुनु भएको छ । यी प्रतिनिधि पात्र हुन् । हाम्रा विद्यार्थीले सरकारी, निजि क्षेत्रमा अब्बल नाम राख्न सफल भएका छन् ।
अब्बल बनाउने अभियान
पछिल्लो ६ वर्षदेखि एसएलसी परीक्षामा अग्रस्थानमा आएको छ । नर्सरीदेखि ५ कक्षासम्म बालमैत्री बनाउनको लागि त्यही वातावरण सिर्जना गरेका छौ । दस कक्षाको विद्यार्थीलाई मात्र नभइ तलदेखिनै मेहनत गरे सफल भइन्छ भन्ने ठानेर जग बलियो बनाउने काममा हाम्रो ध्यान छ ।
सामुदायिक विद्यालयमा विद्यार्थी घट्दो क्रममा छन् । निजि विद्यालयमा आकर्षण छ । तर पनि पश्चिम चितवनमा हाम्रो विद्यालयमा आकर्षण घटेको छैन । निजि विद्यालय भन्दा राम्रो शिक्षा दिने प्रयत्न गरिराखेको छौ सबैको आकर्षण छ ।
सामुदायिक विद्यालयले राम्रो गर्दैनन् भन्ने दृष्टिकोणलाई बदल्नु पर्दछ । हामीले मेहनत गरेका छौ त्यही मेहनत अनुसार अहिले विद्यार्थीको आकर्षण बढेको हो । निजि विद्यालयले भन्दा राम्रो शिक्षा दिएका छौ । वरिपरी रहेको निजि विद्यालयसंग प्रतिष्पर्धामा हामी उत्रेका छौ त्यही भएर यहाँका अभिभावकले आफ्ना बालबालिका पढाउन आउने गरेका छन् ।
विद्यालयको ड्राइभर प्रधानाध्यापक
गाडी कता लाने भन्ने कुरा ड्राइभरको हातमा भए जस्तै विद्यालयलाई कस्तो बनाउने भन्ने मुख्य भूमिका प्रधानाध्यापकमा हुन्छ । सस्था राम्रो बनाउन अभिभावकसंग अन्र्तक्रिया गरी विद्यालयको शैक्षिक अवस्थाको विषयमा जानकारी गराउनु पर्छ । कमजोरीहरुलाई सुधार गर्दै लैजाने । विद्यालयमा भइरहेका गतिविधि जानकारी गराउने । अभिभावकको चाहना अनुसार शिक्षकहरुलाई प्रशिक्षित पार्ने गर्नु पर्दछ । आफूपनि दत्त चित्त भएर लाग्नु । विद्यालयको आर्थिक अवस्था कमजोर भएर डराउनु हुदैन मेहनत गरे अर्थले अड्किदैन । आर्थिक स्रोत जुट्छ भन्ने उदाहरण हाम्रै विद्यालय भएको छ । भर्खरै हामीले स्वर्णमहोत्सव सम्पन्न गरेका छौ त्यसबाट एक करोड ८० लाख रुपैया उठेको छ । अबको एक वर्ष भित्र विद्यालय अझ सम्पन्न र बालमैत्री हुनेछ ।
बालबालिका विद्यालय आउदा रमाउने हुनु पर्दछ । करले होइन रहरले आउने वातावरण हामीले बनाउदै लगेका छौ । विद्यार्थी रमाउछन् खुसी हुदै पढ्छन् । भौतिक शैक्षिक दुवै हिसाबले सम्पन्न बनाउदै लगेका छौ । विद्यालयलाई सबै हिसाबले अब्बल बनाउन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति दुवैको महेनत चाहिन्छ ।
गरिब तथा प्रतिभाशाली विद्यार्थीलाई लक्षित गरेर विज्ञान विषयको पढाइ शुरु भएको छ । आफ्नै गाउँमा विज्ञान विषय पढ्न पाउने अवस्था छ । पिछडीएका वर्गहरुको बाहुल्यता भएको स्थानमा विज्ञान विषय पढ्न पाउने अवसर प्रदान गरेका छौ । नमुना विद्यालयको रुपमा लैजाने हाम्रो अभियान जारी छ ।
अत्यन्त निस्वार्थ हिसाबले लागेका छौ । विद्यालयको शैक्षिक गुणस्तरीयता हाम्रै पालामा राम्रो बनाउने अभियानामा छौ । शिक्षक, व्यवस्थापन समितिले मेहनत गरेको छ । आफ्ना नानीबाबुहरुलाई यहाँ ल्याउदा शंका मान्न पर्ने अवस्था छैन । निजिमा भन्दा राम्रो पढाइ हामीले दिएका छौ ।
प्रदेश सांसद कृष्णप्रसाद भुर्तेलको आँखामा जानकी
चितवनको निर्वाचन क्षेत्र नं. ३ को १ का प्रदेश सांसद कृष्णप्रसाद भुर्तेल भन्नु हुन्छ पश्चिम चितवनमा अब्बल सामुदायिक विद्यालय जानकी मावि हो । यसको रिजल्टले नै यो देखाएको छ उहाँ भन्नु हुन्छ । २०५३ देखि लागातार विद्यालय व्यवस्थापन समितिको सदस्य रहनु भएका भुर्तेल २०५८ मा अध्यक्ष हुनु भयो । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरीयता राम्रो बनाएसंगै खेलकुदमा पनि यसको नाम नेपालमा नै परिचित छ । आफ्नै कार्यकालमा यसलाई प्लसटु स्वीकृति गराएको हो । राष्ट्रिय खेलाडी उत्पादन गर्ने, राष्ट्रपति रनिङ शिल्ड जित्न सफल यो विद्यालयको विकासमा प्रदेश सरकारबाट २५ लाख रुपैया सहयोग गरेको बताउनु हुन्छ । खेल मैदानको लागि सो रकम सहयोग गरेको उहाँको भनाइ छ ।
खेलमा रेकर्ड ब्रेक जानकी
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार तीन पटक जितेर शिल्ड राख्न सफल भएको छ । चितवनको खेलको इज्जत जानकी माध्यमिक विद्यालयले नै राखेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगा लामा भन्नु हुन्छ ।
वि.सं.२०७१, ०७२ र ०७३ को राष्ट्रपति रनिङ खेल लगातार जितेको छ अध्यक्ष लामाले भन्नु भयो ‘ह्याट्रिक गरे शिल्ड विद्यालयले लगेपछि २०७४ मा अर्को नयाँ शिल्ड बनाएका थियौ त्यो पनि चौथो पटक जितेर लगेको छ ।’ जानकारी माध्यमिक विद्यालय खेलाडी उत्पादन गर्ने विद्यालय भएको छ । यहाँका खेलाडी राष्ट्रिय स्तरमा नाम राख्न सफल भएका छन् । अब २०७५ सालको रनिङ शिल्डपनि जित्न सक्ने सम्भावना छ उहाले भन्नु भयो ।
यही विद्यालयका भुवन महतो लमजंगमा उत्कृष्ट खेल प्रस्तुत गरेर यस अगाडि धनवीर चौधरीले राखेको रेकर्ड तोडेका छन् । चितवनको खेल धान्ने नै जानकी माध्यमिक विद्यालय रहेको छ लामाले भन्नु भयो । खेलकुदको विकासमा यहाँका प्रधानाध्यापकको भूमिका ज्यादै सम्मान युक्त छ लामा भन्नु हुन्छ ।