कालोपत्रे गरिएपछि विमानस्थलमा जहाज आएन, काँस फूल्यो

बागलुङ । नियमित जहाज उडानका लागि कालोपत्रे गरिएको बागलुङको बलेवा विमानस्थलमा सेतै काँस फूलेको छ । ठाउँठाउँमा झार उम्रन थालेको छ । चारवर्ष अघि निर्माण सम्पन्न भएको विमानस्थल सञ्चालन गर्नेबारे भने कसैले चासो राखेका छैनन् ।

कच्ची छउन्जेल बेलाबेला जहाज आउने गरेकोमा पक्की भएपछि एकपटक पनि जहान अवतरण गरेको छैन । बागलुङ नगरपालिका १४ को नारायणस्थानमा रहेको बलेवा विमानस्थलको घेराबारमा खिया लागिसकेको छ । यहाँ पुग्नेले तारबार लगाएको स्थानबाट तस्बिर खिच्ने गर्छन् । कतिले कालोपत्रे मैदानको प्रसंसा गर्छन् । कतिपयले जहाज कहिले आउँछ भनेर सामाजिक संजालमार्फत प्रश्न तेर्स्याउँछन् । तर यो विमानस्थल कहिले चल्छ भन्ने जवाफ कसैसँग पनि छैन । निर्माण गरेर अलपत्र छोडिएपछि विमानस्थलमा काँस फूल्न लागेको बागलुङ नगरपालिका वडा नम्बर १४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए ।

जहाज चलाउने भन्दै निर्माण गरिएको विमानस्थल कसरी सञ्चालन हुन्छ भन्ने कसैलाई पनि जानकारी छैन । बलेवा विमानस्थलको काम हेर्ने पोखरा विमानस्थललाई पनि यो बारे जानकारी छैन । जहाज पठाउने नपठाउने अधिकार केन्द्रीय कार्यालय र महानिर्देशकसँग भएकोले पोखराका कर्मचारीले केही बताउन नसकिने उल्लेख गरे ।

यो विमानस्थलमा २०५० पछि जहाज चल्न छाडेको थियो । २०२२ सालदेखि २०५० सम्म नियमित जहाज चल्दा बागलुङ, पर्वत र म्याग्दीका बासिन्दाले काठमाडौं, पोखरा र भैरहवाका आउजाउ गर्ने सेवा पाएका थिए । पोखरा, बागलुङ राजमार्ग खुलेपछि जहाज उडान बन्द भएको थियो ।

२०७१मा तत्कालिन पर्यटनमन्त्री लोकेन्द्र बिष्टले जहाज चलाउने प्रयास गरेका थिए । स्थानीय तह गठनपछि बागलुङ नगरपालिकाले सिट क्षमताको आधारमा खाली भएमा शुल्क तिर्ने गरी झण्डै ४ महिनासम्म जहाज चल्यो । साताको दुइवटासम्म उडान भर्दा नगरपालिकाले झण्डै २० लाख बढी रकम सिट क्षमताको आधारमा तिरेपछि बन्द भएको थियो ।

नगरको अगुवाइमा नेपाल नागरिक उड्ययन प्राधिकरणले धावनमार्ग कालोपत्रे गरेको छ । कालोपत्रे बनेपछि भने विमानस्थल सञ्चालनमा कसैले पनि चासो देखाएका छैनन् । ‘काष्ठमण्डप उमा एण्ड संयुक्त निर्माण कंपनी’ २०७८ को बैसाखमा ८ करोड २४ लाख ३४ हजार रुपैयाँको लागतमा बलेवा विमानस्थल कालोपत्रे गरेको थियो । करिब ७ सय मिटर लम्बाइ कालोपत्रे सहित १ हजार १ सय मिटर लामो मैदान ग्राभेल गरिएको छ । ३० मीटर चौडा मैदानमा तारबारले घेरिएको छ । टर्मिनल भवन मर्मत गरेर रंगरोगन समेत लगाएपछि जहाज उडाउने पहल भने नभएको हो ।

२०१६ देखि २०१८ सम्म लगाएर स्थानीयले यो विमानस्थल खनेर निर्माण गरेका थिए । बलेवाबाट काठमाडौं, पोखरा र भैरहवाकालागि नियमित उडान चल्ने गरेकोमा सडकले ठप्प भएको स्थानीय कृष्णबहादुर खड्काले बताए । तत्कालिन पर्यटनमन्त्री बिष्ट र शिक्षामन्त्री दिनानाथ शर्माले नियमित जहाज चलाउने प्रतिबद्धता जनाउन नेपाल एयरलाइन्सको जहाज चढेर यहाँ उत्रेका थिए ।

एयरपोर्ट पुग्ने सडक कच्ची भएकोले विमानस्थल चलाउन समस्या भयो । नगरपालिकाले पनि घाटा परेपछि विमानस्थल कालोपत्रे गर्ने काम सुरु भयो । यहाँ ६ सय २० मीटर लामो पक्की नाली, १ हजार ५ सय मीटर लामो घेराबार र एउटा मुख्य गेट तथा अर्को आपतकालिन गेट बनाइएको छ । यहाँ १८ देखि २४ सिट क्षमताका जहाजहरू चल्न सक्छन् ।

हाल यहाँ पुग्ने कालीगण्डकी करिडोर कालोपत्रेको ठेक्का लागेको छ । ९९ करोडको लागतमा मालढुंगादेखि एयरपोर्ट सम्मको १० किलोमिटर सडक कालोपत्रे ठेक्काको काम भइरहेको वडा नम्बर १४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए । ‘सडक कालोपत्रे भयो भने मात्र जहाज चलाउन सकिएला,’ खत्रीले भने ‘अहिले काँस फुलेको छ, आउने मानिसले पनि हासिमजाक गरेर जाने गरेका छन् ।’ सडक संजाल सहज नहुँदा पहल गर्नपनि नसकिएको उनले बताए । बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले पनि ट्याक्सी चढेर आउने वातावरण नभएसम्म पहल गर्न नसकेको बताए । करिडोरको बाटो कालोपत्रे भएपछि मात्र एयरपोर्ट संचालनको पहल गर्ने उनको भनाइ थियो ।

शेयर गरौ

ताजा अपडेट