चितवन, । भरतपुरको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिले कुहिनाको सफल प्रत्यारोपण गरेको छ ।
भरतपुर महानगरपालिका वडा नं. १० निवासी ५५ वर्षीय रामसुन्दर जोशीको कुहिनाको सफल प्रत्यारोपण गरिएको हो । शरिरका अन्य अङ्गको तुलनामा कुहिनाको प्रत्यारोपण जटिल र महङ्गो हुने अस्पतालका प्रमुख डाक्टर प्रमोद लामिछानेले बताउनुभयो । ‘यो प्रकारको प्रत्यारोपण काठमाण्डौको विएण्डवी अस्पतालले गरेको थियो भने उपत्यका बाहिर हामीले नै गरेका छौ’ डाक्टर लामिछानेले भन्नुभयो ।
नेपालमा काठमाण्डौ बाहिर पहिलो पटक चितवनमा प्रत्यारोपण गरिएको डाक्टर लामिछानेले दावी गर्नु भएको छ । विरामीलाई कहाँ उपचार हुन्छ भन्ने थाहा नपाएको कारण अस्पतालमा आउन सकेका छैनन् । उपचार सजिलो नहुने र खर्च महङ्गोका साथै जटिल हुने भएकाले प्रत्यारोपणकालागि चिकित्सक तयार नहुने उहाले बताउनुभयो ।
अस्पतालले कुहिनाको प्रत्यारोपण सम्वन्धी विषेश तालिम लिनको लागि डाक्टर अनिल भट्टराईलाई दिल्ली पठाएको थियो । तलिम लिएर आएपछि विरामीको उपचार गरिएको थियो । प्रत्यारोपणको लागि आवश्यक सामग्रीको शुल्क धेरै लाग्ने, एउटा समस्याका लागि विकल्प सहितका अन्य सामग्रीपनि खरिद गर्नुपर्ने, जटिल प्रकारका शल्यक्रिया गर्दै आएको चिकित्सक हुनु पर्ने सबै विषयमा तयार भएपछि मात्र शल्यक्रिया गरिएको अस्पतालका प्रमुख डाक्टर लामिछानेले बताउनुभयो । यो प्रकारको प्रत्यारोपणको लागि औषधि, अस्पताल वसाइ बाहेक सामग्री र शल्यक्रियाको कम्तीमा ५ लाख रुपियाँ लाग्ने डाक्टर लामिछानेले बताउनुभयो ।
हाडजोर्नी सम्वन्धी धेरै शल्यक्रिया र घुडाको प्रत्यारोपण गर्दै आएका थियौ यो प्रकारको सफलता पहिलोपटक भएको डाक्टर भट्टराइले बताउनुभयो । ५ वर्षको उमेरमा क्षयरोगको कारण देव्रे हातको कुहिना बाङ्गो भएको थियो । ५० वर्षसम्म हात सिदा नभएर दैनिक काम गर्नको लागि समेत वाधा परेको थियो । यस अस्पतालमा उपचार हुन्छ भन्ने थाहा पाएपछि आएको विरामी रामसुन्दर जोशीले बताउनुभयो ।
नवलपरासीको डिष्टिलरी उद्योगमा काम गर्दै आउनु भएका जोशीले भन्नुभयो उद्योगमा एउटा हातको भरमा काम गर्दै आएको थियो । देव्रे हातको भर हुदैन थियो । वाङगो भएको कारण दैनिक काम गर्नको लागि धेरै जटिल भएको थियो । अहिले उपचारपछि गन्जी लगाएको छु, हात लत झार्न सक्ने भएको छु । ५० वर्षपछि पाएको यो उपचारले मलाई धेरै खुसी दिएको छ ।
जोशीको श्रीमती निर्मालाले भन्नुभयो ‘विवाह गरेदेखिनै एउटा हात सिदा नहुने समस्या थियो । उपचार भएर सामान्य हुन्छ भन्ने कल्पना समेत गरेको थिइन अहिले सपना झै लागेको छ । आफ्नै हातले कपडा लगाउन सक्नु भएको छ । अत्यन्तै खुसी भएको छु ।’ दीर्घ समस्या भएका जोशी भदौ १६ गते अस्पताल भर्ना हुनु भएको थियो । ५ घण्टा लामो शल्यक्रियापछि प्रत्यारोपण गर्न सफल भएको थियो । विरामी सामान्य अवस्था हुन थालेपछि सोमबार घर जानु भएको छ । अस्पतालले जटिल प्रकारका शल्यक्रिया र प्रत्यारोपण अहिलेसम्म एकसय जनाको गरेको छ ।