चितवन । भरतपुर महानगरपालिकाले स्थानीय सरकार मातहत रहेका अस्पताल वा क्लिनिकहरुको अनुगमन गरेको छ ।
महानगरपालिकामा सञ्चालनमा रहेका स्वास्थ्य सस्थाहरु मापदण्ड विपरित सञ्चालन भएको, नविकरण नगरेको, तोकिएको भन्दा फरक तरिकाले सञ्चालन भएको जस्ता उजुरी आएपछि अनुगमन गरिएको थियो । महानगरको भरतपुर र पश्चिम क्षेत्रमा मङलबार अनुगमन गरी प्रकृया पूरा नगरेका, मपदण्डमा नचलेका, दर्ता नभएकालाई कडाइका साथ नियममा आउन निर्देशन दिएको छ । महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, स्वास्थ्य महाशाखाका प्रमुख सहितको टोलीले अनुगमन गरेको हो ।
अनुगमन टोलीले अस्पतालको भौतिक सरचना, शैया, औषधि कक्ष, उपकरणहरुको अवस्था, लिफ्ट वा अपाङ्गमैत्री ¥याम्प, प्रयाप्त पार्किङ भएनभएकोलगायतका विषयलाई ध्यान दिएको थियो । मानव स्वास्थसँग प्रत्यक्ष जोडिएको अस्पताल जस्तो सम्वेदनशील क्षेत्र मापदण्ड अनुसार सञ्चालन गर्न जरुरी छ महानगर प्रमुख अधिकारीले भन्नुभयो ।
अस्पताल भन्ने बित्तिकै आमनागरिकको स्वास्थ्यसँग जोडिएको हुन्छ, कानुन भन्दा माथि कोही छैन, उपप्रमुख अधिकारीले भन्नुभयो – स्थानीय सरकारको इजाजत बिना अब कुनै पनि अस्पताल वा क्लिनिक सन्चालन गर्न पाइँदैन । यदि कसैले अटेर गरेर या प्रक्रिया पूरा नगरी अस्पताल वा क्लिनिक चलाएको पाइमा कानुन अनुसार प्रक्रिया अगाडि बढाइने छ ।
भरतपुर १८ चनौली बजारमा रहेको जनश्री अस्पताल, भूवनवस्ती मेडिकल क्लिनिक, भरतपुर १० मा रहेका चितवन भरतपुर सेन्ट्रल अस्पताल प्रा लि, सदिच्छा स्वास्थ्य क्लिनिक, डा साथी प्याथोलोजी एण्ड होम केयर सर्भिस, वान हेल्थ क्लिनिक एण्ड माइक्रो प्याथल्याब र चन्द्रमा स्वास्थ्य क्लिनिकहरुको अनुगमन गरेको छ । ती मध्य केहिमा मापदण्ड नपुगेको, अस्पतालको भौतिक संरचनामा लापरबाही गरिएको पाइएको हुँंदा ती अस्पतालहरुलाई व्यवस्थापन गर्न र कानुनी दायरामा ल्याउनको लागि पुनः अनुगमन शुरु गरिएको जनस्वास्थ्य प्रवद्र्धन शाखाका अधिकृत केशव भट्टले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका स्वास्थ्य संस्था दर्ता अनुमति नवीकरण तथा स्तरोन्नति सम्बन्धि कार्यविधि २०७७ ले महानगर भित्र सञ्चालन हुने निजी अस्पताल, क्लिनिक र प्रयोगशालालाई मापदण्ड अनुसार सञ्चालन गर्न अनुमति दिने ब्यबस्था रहेको छ ।
जनस्वास्थ्य प्रवद्र्धन शाखाका अनुसार भरतपुरमा अघिल्लो दुई आर्थिक वर्षमा ९५ वटा अस्पताल, क्लिनिक र प्रयोगशालालाई सञ्चालनको अनुमति दिइएको थियो । जसमध्ये ६ वटा १५ शैयाका अस्पताल र बाँकी ८९ वटा क्लिनिक तथा प्रयोगशाला रहेका थिए । त्यस्तैगरी चालू आर्थिक वर्षमा ९ वटा अस्पताल, क्लिनिक र प्रयोगशालाले अनुमतिका लागि निवेदन दिएका छन् । जसमा २ वटा अस्पताल र बाँकी ७ वटा क्लिनिक तथा प्रयोगशाला रहेका छन् । चालू आर्थिक वर्षको झन्डै एक महिनाको अवधीमा भरतपुर महानगरपालिकाले ७ वटा अस्पताल, क्लिनिक र प्रयोगशालाको अनुगमन गरिसकेको छ । अन्य २ वटा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा रहेकोले अनुगमन गर्न बाँकी रहेको छ ।
स्थानीय स्तरमा १५ शैयासम्मको अस्पताल सञ्चालन गर्न स्थानीय सरकारलाई अनुमती दिइएको छ । प्रदेश सरकारले दुई सय शैयासम्मको अस्पताल सञ्चालन गर्न पाउने कानुनी व्यवस्था रहेको छ । दुई सय शैयाभन्दा माथिको अस्पताल सञ्चालन गर्न संघीय सरकारलाई अधिकार दिइएको छ ।
भरतपुर महानगरले १५ शैयाको अस्पताल, स्वास्थ्य क्लिनिक, आयुर्वेदिक क्लिनिक, फिजियोथेपी केन्द्र, होमियोपेथिक क्लिनिक तथा डी र ई वर्गका प्रयोगशालालाई नियमन गर्ने गर्दछ । भरतपुरमा भरतपुर केन्द्रीय अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई ठुला मेडिकल कलेज, २० निजी अस्पतालसहित २०० को सङख्यामा निजी क्लिनिक तथा फार्मेसी सञ्चालनमा छन् । महानगरपालिकाले गत आर्थिक वर्षको साउन १२ गते दर्ता नभएका संस्थालाई दर्ता गर्न आह्वान समेत गरेको थियो ।