मेघौली । आफू वस्ने घरलाई नै पाहुना घर बनाएर पर्यटकलाई सेवा दिन सके आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् चितवनका थारु समुदाय ।
पर्यटकीय नगरी मेघौलीमा ठुला लगानीमा होटलहरु सञ्चालनमा छन् । यहाँ आएका पर्यटकलाई आफ्नो क्षमता अनुसार बास बस्न खान र घुम्नको लागि थारुको घरवास एउटा राम्रो विकल्प रहेको छ । महङगो शुल्क तिर्न नसक्ने तथा गाउँघरकै स्थानीय खाना खान चाहनेहरुको लागि उपयुक्त स्थान बनेको छ थारु समुदायले सञ्चालन गरेको थारु सामुदायिक घरबास ।
सामान्य खेतीपाती गरी जीवन सञ्चालन गर्दै आएका यहाँका थारु समुदायले आफ्नै घरमा पाहुनालाई बास बस्न दिएर जे छ त्यही खाना खुवाएर सुरु गरेको घरबासमा अहिले सबैको आकर्षण वढेको छ । मेघौली क्षेत्रमा ठुला लगानीका होटल तथा रिसोर्ट सञ्चालनमा छन् । मध्यम स्तरका होटल तथा लज छैनन् । यहाँ आउने पर्यटक थारु समुदायले सञ्चालन गरेकै घरबास (होमस्टे)मा बास वस्ने गर्दछन् ।
२०६७ सालमा तत्कालित जिल्ला विकास समितिले आय आर्यजनको बाटो खोल्ने भन्दै स्थानीय थारु समुदायलाई होमस्टे ( घरवास) को अवधारणा ल्याएर सुरु गर्न प्रोत्साहन गरेको थियो । आफू वस्दै आएको घरमा सफा र वास वस्नको लागि अलग्गै कोठाको व्यवस्था गरी ओड्ने ओछ्याउने दिएर सुरु गरिएको थियो । घरवासमा अहिले थारु समुदायले अलगैै कोठा, निर्माण गरी एयरकण्डीसन राखी पाहुनालाई सुविधा दिदै आएका छन् ।
थारु सामुदायिक घरवासका अध्यक्ष सोमलाल महतोले भन्नुभयो ‘एउटा घरमा वास वस्न दिएर सुरु गरेको पर्यटक पाहुना घर अहिले व्यवस्थित रुपमा सञ्चालन गरेका छौ ।’ परम्परागत कृषिमा निर्भर भएका हाम्रो समुदायलाई यो घरवास व्यवसायले राम्रो आम्दानी दिन सफल भएको छ । घरमा नै वसेर विदेशी रुपियाँ आर्जन गर्न सक्ने वातावरण वनेकोमा हामी खुसी छौ । उहाले भन्नुभयो ‘एउटा घरबाट सुरु भएको यो घरवास पर्यटन व्यवसाय सात वटा घरमा विस्तार भएको छ । अहिले एकै पटक हामीले ६० जना पाहुनालाई राख्न सक्छौ । उहाँहरुलाई खाना खुवाउन थारुको मौलिक सस्कृति देखाएर मनोरञ्जन दिन सकेका छौ ।’
अध्यक्ष महतोले भन्नुभयो ‘एउटा घरमा चारपाँच वटा कोठा छन्, शुक्रबार शनिबार र विदाको दिनमा सबै भरिन्छ । अन्य समयमा हामीलाई काम पुगेको छ । खेतवारीमा काम गरेर बचेको समय यसमा दिए पुग्छ । केही नपढेका किसान मात्रै गरेका महिलाले पनि आफ्नै घरमा काम पाएका छन् हामी खुसी छौ । आम्दानी भएको छ घरि परिवार चलेको छ ।’
उहाँ मात्र होइन धेरै कमाउन भनेर मलेसिया जानु भएका भरतपुर महानगरपालिका–२७ मेघौलीका बेदकुमार महतो विदेश छाडेर आफ्नै घरमा पर्यटकलाई राख्नको लागि घरवास व्यवसाय सुरु गर्नुभयो । सात वर्ष मलेसिया बस्दा कमाउन नसकेको उहाले २०७५ सालबाट पाहुना राख्नको लागि घरवास सुरु गर्नुभयो । आफ्नै भान्छामा खाना खुवाएर सुरु गर्नु भएको यो व्यवसाय अहिले अलग्गै ५ वटा कोठा निर्माण गर्नु भएको छ । पर्यटकको लागि सुविधा दिन एयरकण्डीसन समेत जडान गर्नु भएको छ । इन्टरनेटको सुविधा छ, कोठा भित्रै वाथरुमको व्यवस्था छ । आफ्नै खेतावारीमा फलेको विषादी नहालेको खाना खुवाउछौ महतोले भन्नुभयो । सस्तोमा बस्न, स्वादिष्ट खान र आगनमा थारु नाच हेर्न पाएपछि पर्यटक धेरै रमाउने गरेको उहाले बताउनुभयो ।
विदेशमा भन्दा घरमा पाहुना राखेरै कमाउन सक्ने भएपछि विदेश वस्ने योजना त्यागेर घरमा नै व्यवसाय सञ्चालन गरे । सुरुमा प्रचारको अभाव थियो । कम पाहुना आउने गरेका थिए । अहिले त्यो समस्या छैन । वेसिजनमा समेत पाहुना आउने गर्नु भएको छ । सिजनमा राख्ने ठाउँ हुदैन । हाम्रो व्यवसाय राम्रो भएको देखेर अहिले अन्य वेरोजगार युवा तथा घरमा नै पाहुना राखेर आम्दानी गर्न सकिन्छ भन्ने वुझेर सुरु गर्न थालेका छन् महतोले भन्नुभयो ।
घरवास व्यवस्थित गर्न ३५ लाख रुपैयाँ लगानी गरेको छु । कम्तीमा पनि मासिक २५ देखि ३० हजार रुपैयाँसम्म नाफा हुन्छ । दैनिक आउने पर्यटकलाई मध्ययनजर गर्दै प्याकेज कार्यक्रम सञ्चालन गरिरहेको छु उहाले भन्नुभयो । ‘९०० रुपैयाँको घरवास प्याकेज कार्यक्रम सञ्चालन छ । यो प्याकेजमा पाँच प्रतिशत छुटसमेत दिएका छौं । एकरात बस्नको लागि ६०० र एउटा खानाको १८० रुपैयाँ लिने गरेका छौँ’, उहाले भन्नुभयो । पाहुनालाई मौलिक खाना खुवाउने गरिएको छ । घोगी, स्थानीय प्रजातीको हाँसको मासु, कुखुराको मासु, माछा, चिचर, निउरोलगायत परिकार बनाई खुवाइने गरिएको छ । साँझमा सांस्कृतिक नाचगानसमेत हुने गर्छ । यसबाट कला, मौलिक संस्कृतीको संरक्षणसँगै यहाँको पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा महतोले गर्नु भएको छ ।
पानी परेको समयमा नाच गर्न छलफल गर्न वैठक गर्न एउटा सभाहल भएमा सजिलो हुने थारु सामुदायिक घरवासका अध्यक्ष सोमलाल महतोले बताउनुभयो । स्थानीय सरकारले सहयोग गरेमा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने उहाले बताउनुभयो ।
भरतपुरको चौबीसकोठीबाट २७ किमी पश्चिममा रहेको मेघौली चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । यहाँ आउने पर्यटकले प्राकृतिक र मनमोहक सौन्दर्य संगै निकुञ्ज भित्र जंगल सफारी गरेर वन्य जन्तु हेर्न पाउने व्यवस्था रहेको छ । सूर्यास्तसँगै बाघ, एकसिंगे गैँडा, मृग, चित्तल, गोही यहाँको आकर्षणका केन्द्रबिन्दु हुन् । विमान चार्टर गरेर मेघौली विमान स्थलमा आउनेहरुका लागि यो सुविधा समेत रहेको छ ।
भरतपुर महानगरपालिकाका वातावरण विज्ञ विश्व सुवेदीले भन्नुभयो अहिले महानगर भित्र छ वटा घरवास पर्यटन व्यवसाय सञ्चालन भइराखेको छ । यो व्यवसाय विस्तार हुदैछ । पटिहानीमा मात्रै ११ वटा यस्ता घर निर्माण हुदै गरेको छ । महानगरपालिकाले यस्ता कार्यक्रमलाई कला सस्कृति जोगाउन भनेर पोषाक, बाजा, प्रचारको कार्यलाई सहयोग गर्दै आएको जानकारी दिनुभयो ।