चितवन । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा ३६ करोड भन्दा धेरै राजश्व संकलन गरेको छ ।
आर्थिक वर्ष २०८०÷०८१ को असार मसान्तसम्म ३६ करोड ७२ लाख ९२ हजार ८०७ रुपियाँ राजश्व संकलन गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गाणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । निकुञ्जको राजश्व मध्य सबै भन्दा धेरै पर्यटकबाट लिने शुल्क रहेको छ । कार्यालयका अनुसार एक आर्थिक वर्षमा पर्यापर्यटकबाट मात्रै ३० करोड ५७ लाख रुपियाँ राजश्व संकलन भएको हो । वन पैदावार बिक्रीबाट निकुञ्जले ४ करोड ६५ लाख राजश्व संकलन गरेको छ ।
चितवन निकुञ्ज जंगल सफारीका लागि प्रख्यात छ । यहाँ आउने पर्यटकको रोजाइ जंगल सफारी भएकाले जीप मार्फत जंगल सफारी गर्नेको सख्या धेरै हुने गरेको कार्यालयले जानकारी दिएको छ । जीप पछि पैदल जंगल यात्रा गर्ने, राप्ती नदीमा डुङगा सफारी गर्ने र सरकारी हात्ती मार्फत हात्ती सफारी गर्ने गर्दछन् ।
चितवन निकुञ्जमा दुर्लभ रहेको एक सिंगे गैंडा, पाटे बाघ, चित्तल, मृग, जरायो, मयुर, दुर्लभ घडियाल गोहीलगायतका जनावर तथा वन्य जन्तु हेर्न आउने गर्दछन् । निकुञ्जको प्रमुख प्रवेश द्वार कसरा भएपनि पूर्वी सेक्टर सौराहाबाट धेरै पर्यटक निकुञ्ज प्रवेश गर्ने सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।
जीप सफारीको लागि निकुञ्जले असार, साउन र भदौ तीन महिना वर्षातमा वन्द गर्दै आएको छ । वर्षात सकिएपछि मात्र सफारी खोल्ने गरेको छ । नौ महिनामा सफारी गर्नेहरुबाट निकुञ्जले राजश्व संकलन गरेको हो । जीप सफारीबाट मात्रै पाँच करोड ४७ लाख रुपियाँ संकलन भएको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । जीप सफारी बाहेक अन्य माध्यमबाट निकुञ्ज प्रवेश गरेका पयापर्यटकबाट २५ करोड १० लाख रुपियाँ राजश्व संकलन गरेको छ ।
निकुञ्जमा गत आर्थिक वर्षमा आन्तरिक पर्यटक सबै भन्दा धेरै आएका छन् । आन्तरिक पर्यटकको आगमनले गर्दा निकुञ्ज र आसपासका पर्यटकीय क्षेत्रमा आर्थिक गतिविधि वृद्धि भएको पर्यटन व्यवसायी दिपक भट्टराइले जानकारी दिनुभयो । निकुञ्जका अनुसार गत आर्थिक वर्षमा आन्तरिक पर्यटक एक लाख ७६ हजारले निकुञ्ज प्रवेश गरेका छन् । विदेशी पर्यटक भने ९४ हजार आएका छन् । त्यस्तै सार्क मुलुकबाट आउनेको सख्या ३६ हजार ४ सय रहेको निकुञ्जले जानकारी दिएको छ ।
चितवनमा पर्यटक वृद्धि
गत वर्षमा तीन लाख ६ हजार आठ सय ३७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा दुई लाख ९९ हजार चार सय १२ पर्यटकले मात्र निकुञ्जको भ्रमण गरेका थिए । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भन्नुभयो गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष २०७९÷८० भन्दा सात हजार चार सय २५ बढी पर्यटक निकुञ्ज भित्रिएका हुन् । गत आर्थिक वर्ष २०८०÷०८१ मा एक लाख ७६ हजार तीन सय १६ आन्तरिक पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए । आव २०७९÷८० मा दुई लाख पाँच हजार ६ सय पाँच आन्तरिक पर्यटक यहाँ घुम्न आएका थिए ।
चितवन र यहाँका पर्यटकीय क्षेत्रमा पर्यटकको सख्या वृद्धि गर्न प्रचारप्रसारको व्यवस्था, हवाइ तथा यातायातको सहज पहुँच हुनु पर्ने पर्यटन विज्ञ डाक्टर विश्वराज सुवेदीले बताउनुभयो । यहाँको पर्यटकीय क्षेत्रको प्रचार नेपाल मात्र नभइ विदेशमा समेत गर्नु पर्ने उहाँले बताउनुभयो । भारतका विभिन्न क्षेत्रमा प्रचारको कार्यक्रमलाई प्राथमिकता दिनु पर्ने डाक्टर सुवेदी बताउनुहुन्छ ।
सौराहाका पर्यटन व्यवसायीले गर्त वर्ष घुमौ सौराहा कार्यक्रम लिएर नेपालको सिमावर्ती क्षेत्रमा प्रचारको कार्यक्रम गरेका थिए । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरिले वनारस, पटना लगायतको क्षेत्रमा चितवनको सौराहा, देवघाटधाम, चितवन निकुञ्जको प्रचार गरेको कारणपनि पर्यटकको सख्या वृद्धि भएको बताउनुभयो । वर्षात सकिएपछि पर्यटकीय गतिविधिलाई निरन्तरता दिने उहाले जानकारी दिनुभयो ।