काठमाडौं । राजनीतिक स्थिरताका लागि भन्दै दुई ठूला दल मिलेर बनेको गठबन्धन सरकारको दिनगन्ती सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमै सहभागी मन्त्रीले प्रधानमन्त्री दुई वर्षमा र मन्त्री एक वर्षमा फेरिने खुलासा गरेका छन् ।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले)सहितका दलहरूबीच गठबन्धन सरकारमा ‘प्रधानमन्त्री र मन्त्री आलोपालो’ हुने सहमति भएको छ । एमाले, कांग्रेस गठबन्धन सरकारमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)समेत सहभागी छन् । जसपाले दुई र लोसपाले एक मन्त्रालय पाएको छ ।
राजनीतिक स्थिरताका लागि भनेर गरिएको गठबन्धनबाट समेत स्थिरता नहुने देखिन्छ । संसद्को बाँकी कार्यकाल एउटै नेता प्रधानमन्त्री र मन्त्री नहुने भएपछि राजनीतिक स्थितरता कसरी हुन्छ भन्दै प्रश्न उठेको छ । प्रधानमन्त्री र मन्त्री आलोपालो फेरिने भएपछि गठबन्धन हेरफेरको राजनीतिक खेल जारी नै रहनेछ ।
ओली सरकारमा सहभागी भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले प्रतिनिधिसभाको बाँकी कार्यकालमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने बताएका छन् । गत १७ असारमा एमाले र कांग्रेसका शीर्ष नेताहरूबीच भएको सहमतिनुसार संविधान संशोधन गर्ने, सुशासन, समृद्धिसहितका एजेन्डाका साथै सरकारको नेतृत्वसमेत आलोपालो गर्ने सहमति भएको छ ।
यद्यपि सो सहमति अझै सार्वजनिक गरिएको छैन । सहमतिनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री भइसकेका छन् । दोस्रो चरणमा चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्नेछन् ।
ओली र देउवाले २१–२१ महिना सरकारको नेतृत्व गर्दै गर्दा मन्त्री एक वर्षमै फेरिने बताइएको छ । ६२औं इन्जिनियर दिवसका अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री दाहालले प्रधानमन्त्री ओलीले दुई वर्ष सरकारको नेतृत्व गर्ने बताए । उनले कांग्रेस र एमालेका बीचमा भएको सहमतिका आधारमा संसद्को बाँकी रहेको कार्यकालमा कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पारे ।
कांग्रेस र एमालेका बीचमा भएको सहमति नलुकाइएको मन्त्री दाहालको दाबी छ । ‘यो अन्तिम हो ’cause दुईवटा ठूला दल मिलेर सरकार बनेको छ, अब यहाँभन्दा हुने त केही छैन, ५–७ वटा दल मिलेर सरकार बन्दाखेरि कहिले सरकार ढल्ने हो ? त्यही भए पनि राखेको छ, कुनै सरकार तीन महिनासम्म चल्ने, कुनै चार महिनासम्म चल्ने,’ दाहालले भने, ‘हामीले एउटा प्रतिबद्धता गरौं भनेर दुईवटा ठूला दल मिलेका हौं र यो खुला पनि छ, पहिलेको जस्तो भित्री लुकाइएको कुरा पनि केही छैन, अघिल्लो दुई वर्ष एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीले यो सरकारको नेतृत्व गर्नुहुनेछ, त्यसपछिका झन्डै डेढ वर्षभन्दा अलि बढी शेरबहादुर देउवाले नेतृत्व गर्नुहुनेछ ।’
मन्त्री दाहालले मुलुकलाई राजनीतिक स्थायित्व दिन खोजिएको दाबी गरे पनि आफैंले सरकार फेरिरहने पनि बताए । यो सरकार र गठबन्धन सफल बनाउन लागिपरेको उनको भनाइ थियो । वर्तमान गठबन्धनलाई असफल हुने छुट नभएको टिप्पणी उनको छ ।
यस्तै, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्का मन्त्री एक वर्षमा फेरिने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री गुप्ताले आगामी एक वर्षमा मन्त्रीको सेट नै फेरिने र त्यतिबेला महिला, दलित र अन्य समुदायबाट पनि समावेशी प्रतिनिधित्व हुने स्पष्ट पारेका छन् ।
ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकार राष्ट्रिय सहमतिको सरकार रहेको दाबी उनको छ । त्यही भएर सबै दललाई मिलाउँदा समावेशी प्रतिनिधित्व हुन नसकेको स्विकारे । ‘अहिलेको सरकार राष्ट्रिय सहमतिको सरकार हो, एकल सरकार होइन, यो टिम एक वर्षका लागि हो,’ मन्त्री गुप्ताले भने, ‘त्यसपछि सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा अर्को टिम आउँछ, दलित पनि आउँछन्, महिलाको संख्या पनि बढ्छ, राष्ट्रिय सहमतिको सरकारलाई सबै दल मिलाउनुपर्ने बाध्यता पनि छ, अरू पार्टीसँग पनि कुरा हुँदै छ, एक–दुई दिनमा उहाँहरू पनि सहभागी हुनुहुनेछ ।’
यसैबीच, प्रधानमन्त्री ओलीले नेपाल र नेपालीको इतिहास गर्व गर्नलायकको रहेको टिप्पणी गरेका छन् । इन्जिनियर दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको इतिहास प्रशंसायोग्य भएको उल्लेख गर्दै अहिलेको अवस्था भने त्यति राम्रो नभएको बताए । मुलुकलाई बिग्रिएको अवस्थाबाट उज्यालोतर्फ लैजानु आजको आवश्यकता रहेको प्रधानमन्त्री ओलीले बताए । अहिले मुलुकको अवस्था जस्तो भए पनि भविष्य भने उज्वल रहेको प्रधानमन्त्री ओलीले बताए । यसमा कुनै शंका नगरी मुलुक निर्माणको काममा लाग्न ओलीले आग्रह गरे । ‘देश र इतिहास प्रशंसा गर्नलायक छ, हाम्रो गौरवपूर्ण इतिहास छ, भविष्य उज्वल छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा कुनै शंका नगरी देश निर्माणका सबै एकजुट भएर लाग्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले इन्जिनियर देश बनाउने हात भएकाले देश निर्माणमा सहयोग गर्न आग्रह गरे । उनले समस्या देखाउने मात्र नभई समाधानका विकल्पहरू देखाउन सबैको ऐक्यबद्धता आवश्यक पर्नेमा जोड दिए । उनले सरकारले हरेक क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री ओली इन्जिनियरहरूको न्यूनतम तलब स्केल सुनेर छक्क परेका छन् । कार्यक्रममा इन्जिनियरले आफ्नो समस्या सुनाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरूले भने, ‘इन्जिनियरको न्यूनतम तलब ३७ हजार तोकिएको छ, त्यसलाई कानुनी रूप दिइपाऊँ ।’
सम्बोधनका क्रममा ओलीले ३७ हजार पनि इन्जिनियरको कुनै तनखा हो र ? भनेर प्रश्न गर्दै भने, ‘घरभाडा ३० हजारभन्दा तल पाउनुहुन्न, बजार महिना चलाउन एउटा परिवारलाई कमसेकम ३० हजारभन्दा तल हुन्न होला ।’
इन्जिनियरको यो माग आफूका लागि व्यंग्य भएको ओलीले बताए । प्रधानमन्त्री ओलीले इन्जिनियरको मागप्रति आफू सकारात्मक रहेको बताएका छन् ।
राजधानी दैनिकबाट