बजेट कटौती हुँदा चितवन निकुञ्जको संरक्षणको कार्य गर्न कठिन हुदै

 

चितवन, । चितवन राष्ट्रिय निकुञ्जमा हरेक वर्ष बजेट कटौती हुदै गएपछि संरक्षणको कार्यमा समेत समस्या आउन थालेको छ ।
विश्व सम्पदा सूचिमा सूचिकृत निकुञ्ज विश्वमा दुर्लभ रहेको एक सिंगे गैंडा, पाटेबाघ, घडियाल गोही, हात्ती सहित विभिन्न जनावरको बासस्थान रहेको छ । यी जनावरसंगै अन्य संरक्षणको काम गर्न हरेक वर्ष बजेट थप गरिदै लैजानु पर्ने हुन्छ । तर संरक्षणमा बजेट वृद्धि हुनु पर्नेमा त्यसको विपरित घटेर आउदा काम गर्न ज्यादै कठिन हुन थालेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुन पुर्जाले जानकारी दिनुभयो ।
चितवन निकुञ्ज पर्सा, नवलपरासी, मकवानपुर, नवलपुर र चितवन गरी पाँच जिल्लामा फैलिएको छ । माडी ठोरीदेखि त्रिवेणी सुस्तासम्मको क्षेत्रमा गस्ती गर्नु पर्ने, संरक्षणका काम पूरा गर्नु पर्ने, सुरक्षाका पोष्ट मर्मत गर्नु पर्नेलगायतको कामलाई निरन्तरता दिन समेत थोरै बजेटका कारण कठिन हुन थालेको प्रमुख संरक्षण अधिकृत पुर्ज पुनले जानकारी दिनुभयो ।
निकुञ्ज प्रवेश गरे वापतको शुल्क, जरिवाना लगायत विभिन्न शिर्षकमा गरेर चितवन निकुञ्जले एक वर्षमा ३० करोड रुपियाँ भन्दा धेरै राजश्व उठाउने गरेको छ । गर्त वर्ष पनि ३० करोड राजश्व संकलन गरेको थियो । ऐनमा व्यवस्था भए अनुसार निकुञ्ज नजिकको मध्यवर्ती क्षेत्रमा राहत तथा अन्य काम गर्नको लागि उठेको राजश्वको ५० प्रतिशत बजेट पाउने व्यवस्था रहेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भन्नुभयो ‘तर सरकारले ५० प्रतिशत बजेट दिएको पाइदैन, उठेको राजश्व मध्य गत वर्ष ६ करोड रुपियाँ मात्र बजेट आएको थियो ।’
निकुञ्जका जनावरका लागि बासस्थान व्यवस्थापन गर्नको लागि घाँसे मैदान निर्माण गर्नु पर्ने हुन्छ । विगतका वर्षहरुमा एक वर्षमा चारकरोड रुपियाँसम्म आएको तथ्याङक छ । तर अहिले घटेर ४० लाख रुपियाँ निकासा भएको छ यसले कसरी काम गर्ने सूचना अधिकारी तिवारीले भन्नुभयो । निकुञ्जको मुख्य कार्यालय कसरामा लोपउन्मुख घडियाल गोही प्रजनन केन्द्रमा आहारा व्यवस्थापन, मानवलाई आक्रमण गरेर नियन्त्रणमा राख्दै आएका बाघलाई आहारा खुवाउने गरिएको छ । यसलाई पनि बजेट अभावमा टिकाइ राख्न कठिन भएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
यसको व्यवस्थापनका लागि वार्षिक ७० लाख आवश्यकता पर्दछ तर दुइ वर्ष अगाडि ५० लाख, गत वर्ष ३५ लाख र चालु आर्थिक वर्षमा ३० लाख बजेट वितरण भएको थियो । यसले हरेक वर्ष निकुञ्जको विभिन्न शिर्षकमा बजेट कटौती भएर आउदा काम गर्न कठिन हुदै गएको प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले बताउनुभयो ।
निकुञ्जको विभिन्न स्थानमा सुरक्षार्थ ६७ वटा पोष्टहरु स्थापना गरिएको छ । ती पोष्टमा स्थायी संरचना बनाउन पाइदैन । काठबाट निर्मित पोष्टमा हरेक वर्ष मर्मत गर्नु पर्ने हुन्छ । त्यसको लागि बजेट अभाव हुदा सुरक्षाकर्मीले कमजोर व्यवस्थापनबाट काम गर्नु पर्ने भएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
आपतकालिन सुरक्षा व्यवस्था, नियमित काम लगायतका कार्य गर्नको लागि थप बजेट आवश्यक पर्ने भएपनि सरकारले बजेट बृद्धि नगर्दा कार्यालयलाई समस्या परेको छ । आउदो आर्थिक वर्षमा समेत बजेट कटौती भएको कार्यालयका प्रमुख पुर्जा पुनले बताउनु भएको छ ।

शेयर गरौ

ताजा अपडेट