चितवन । बजेट अभावमा चितवन राट्रिय निकुञ्जले व्यवस्थापन गर्ने घाँसे मैदानमा चुनौती थपिएको छ ।
आवश्यकता अनुसार बजेट नहुदा वन्य जन्तुको लागि आवश्यक पर्ने घाँसे मैदानको व्यवस्थापन हुन नसकेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । चितवन निकुञ्जको लागि १० हजार हेक्टर घासे मैदान आवश्यक पर्दछ । विगतका वर्षहरुमा पनि दस हजार हेक्टर घासे मैदान व्यवस्थापन गर्दै आएका थियौ अहिले न्युन बजेटले काम गर्न ज्यादै समस्या भएको सूचना अधिकारी तिवारीले भन्नुभयो ।
विगतका वर्षहरुमा घाँसे मैदानका लागि मात्रै ३ करोड रुपियाँ बजेट आएकोमा अहिले जम्मा ४० लाख मात्र निकासा भएको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । न्युन बजेटले सरसफाइ, घाँस काट्न अन्य काम गर्न कठिन भएको छ । निकुञ्जको विवरण अनुसार आर्थिक वर्वा २०७७÷७८ मा ३ करोड रुपियाँ घासे मैदानको लागि लागि बजेट आएको थियो । त्यसपछि बजेट कटौती भएर ४० लाख रुपियाँ मात्र आएको छ ।
चालु आर्थिक वर्षमा ७ हजार हेक्टर मात्रै घासे मैदानको व्यवस्थापन भएको छ । त्यो पनि ज्यादै कठिन गरेर काम भएको निकुञ्जका संरक्षण अधिकृत महेश न्यौपानले बताउनुभयो । कुल क्षेत्रफलको ९ प्रतिशत भाग घासे मैदान बनाउनु पर्ने प्रावधान रहेको उहाले बताउनुभयो । चरणको आवश्यकता पर्ने जनावरको लागि मैदान आवश्यक हुन्छ । हिउदमा घाम ताप्न, खुला स्थानमा वस्न रुचाउनेहरुको लागिपनि मैदान आवश्यक पर्ने भएकाले व्यवस्थापन अत्यन्तै जरुरी पर्ने अधिकृत न्यौपानले बताउनुभयो ।
निकुञ्जको अनुसार गत वर्ष तीनसय आठ हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन र ५० हेक्टरमा नयाँ निर्माणको काम सुरु गरिएको हो । घाँसे मैदान व्यवस्थापनका लागि रु ३८ लाख ३५ हजार र नयाँ निर्माणका लागि रु २५ लाख बजेट विनियोजन भएको सूचना अधिकारी तिवारीले बताउनुभयो । निकै कम रकममा ठेक्का परेको छ उहाले भन्नुभयो ‘निकुञ्जको आवश्यकता अनुसार यो बजेटले पुग्दैन तर पनि हामीले यतीलाई नै काम चलाएका थियौ । यस वर्ष नयाँ क्षेत्रफल बढाएको छैन । पुरानै घासे मैदान सवैलाई व्यवस्थापन गर्न सकेका छैनौ तिवारीले भन्नुभयो ।
निकुञ्जको लामिताल, सुखिभार, भिम्लेलगायतका क्षेत्रमा घाँसे मैदान व्यवस्थापन भएको छ । यस्तै तराई भू्परिधि कार्यक्रमअन्तर्गत एक सय हेक्टर क्षेत्रफलको घाँसेमैदन व्यवस्थापनको काम भएको छ । यसका लागि बजेट विनियोजन भएको छ ।
निकुञ्जको घाँसेमैदानमा रहेका ठूला घाँस काटेर व्यवस्थापन र नयाँ ठाउँमा बुट्यान काटेर निर्माण गरिन्छ । घाँसेमैदान व्यवस्थापनसँगै आहारा प्रजातिका जनावरको सख्या बढ्ने र जनावर मानवीय बस्ती क्षेत्रमा जानेक्रम कम हुनेछ । घाँसेमैदान व्यवस्थापनले मानव र वन्यजन्तुबीचको द्वन्द्वमा समेत कमी ल्याउने अपेक्षा निकुञ्जले लिएको छ । निकुञ्ज कार्यालयले दिएको विवरण अनुसार आर्थिक वर्ष २०७६।०७७ मा छसय हेक्टर र आर्थिक वर्ष २०७७।०७८ मा सातसय हेक्टर क्षेत्रफलमा नयाँ घासे मैदान निर्माण गरिएको थियो । यी दुइ आर्थिक वर्षमा चारसय ५७ हेक्टरमा व्यवस्थापन गरिएको थियो ।
चालु आर्थिक वर्षमा नयाँ घो मैदान थपिएको छैन । पुरानो सवैलाई व्यवस्थापन समेत गर्न नसकिएको कार्यालयले जनाएको छ । घासे मैदान व्यवस्थापन र निर्माणमा ध्यान नदिने हो भने एकसिंगै गैंडा, चित्तल हरिण लगायत प्रजातिका जनावरको लागि खानाको अभाव हुने निकुञ्ज कार्यालयले जनाएको छ ।