विराटनगर । विराटनगरसँग धेरैका आशा, अपेक्षा र सपना जोडिनु स्वाभाविक हो । किनभने कोशी प्रदेशको राजधानी हो, विराटनगर । राजधानी भएसँगै मानिसको उपस्थिति बाक्लिनु, सेवा सुविधा अन्य स्थानको तुलनामा बढी हुनु स्वाभाविक हुन्छ नै ।
त्यसैले पनि विराटनगरसँग धेरै मानिसहरू यस्तै आशा र अपेक्षा बोकेर काम खोज्दै सहर प्रवेश गर्ने गर्दछन् । तर पनि अनौपचारिक क्षेत्रमा मजदुरी गर्ने श्रमिकहरूले काम पाउन सकेका छैनन् । बिहान–बेलुकाको छाक टार्न विराटनगर आउने श्रमिकको दिन कामको प्रतीक्षामै बित्ने गरेको छ । विराटनगर महानगरपालिकासहित मोरङका अन्य पालिका र सुनसरीका श्रमिक घरायसी कामदेखि निर्माणका काम हुँदै विभिन्न उद्योग–कलकारखानामा काम पाउने अपेक्षाका साथ विराटनगर प्रवेश गर्दछन् ।
मजदुर आन्दोलनमा महत्त्वपूर्ण योगदान बोकेको विराटनगरका भूमि प्रशासन चोक, पञ्चमुखी हनुमान चोक, घाँसचोक, भट्टाचोकमा भेला हुन्छन् र काम दिनेहरूको पर्खाइमा बस्छन् ।
साइकलमा कोदालो, बेल्चा बोकेर विराटनगर आइपुग्ने श्रमिकको भीड देख्न सकिन्छ । दिउँसोसम्म कामकै प्रतीक्षामा उनीहरूको समय बित्छ । काम पाउनेहरू खुसी हुँदै बाटो तताइरहँदा काम नपाउनेहरू काम दिनेहरूको प्रतीक्षा गरिरहन्छन् । झन् भारतीय मजदुरले सस्तैमा काम गरिदिँदा काम पाउन सकस भइरहेको उनीहरूको गुनासो छ । मजदुर गोपालकृष्ण राजवरले काम पाउन धेरै गाह्रो रहेको बताउनुभयो । उहाँले बाहिरको मानिसले सस्तोमा काम गरिदिँदा काम पाउन समस्या भएको बताउनुभयो ।
घर निर्माणको काम लिने ठेकेदारले विराटनगरका विभिन्न स्थानबाट यस्ता श्रमिकलाई काममा लिएर जाने गरेका छन् । केही व्यक्तिले घरायसी कामका लागि पनि उनीहरूलाई लैजान्छन् । माटो खन्नेदेखि बाटो खन्नेसम्म काम श्रमिकले पाउँछन् । तर डोजर र ट्याक्टरका कारण अहिले उनीहरूले काम पाउन छोडेका छन् । केही श्रमिकले त महिनौँदेखि काम पाएका छैनन् । तरपनि काम पाउने आशामा आफ्नो घरदेखि विराटनगर ओहोरदोहोर गरिरहन्छन् । काम नपाउँदा भोकै घर फर्किएर अर्काको खेतमा मजदुरी गर्न बाध्य हुनुपर्ने उनीहरूको दुखेसो छ । मजदुर शम्भु रावले काम पाँच दिनमा एक दिन पाउने गरेको बताउनुभयो ।
बिहान भोकै विराटनगर आइपुगेका उनीहरू काम नपाएर निराश हुँदै गाउँतर्फ नै पाइला चाल्नु बाहेकको कुनै विकल्प देख्दैनन् । आफू भोकै घर पुग्दा परिवारको पनि उस्तै हाल हुन्छ । निर्माण क्षेत्रमा काम गर्ने, साना तथा मझौला व्यवसायमा खटिने र ज्यालामजदुरी गर्ने श्रमिकहरूले केही वर्ष यता काम नपाउने समस्या झेल्दै आएका छन् । आफूहरूको समस्या समाधान गर्न मजदुर नेता लागि परुन् भन्ने चाहना उनीहरूको छ । मदजदुर मञ्जे लम्सालले काम नहुँदा भोकै घर फर्किनुपर्ने समस्या रहेको बताउनुभयो ।
आठ घण्टा काम गरेका पुरुषले ६ सय रुपियाँ र महिलाले पाँच सय रुपियाँ ज्याला पाउँछन् । कामसमेत लैङ्गिक विभेद गर्ने ठेकेदारहरूले श्रमिकको पसिनाको पनि कमिसन खान्छन् । नेपालका श्रमिकहरूको सङ्गठन हुन्छ, कामको सिलसिलामा ज्यान गए राजनीति हुन्छ भनेर नै ठुला उद्योग कलकारखानाले भारतीय श्रमिकलाई काममा लगाउँछन् ।
नेपालका श्रमिक भने यसको मारमा परेका छन् । नेपाल समाजवादी ट्रेड युनियन महासङ्घका उपाध्यक्ष तेजलाल कर्णले खुला सिमाना भएकाले भारतबाट कामदारहरू नेपाल आएर नेपाली कामदारहरू भन्दा सस्तोमा काम गरिदिँदा पनि समस्या आएको बताउनुभयो ।
हरेक वर्ष उनीहरू जस्तै श्रमिकलाई मध्यनजर गर्दै ‘मे दिवस’ मनाइन्छ । तर धेरै श्रमिकलाई आज विश्व मजदुर दिवस हो थाहा हुँदैन । स्थानीय निर्वाचन होस् वा संसदीय चुनाव । मजदुरका समस्या औँल्याउँदै धेरैले चुनाव जित्छन् । तर उनीहरूको समस्या भने ज्युँका त्युँ छन् ।
गोरखापत्र दैनिकबाट