चितवन । चितवनका वनमा विगत दुइ महिनादेखि लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन ।
फागुन महिनादेखि चितवन निकुञ्ज, सामुदायिक वन, राष्ट्रिय वनलगायतका स्थानमा डढेलो लागेको हो । जिल्लाका धेरै स्थानमा कहीनकही डढेलो लागेको छ डिभिजन वन कार्यालय भरतपुरका सूचना अधिकारी देवी पौडेलले भन्नुभयो ।
निकुञ्ज बाहेकका बनमा मात्रै दुइहजार दुइसय हेक्टर क्षेत्रफलमा डढेलो लागि सकेको पौडेलले बताउनुभयो । अहिलेपनि विभिन्न स्थानमा डढेले लागेको छ तर नियन्त्रण बाहिर नभएको उहाले बताउनुभयो । डढेलोको कारण ठुलो क्षती नभएपनि जमिनमा घस्रने जनावर, साना प्रजातिका जनावरलाई भने असर गरेको उहाले बताउनुभयो ।
डढेलोबाट बच्नको लागि र यसबारेमा सचेतना फैलाउन चैतमा एक साता कार्यक्रम सञ्चालन गरेपनि वनमा हुने आगलागीमा कमी नआएको सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । जिल्लाको इच्छाकामना गाउपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका, कालिका नगरपालिका, भरतपुर महानगरपालिकामा डढेलो लागेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।
डढेलो नियन्त्रणका लागि सामुदायिक वनका प्रतिनिधि तथा सुरक्षाकर्मी, कवुलियत वन, वन डिभिजन कार्यालय, फरेस्ट फायर डिटेक्सन एण्ड मोनिटरिङ सिस्टमको मद्दतले आगो नियन्त्रणमा ल्याउने प्रयास भइराखेको उहाले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालयका अनुसार चालू आबमा डढेलोबाट मानव, पशु र बालीनालीको क्षति भएको छैन । डढेलोले साना बोटबिरूवा र जमनिमा गुढ बनाउने जीव चरा मरेका छन् । वनमा लाग्ने डढेलो नियन्त्रणका लागि डिभिजन वनले सडक नाटकलगायतका जनचेतनामूलक कार्यक्रम, १० जनाको डढेलो नियन्त्रण दस्ता परिचालन गरिएको छ ।
त्यस्तै, सप्ताहव्यापी माइकिङ, सञ्चारमाध्यमबाट सूचना प्रकाशन र प्रसारण, डढेलो नियन्त्रणसम्बन्धी औजार वितरण र सामुदायिक वनको अग्निरेखाको सरसफाइ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्जको मध्य क्षेत्रमा यसपटक धेरै डढेलो लागेको जानकारी दिनुभयो । निकुञ्ज र निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्रमा लागेको डढेलोको यकिन तथ्यङक छैन सूचना अधिकारी तिवारीले भन्नुभयो‘ निकुञ्जको पूर्वदेखि पश्चिमसम्मका विभिन्न स्थानमा आगो लागेको छ । ’ नियन्त्रण बाहिर डढेलो छैन, ठुलो असर पारेको छैन उहाले भन्नुभयो ।
निकुञ्ज भित्र नियन्त्रित डढेलो भने लागाउने गरेको छ । डढेलो नलगाउदा घाँस खाने प्रजातिका जनावरलाई नयाँ घाँस पलाउने अवस्था हुदैन तिवारीले भन्नुभयो । अहिले नियन्त्रित डढेलो नलगाउदा अनावश्यक वनस्पतीहरु वढेर घाँस हराउने, नयाँ आउन नसक्ने भएकाले कतिपय स्थानमा आगो लगाउनु आवश्यक रहेको छ ।
निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजयकुमार श्रेष्ठले डढेलोको कारण ठुला जनावरमा कुनै क्षती नभएको बताउनुभयो । साना प्रजातिका जनावरमा भने क्षती पुगेको छ ठुलामा समस्या छैन । अनवाश्यक काँस, ढड्डी हटाउनको लागि पनि डढेलो लगाउनु पर्ने हुन्छ । अहिले निकुञ्जमा लागेको डढेलोले गैंडा, हरिण, अन्य जनावरको लागि घाँसे मैदान निर्माण गर्न, नयाँ आहारा प्राप्त गर्न मद्यत गर्दछ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंङगल, ठोरी क्षेत्र, वादुरझुला क्षेत्रमा धेरै आगो लागेको छ । यसपटक धेरै सुक्खा भएकाले निकुञ्जको मध्य क्षेत्रमा बढी आगो लागेको निकुञ्जले जानकारी दिएको छ ।