निकुञ्जको पश्चिमबाट पुर्व गैँडा स्थानान्तरण गरिदै

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा अन्तरिक रूपमा गैँडाको स्थानान्तरण सुरु गरिएको छ । सुरक्षा र वंश विस्तारका लागि निकुञ्जको पश्चिम क्षेत्रबाट पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो । बासस्थानको दृष्टिले निकुञ्जको पूर्व र पश्चिम अनुकूल भए पनि पश्चिम क्षेत्रमा गैँडा धेरै भएकाले पूर्वतर्फ स्थानान्तरण गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो ।

निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले पहिलो चरणमा छ वटा गैँडा पश्चिम क्षेत्रबाट पूर्वी क्षेत्रमा स्थानान्तरण गरिने जानकारी दिनुभयो । “गाउँमा निस्किएर स्थानीय बासिन्दालाई दुःख दिइरहेका गैँडाको पहिचान गरी पहिला तिनीहरूलाई हामी स्थानान्तरण गर्ने छौँ । अहिले यस्ता गैँडा निकुञ्जका पश्चिमी क्षेत्रमा पाँच÷छ वटा छन्,” उहाँले भन्नुभयो ।

गैँडा स्थानान्तरणका लागि छ वटा हात्ती र ६० जना प्राविधिक जनशक्ति कार्यक्षेत्रमा खटाइसकेको निकुञ्जले जनाएको छ । गैँडा स्थानान्तरणमा नेपाली सेना र प्रकृति संरक्षण कोषले सहयोग गर्दै छन् । गैँडा स्थानान्तरण गर्न प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनको नेतृत्वमा स्थलगत कार्यदल बनेको र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट श्याम शाहको नेतृत्वमा प्राविधिक टोली परिचालित छ ।

गैँडालाई हात्ती लागाएर घेरी बेहोस बनाई सुविधासम्पन्न काठको बाकसमा राखेर ट्रकको माध्यमबाट गैँडा एक ठाउँबाट अर्को ठाउँमा सार्ने गरिन्छ । निकुञ्जको कोर क्षेत्रमा गैँडाको सङ्ख्या बढेसँगै खानाको अभाव र बासस्थानकै समस्या हुन थालेपछि गैँडा मानवबस्तीमा निस्कने र यस्ता गैँडालाई निकुञ्जले समस्याग्रस्त गैँडाका रूपमा लिने गर्दछ । वन्यजन्तुविज्ञ डा. बाबुराम लामिछाने चितवन निकुञ्जमा पूर्वको तुलनामा पश्चिममा गैँडा बढी भएकाले सन्तुलन मिलाउन स्थानान्तरण गर्नु जरुरी रहेको बताउनुहुन्छ ।

“निकुञ्जमा भएका ६९४ गैँडामध्ये पश्चिमी क्षेत्रमा मात्रै ६५ प्रतिशतभन्दा बढी गैँडा छन् । पूर्वी क्षेत्रमा ४५ प्रतिशत मात्रै गैँडा हुनु सन्तुलनका हिसाबले मिलेको देखिँदैन । गैँडाको सङ्ख्या वृद्धि गर्न पनि पूर्वी क्षेत्रमा गैँडाको स्थानान्तरण गराउन जरुरी थियो,” उहाँले भन्नुभयो । पूर्वी क्षेत्र सौराहा हुँदै पर्सा निकुञ्जसँग जोडिन्छ भने पश्चिमी क्षेत्र सुकेभार तथा अमलटारी हँुदै वाल्मीकि क्षेत्रबाट भारतको वाल्मीकि बाघ संरक्षण क्षेत्रसँग जोडिन्छ ।

पूर्वी क्षेत्रमा आएको बाढीका कारण गैँडा विस्तारै पश्चिम क्षेत्रमा बसाइँसराइ गर्दै आएका थिए । एकै क्षेत्रमा गैँडा धेरै हुन थालेपछि निकुञ्जले यसको प्रभावका बारेमा अध्ययन गर्दै आएको थियो । निकुञ्जको पूर्वी सेक्टर सौराहाबाट पूर्वतर्फ कुमरोज, कुचकुचेलगायतको क्षेत्रमा गैँडालाई लैजाने तयारी छ । केही वर्ष अगाडि पूर्वी क्षेत्रमा गैँडाको बास धेरै हुन्थ्यो तर अहिले पूर्वबाट पश्चिमतर्फ धेरै बसाइँसराइ भएपछि गैँडा सार्न थालिएको हो । वृद्धिविकासका कारणले समेत एकै क्षेत्रमा गैँडा हुनु राम्रो नमानिने प्रमुख पुनले बताउनुभयो ।

वंश विस्तार, वंशाणुगत विकासका लागि पनि फरक गैँडामा प्रजनन् हुनु पर्दछ । त्यसैले स्थानान्तरण आवश्यक देखेर बुधबारबाट प्रव्रिmया सुरु गरिएको प्रमुख संरक्षण अधिकृत पुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “धेरै घनत्व भएको स्थानबाट कम भएको स्थानमा लैजानु सबै दृष्टिले उपयुक्त मानिन्छ । यही व्रmममा कोशी टप्पु वन्यजन्तु आरक्षणमा एउटा भाले गैँडा लैजाने तयारी छ ।”

दुई वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिए पनि स्थानान्तरण हुन सकेको थिएन । निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको नेतृत्व टोलीले अध्ययन गरेको थियो ।

सोही अध्ययनका आधारमा अहिले आठ वर्षदेखि माथि र २० वर्षभन्दा मुनिका गैँडालाई स्थानान्तरणमा प्राथमिकतामा राखिएको छ । यो उमेर गैँडाको प्रजननका हिसाबले सबैभन्दा अनुकूल उमेर मानिन्छ । निकुञ्जका वरिष्ठ पशुचिकित्सक डा. विजय श्रेष्ठ भन्नुहुन्छ, “बासस्थान सुधारसँगै स्थानान्तरण भएका गैँडाबाटै यसको सङ्ख्या वृद्धि गर्न पनि आन्तरिक स्थानान्तरण आवश्यक छ ।”

योसँगै अहिले गाउँबस्तीमा पसेर स्थानीयलाई दुःख दिइरहेका गैँडालाई निकुञ्जकै घना वन क्षेत्रमा छाडिँदै गर्दा त्यो पुनः मानवबस्तीमा आउन नसक्ने उहाँ बताउनुहुन्छ । यसअघि गत पुस २२ गते निकुञ्जकै मेघौली क्षेत्रमा स्थानीय बासिन्दालाई दुःख दिइरहेको गैँडालाई घना वन क्षेत्र रहेको चुरे पहाडमा लगेर छाडिँदा अहिलेसम्म मानव बस्तीमा नफर्केको डा. श्रेष्ठले जानकारी दिनुभयो ।

अन्तरिक रूपमा स्थानान्तरण गर्दा छ वटा गैँडालाई दुई हप्तामा सार्न सकिने कार्यालयले जानकारी दिएको छ । तीन वटा भाले र तीन वटा पोथी गैँडालाई स्थानान्तरण गरिने छ । निकुञ्जको पश्चिम अमलटारी क्षेत्र नारायणी नदी, चुरेलगायतमा जोखिम बढ्न थालेपछि स्थानान्तरणका लागि सोचिएको भन्दै पूर्वी क्षेत्र बासस्थानका लागि उपयुक्त भएकाले सार्न लागिएको प्रमुख संरक्षण अधिकृत पुनले बताउनुभयो ।

वंश विस्तार गर्न, जेनेटिक रूपमा विकास गर्न पनि पूर्वी क्षेत्रमा सार्नुपर्ने भएकाले निकुञ्ज विभागको निर्देशनमा स्थानान्तरण गर्ने प्रव्रिmया अगाडि बढेको वरिष्ठ पशु चिकित्सक विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘बुधबार हामीले बैठक बसेर तयारी पूरा गरेका छांँ । बिहीबार गैँडाको खोजी कार्य गरिन छ । स्वस्थ गैँडालाई डार्ट गरेर स्थानान्तरणको कार्य गरिने छ ।’ पूर्वी क्षेत्रमा गैँडाको सङ्ख्या कमी भएको भन्दै सौराहा क्षेत्रका पर्यटन व्यवसायीले धेरै वर्षदेखि गरेको मागलाई पूरा गर्न स्थानान्तरण कार्य सफल हुने उहाँले बताउनुभयो ।

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले सौराहा क्षेत्रमा गैँडा स्थानान्तरण भएर आउने विषयले पर्यटन व्यवसायीमा खुसी छाएको बताउनुभयो । सौराहा आएका पर्यटकले निकुञ्ज प्रवेश गर्नासाथ गैँडा देख्न पाउनु विदेशी, स्वदेशी पर्यटकका लागि धेरै राम्रो हुने छ । हामीले पहिलादेखि भन्दै आएको विषयलाई सम्बोधन गरेकाले पर्यटन व्यवसायीले यो कार्यलाई स्वागत गर्ने उहाँले बताउनुभयो ।

चितवन आएका स्वदेशी, विदेशी पर्यटकको रोजाइ जङ्गल सफारी हुने गर्दछ । सौराहा आएर निकुञ्ज घुम्न जाने, गैँडा हेर्ने, पाटेबाघ हेर्ने, हात्ती चढ्नेलगायत गर्दछन् । जङ्गल सफारीका लागि परिचित चितवनमा गैँडा हेर्न सहजै पाउने अवसरले समग्र पर्यटन क्षेत्रलाई सकारात्मक प्रभाव पर्ने अध्यक्ष गिरीले बताउनुभयो ।

पछिल्लो तथ्याङ्क अनुसार चितवन निकुञ्जमा ६९४ वटा गैँडा र नेपालमा ७५२ वटा एकसिङे गैँडा रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पुनले जानकारी दिनुभयो । आन्तरिक स्थानान्तरण कम भए पनि गैँडा स्थानान्तरण चितवनमा २०४२ सालबाट सुरु भएको देखिन्छ । पहिलो पटक २०४२ साल माघमा १३ वटा गैँडा बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको र अहिलेसम्म चितवनबाट ९१ वटा गैँडा स्थानान्तरण गरिसकेको बताइन्छ ।

यस्तै थप नौ वटा गैँडा शुक्लाफाँटा आरक्षमा र गत असोज १० मा पुष्पा र अञ्जली गरी दुई वटा गैँडा कोशी टपु आरक्षमा स्थानान्तरण गरिएको छ । गैँडाको बासस्थान विस्तार गर्ने उद्देश्यले नै गैँडा स्थानान्तरण गरिएका हुन् ।

शेयर गरौ

ताजा अपडेट