चितवन, २८ साउन । हात्तीमा हुने गरेको नसर्ने रोगबाट बचाउनको लागि चुनौती थपिएको छ । केही वर्ष अगाडि मात्र क्षयरोगबाट ग्रसित हुने गरेको चितवनको हात्ती अहिले नसर्ने रोगले चुनौती थपिएको हो ।
सरकारी र निजी हात्तीमा अहिले क्षयरोगको समस्या देखिएको छैन चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशुचिकित्सक विजय श्रेष्ठले भन्नुभयो ‘नसर्ने रोगहरु जस्तै घाउ चोटपटक, माटो खाएर खाना नपच्ने जस्ता समस्या रहेको छ ।’
खानाको लागि जङगल जाने आउने गर्दा रुखमा ठोकिएर, काँडा तथा तिखा सामग्रीले पु¥याउनु चोट हात्तीको लागि कठिन हुने गरेको छ । चारहजार किलोको शरिर भएकाले भार धेरै हुन्छ उनीहरुका लागेको घाउ निको बनाउन धेरै समय लाग्ने गरेको छ । क्षयरोग नभएपनि यस्ता घाउ चोटपटकले गर्दा हात्तीमा समस्या आउने गरेको छ । चिकित्सक श्रेष्ठले भन्नुभयो हामीले यसको लागि उपचार गर्दै आएका छौ तर पनि नियमित जङगल जानु पर्ने भएकाले समस्या निर्मुल पार्न कठिन हुने गरेको छ । चरणको लागि जङगल जाने भएकाले माटो खाने समस्या अर्को छ । माटो खाने गर्नाले अन्य खाना पच्न कठिन हुने गर्दछ । पाचन प्रणालीमा समस्या आउन थालेपछि अन्य समस्या देखिन्छ ।
वासस्थान मासिदै जानु
ठुलो शरिर र ठुलो क्षेत्र वासस्थान अवश्यक पर्ने भएकाले जङगल मासिदै जानु पनि हात्तीको लागि चुनौती रहेको विज्ञहरुले बताउनु गरेका छन् । एक मात्र हात्ती प्रजनन् केन्द्र रहेको चितवनमा सरकारी हात्ती ६० वटा रहेको छ । निजी हात्ती ३० वटा छन् । यी हात्तीको लागि आवश्यक पर्ने चरण जंगल हो । सरकारी हात्ती निकुञ्ज भित्र जंगलमा जाने गरेपनि निजी भने मध्यवर्ती क्षेत्रमा जाने गर्दछन् । ठुलो शरिर भएकाले आहारा धेरै आवश्यक पर्छ । ती आहाराको लागि जंगल धेरै हुनु पर्दछ । अहिले मानवको चाप वृद्धि, विकासको पूर्वाधार वढ्ने लगायतको कारणले जंगल विनास हुदै जानु हात्तीको वासस्थान माथिको अतिक्रमण भएको चिकित्सक श्रेष्ठले बताउनुभयो । हात्ती, वाघ, जरायो लगायत जनावरको लागि चितवन निकुञ्ज उपयुक्त भएपनि मानवका चाप जंगल माथि पर्नाले जनावरको वासस्थान माथि हरेक वर्ष चुनौती थपिदै गएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । मानव र वन्यजन्तु बिचको द्वन्द्वलाई कमी गर्दै लैजानु पर्ने अवस्था रहेको बताउनुभयो ।
निजी हात्ती पाल्नै समस्या
तीन वर्ष अगाडि मात्र चितवनको सौराहामा निजी क्षेत्रका ६८ वटा हात्ती थिए । कोभिडको कारण पर्यटकको सख्या कमी, हात्तीको दानापानी पु¥याउन नसक्ने भएपछि अहिले ३० वटामा झरेको छ । हात्तीलाई पाल्नको लागि खर्च धेरै तर आम्दानी कमी भएपछि निजी क्षेत्रले हात्ती पाल्न छाडेको क्षेत्री होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले जानकारी दिनुभयो । ‘पर्यटक आउदैनन् कमाइ छैन कसरी हात्ती पाल्ने ? पाल्नै नसक्ने भएपछि धमाधम बिक्री गरिएको हो ’ अध्यक्ष गिरीले भन्नुभयो ।
कोभिडपछि पर्यटकको कमी हुदा मध्यवर्ती क्षेत्रमा सफारीको लागि जाने हात्ती घटेको वाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले बताउनुभयो । सौराहा क्षेत्रमा सवैभन्दा धेरै हात्ती सफारी गर्ने सामुदायिक वन बाघमारा हो । यहाँ तीन वर्ष अगाडि मात्रै विहान दुइ दर्जन र वेलुका दुइ दर्जन हात्ती सफारीका लागि जाने गरेका थिए । तर अहिले मु्स्किलले विहान वेलुका गरी १० वटा जाने गरेको छ अध्यक्ष तामाङले बताउनुभयो । पर्यटकको कमी भएसंगै मध्यवर्तीमा हात्ती प्रवेशबाट हुने कमाइ घटेको उहाले बताउनुभयो ।
चितवनको सौराहा र निकुञ्ज आसपासमा घुम्न आएका पर्यटकहरु हात्ती सफारी गर्न रुचाउने गर्दछन् । निकुञ्ज भित्र जीप सफारी, मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी जाने गर्दछ । सरकारी हात्ती पर्यटक घुमाउने गरिएको छैन । निकुञ्ज सुरक्षा र अन्य सरकारी कामको लागि प्रयोग गर्ने गरिएको छ । सरकारी पोथीहात्ती प्रजनन् केन्द्रमा रहेको छ भने भाले हात्ती निकुञ्जको सुरक्षा पोष्टमा सुरक्षार्थ खटिएको कार्यालयले जनाएको छ ।
वन्यजन्तु सुरक्षाको लागि हात्तीको ठुलो महत्व रहेको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी तिवारीले बताउनुभयो । वन्यजन्तुको सुरक्षा संगै गैंडा गणना, बाघ गणना, निकुञ्जको गस्तीको लागि हात्ती प्रयोगमा आउने गरेको छ ।
हात्ती दिवसको अवसर पारेर सौराहामा निजी तथा सरकारी हात्तीलाई शनिबार भोज खुवाइएको छ । हात्तीको संरक्षण गरौ, प्रकृतिको वरदान हात्तीको सुरक्षा भन्दै दिवस मनाइएको हो । चितवनको पर्यटन व्यवसायी, संरक्षणकर्मी, चितवन राष्ट्रिय निकुञ्ज, युनाइटेड हात्ती सहकारी लिमिटेडको संयुक्त आयोजनामा भोज खुवाएर दिवस मनाइएको हो । हात्तीको संरक्षणको विषयमा देखिएको चुनौतीको बारेमा चर्चा गरिएको थियो । शनिबार हात्तीलाई निजी र सरकारी दुवैले कुनै काममा लगाएका छैनन् ।