चितवन, २० जेठ । जंगली कुकुर संरक्षणका लागि विज्ञहरुको अन्तराष्ट्रिय सम्मेलन चितवनको सौराहामा सुरु भएको छ ।
पाटे बाघ भन्दापनि संकटापन्न अवस्थामा पुगेको जंगली कुकुर (ढोले)को संरक्षणमा कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने उद्देश्यले १३ देशका विज्ञहरुको सम्मेलन सुरु भएको हो । चितवन निकुञ्जसहित नेपालमा दुइ सयकोे संख्यामा रहेको वन कुकुर विश्वभर २ हजार ५ सयको हाराहारीमा रहेको अनुमान गरिएको छ ।
सन् २०१९ मा थाइल्यान्डमा पहिलो अन्तरराष्ट्रिय सम्मेलन गरेपछि वन कुकुरको अनुसन्धान सुरू गरिएको थियो । त्यसपछि चितवनको सौराहामा दोस्रो अन्तरराष्ट्रिय सम्मेलन सुरू भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत अम्बिकाप्रसाद खतिवडाले जानकारी दिनुभयो । वासस्थानको कमी, मानिसको अतिक्रमण, मानिसले मार्ने लगायतकको कारणले गर्दा वन कुुकुर मासिदै जाने चुनौती रहेको छ ।
वन कुकुरको संकटापन्न स्थितिलाई मध्यनजर गर्दै सन् २०१९ मा पहिलो पटक वन कुकुरको संख्या र वासस्थानको संरक्षण मूल्याङकन कार्यका लागि थाइल्यान्डमा कार्यशाला गरिएको थियो । चितवनमा सुरु भएको सम्मेलनमा वन कुकुरको वंशाणुगत अवस्था, आहारा प्रजातिको व्यवस्थापन, बासस्थान संरक्षणहरुमाथि बृहत छलफल गरी ‘वन कुकुर संरक्षण कार्ययोजना’ निर्माण गरिनेछ । यो सम्मेलनले वन कुकुर संरक्षणका लागि विश्वमा नै पहिलो कार्ययोजना तयार पार्नेछ । सम्मेलनमा प्रोफेसर हिल कोबयाशीले वन्यजन्तुको अनुगमनका लागि नयाँ प्रविधिको प्रयोग, अर्जुन श्रीवास्तवले ‘रेड लिस्ट एसेसमेन्ट्स’, मार्टिन गिल्बर्टले वन कुकुरलाई लाग्ने रोग र रोकथामका उपाय तथा सुजन खनालले मानव–वन कुकुर द्वन्द्वका कारण तथा समाधानका उपायका बारेमा प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
१९ गतेबाट सुरु भएको सम्मेलन २४ गतेसम्म सञ्चालन हुने प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत तथा सम्मेलनका संयोजक खतिवडाले जानकारी दिनुभयो । दक्षिण एसियाली क्षेत्रमा पाइने वन कुकर आइयुसिएनको रेड लिस्टमा ‘अति संकटापन्न जाति’को रुपमा सूचीकृत बाघपछिको अति दुर्लभ जनावर हो । अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची र नेपालको राष्ट्रिय रातो सूची दुवैमा लोपोन्मुख संरक्षण स्थिति’मा सूचीकृत छ ।
यो भारत, चीन, बंगलादेश, मलेसिया, इन्डोनेशिया, थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लाओस, भुटानलगायत मध्य, दक्षिण, सुदुर दक्षिण र पूर्र्वी एसियाका १३ वटा देशहरूमा पाइन्छ । तर यसको संख्या, अवस्थाको विषयमा अध्ययन, अनुसान्धान खासै भएको छैन ।
नेपालमा २०१० मा पहिलो पटक अनुसन्धानकर्ता अम्बिकाप्रसाद खतिवडाले यो जंगली कुकुरको विषयमा अध्ययन गर्न क्यामेरा ट्रयापिङ गर्नु भएको थियो । कञ्चनजंगा संरक्षण क्षेत्रमा राखेको क्यामेरामा समुद्र सतहबाट ३८ सय मिटर उचाईमा जंगली कुकुर ढोले कैद भएपछि खतिवडाले यसको विषयमा थप अनुसन्धान र संरक्षणका लागि काम गर्दै आउनु भएको छ ।
खतिवडाले भन्नुभयो तराईमा भन्दा पहाड र हिमाली क्षेत्रमा यस प्रजातीका कुकुर मारिने क्रम वृद्धि भएको बताउनुहुन्छ । पहाडी क्षेत्रमा पालिएका घर पालुवा जनावरहरु यसले मारिदिने भएकाले जंगली कुकुरलाई स्थानीयले मार्ने गर्दछन् । यो कुकुरको संरक्षण आवश्यक भएको उहाले बताउनुभयो । जंगली कुकुरको विनासको प्रत्यक्ष असर मानव समुदायमा पर्दछ खतिवडाले भन्नुभयो ‘ रेविज जस्ता रोग, अन्य रोगलाई नियन्त्रण गरेर राख्न सक्ने क्षमता यस कुकुरमा भएकाले यो मासिदा उसमा भएका रोग मानिसमा आउने सम्भवाना रहन्छ ।’
शुक्रबारबाट सुरु भएको सम्मेलनको वन तथा वातावरण मन्त्रालयका सचिव रेवतीरमण पौडेलले उद्घाटन गर्नु भएको थियो । चितवन, पर्सा, बर्दिया, मकालु वरुण निकुञ्ज, अन्नपूर्ण, कञ्चनजंगा संरक्षण क्षेत्र, तीनजुरे जलजले, उदयपुरको त्रियुगा वनमा जंगली कुकुर रेकर्ड भएको छ । यो तराईदेखि हिमालसम्मै छ तर यसको बासस्थान, आहारा, आनिबानीलगायत विषयमा प्रयाप्त अनुसन्धान हुन सकेको छैन । सम्मेलनले यसको संरक्षणमा नयाँ रणनीति, वासस्थानको सुधार, चुनौती संग लड्न सक्ने कार्यक्रम सहित निश्कर्ष निकाल्ने कार्यक्रम संयोजक खतिवडाले जानकारी दिनुभयो ।