शोभा पण्डित
जुन परिवारमा नारीको पूजा हुन्छ त्यहाँ देवताको पनि बास हुन्छन र देवताहरु पनि रमाउँछन् । जुन घरमा नारीको सम्मान हुदैन, त्यहाँ गरिएका सम्पूर्ण राम्रा काम सफल हुदैनन् ।
नारीलाई पुज्नु भन्न खोजिएको होइन मात्र सम्मान गर्नुको अर्थ मातृत्वको कदर गर्नु भनिएको हो । सृष्टिको सम्मान गर्नु हो । हाम्रो घर परिवार बाहेकका नातागोता भित्रका छोरी नातिनी, आमा, हजुरआमा, दिदीबहिनी, भाउजू, पत्नी, प्रेमिका वा चेलीवेटीलगायत नारीजनप्रति प्रेमभाव दर्शाउनु उनीहरुसंग सहकार्य गर्नु हो ।
प्रकृतिले नै महिलालाई मातृत्व वा सृष्टिकर्ताको जिम्मेवारी दिएर सम्मान गरेको छ । अथवा सृष्टिको लागि सबैभन्दा ठूलो अधिकार नै महिलालाई दिएको छ । तर तिनै महिला सामन्ती युगको आरम्भसगै मनोरञ्जनका साधन बने, हिंसाका पात्र शिकार भए, सभ्यताको विकासमा पछाडि पर्न गए । यो समाज पुरुषप्रधान बन्यो वा पितृसतात्मक । अनि नारीहरू समाजमा निस्कृय पात्र बने, जसलाई पश्चगामी अबुझहरुले धर्मसँग जोडे र भने, हिन्दू धर्मले महिला विभेद गरेको छ ।
जति बेला मानवसभ्यताको उदय भयो तेतिबेलादेखि धर्मशास्त्रका आधारमा भातृशक्तिको उपासना पद्धतीको सुरु भएको इतिहास साक्षी छ । सृष्टिकालमा प्रजनन्मा समथ्र्य शक्तिलाई देवी वा नारीको रूप मानियो र देवि देवताको जन्म भयो ।
जसले देवि देवता र प्राणीलाई जन्म दिई सतीको सञ्चार गरिन तिनैलाई सतीको रुपमा कल्पना गरियो र आमाको स्थान दिइयो । अनि उनै विश्वशक्तिको नाम भगवती रहन गयो । युगान्तरमा विस्तारै यिनै भगवतीका विभिन्न स्वरूपको उपासना गरिन थालियो । यहि क्रममा दुर्गा रूप जन्मीयो भनेर शास्त्रमा उल्लेख गरिएको छ ।
ति दूर्गाका स्वरूप हुन् शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कालरात्री, महागौरी कृष्माण्डा, स्कन्दमाता, काल्याणी, सिद्धीदास्ती यिनै नवदुर्गाको नवरात्री क्रमश नौ दिनसम्म पूजा गरिन्छ ।
दुर्गाको महिमा गान गर्ने र शक्ति आर्जनका लागि कामना गर्ने गरिएको छ । तर पनि हामीसंग रहेका हामीलाई जन्मदिने प्रेम र सद्भाव दिने आमा र जीवनसाथी अर्थात धर्मपत्नीलाई सम्मान गर्न सकेका छैनौ । उनीहरु आज पनि विभिन्न प्रकारको विभेद सहन वाध्य छन् । नारीविना सृष्टि सम्भव छैन । पालनपोषण र हेरचाह नारीको प्रेम र साथ बिना सम्भव छैन भन्ने मात्र हो । तर यसको बोध अझै भएको छैन हामीलाई बोध भए पनि बुझ पचाएका छौ ।
मानव सभ्यताको विकासलाई हेर्ने हो भने नारीले अनेकौ पीडा विभेद खपेर पुरुषलाई साथ दिदै आएका छन् । धर्मशास्त्रले यसरी गरेको सम्मानित नारीहरु, आधुनिक युगमा आइपुग्दा हेला र हिंसाको पात्र बनेका छन् । त्यसैले सबै धर्मशास्त्र, सबै पर्व र सबैको मतलाई मानेर लैङगिक व्यवहारमा पनि नारी शक्तिलाई सम्मान गर्न सकियो भने समुन्नत समाज निर्माण भएर एक कदम अगाडि जान सक्दछ ।
वर्तमान समाजको अवस्था
धर्मशास्त्रमा उल्लेख गरेका महिला शक्ति, महिला प्रतिको सम्मान पुजापाठ पुराणमा धेरै चासो पूर्व श्रवण गर्ने र सम्मान गर्ने यही समाजका व्यक्तिहरु भने व्यवहारमा असल गुण उतार्न सक्दैनन् । नारी प्रति असरल व्यवहार समाजका पात्रले नगर्दा अझैपनि महिलाहरू आफ्नो सुरक्षाका लागि, सशक्तीकरणका लागि र अवसरका लागि सडकमा नारा लगाउँदै, नेपालको संविधानले उल्लेख गरेका हक, अधिकार र अस्तित्व खोज्दै लडाइ गर्नु परेको छ । छोरीलाई पनि स्कूल पठाउँ भनेर प्लेकार्ड बोक्दै सडकमा नारा लगाउनु परेको छ । महिनावारी हुँदा छाउपडीको संस्कारमा बाँधिएका छौ र यो कार्य बन्द गरौ भन्दै देशभरी भन्नु परेको छ ।
यही छाउपडी हटाउ भन्दै करोडौ लगानी गरेर राष्ट्रिय अन्तरराष्ट्रि गैरसरकारी सस्थाहरुले काम गरिराखेका छन् । सचेतनाका कार्यक्रम गाउगाउ लगेका छन् । छाउगोठ भत्के पनि ती क्षेत्रका महिलाहरूको मनस्थितिमा पापको डर हट्न सकेको छैन । परम्परा तोडिएमा पाप लाग्छ भनेर त्यो घेराबाट निस्कन अझै महिला सकेका छैनन् । । त्यसैले छाउगोठ नभत्काएकै बेस मान्दछन् । यसमा उनीहरूको के दोष ? हामीले दिएकै शिक्षा र संस्कार यस्तै छ । शिक्षित वर्गमा समेत महिनावारीको विषय अझैपनि कायम रहेको पाइन्छ ।
महिला महिनावारी नभए सृष्टि वन्छ हुन्छ । तर, महिला महिनावारी हुनु घोर पाप हो भन्ने कुरीति कसले फैलायो यो प्रश्नको उत्तर कस्ले खोज्ने ? आफ्नै सृष्टिलाई कसले विभेद गर्छ ? आफ्नै नारीलाई कसले दोस्रो दर्जामा थन्क्याउन चाहन्छ ? कसले हिंसा गर्न सक्छ ? अहँ सक्दैन । तर, यहाँ महिलामाथि हुने हिंसा, अत्याचार, बलात्कार, बोक्सीको आरोप, दाइजो नल्याएको निहुँमा हत्या, घरेलु हिंसा र यातना दिने जस्ता घटनाले गर्दा समाज आक्रान्त बनेको छ ।
महिलामाथि अत्याचार उसले गर्छ, जसमा विवेक छैन, प्रेम छैन, प्रज्ञा छैन अनि आवश्यक मात्रामा हुनुपर्ने चेतनायुक्त शिक्षा छैन । अरूलाई कष्ट पु¥याएर आफू मस्ती लिउँ भन्ने नकारात्मक भावनाले भरिएकाहरूले मात्र महिलामाथि हिंसात्मक कार्य गर्दछन् । समस्या परिस्थितिमा होइन, ती हिंस्रक व्यक्तिको मनस्थितिबाट उब्जेको हुन्छ । त्यसैले चेतनाहीन व्यक्तिहरूलाई चेतना जागृत शिक्षा दिएर मानव बनाउन सके जहाँ र जहिले पनि नारी जातिको सम्मान हुनेछ ।
जहाँ मातृत्वको कदर गरिन्छ, त्यहाँ अत्याचारले स्थान लिन सक्दैन । जब अत्याचार समाप्त भएर जान्छ, चेतनाले काम गर्न थाल्छ, तब यो विश्वमा शान्ति र प्रेम फैलिनेछ । अन्यथा यो युद्ध, हिंसा, अराजकता रोकिने छैन । किनकि अत्याचार, हिंसा, अराजकता भनेको प्रेमको अभाव हो । माधुर्य र सौन्दर्यको अभाव हो ।
सहनशीलता, प्रेम, माधुर्य, प्रज्ञा, करूणा सबै आमामा छ, ती शिक्षित हुन् या अशिक्षित । त्यसै भनिएको छैन, नारी पृथ्वी (सहनशील, धैर्यता ) हुन् भनेर । त्यसै भनिएको छैन, जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुसी हुन्छन् ।
त्यसैले नारी हृदयलाई स्थान दिएर व्यवस्थापनका पहलहरु गरिएमात्र राष्ट्रमा विकास, समृद्धि र शान्ति सम्भव छ । तर, विडम्बना, आज तिनै सृष्टिकर्ता, जननी, आमा अर्थात् महिला आफ्नै सृष्टिद्वारा हिंसामा परेकी छन् । अनि, भिख मागिरहेकी छिन् महिलाहरुका लागि एक हिंसा मुक्त संसारको सिर्जना गरिदेऊ भनेर । तिनै सृष्टिकर्ताको आवाज लिएर आज ‘महिला हिंसा अन्त्य गरौँ, भन्ने आवाज चर्काउँदै लाखौँ महिला तथा पुरुष एकसाथ सडकमा उत्रिनु परेको छ ।
एक होसपूर्ण, ज्ञानपूर्ण व्यक्ति, प्रेमपूर्ण व्यक्तिले हिंसा गर्दैन । आफ्नो स्वभावमा रहने सहज व्यक्ति सधैं प्रेमपूर्ण र करूणावान रहेको हुन्छ । त्यसैले मानिसमा जबसम्म व्यवहारिक शिक्षाको ज्ञान हुँदैन, तबसम्म बाहिरको आन्दोलनले, बाहिरको प्रयासले हिंसा र अराजकता अन्त्य हुनै सक्दैन ।
मानिसमा भित्रबाट ज्ञान नखुल्दासम्म उसको आचरण, बानी व्यववहारमा परिवर्तन आउँदैन । त्यसैले प्रेमपूर्ण घर, प्रेमपूर्ण समाजको निर्माण हुनसके मात्र राष्ट्रले शान्ति पाउँछ, समृद्धिको अनुभूति हुन्छ । आज हाम्रो घरकी आमा, दिदीवहिनी मात्र हिंसामा परेको छैन्, हाम्री जननी जन्मभूमिमाथि पनि हिंसा भैरहेको छ ।
अन्त्यमा नारी सम्मानको विषयमा सार्वजनिक स्थानमा, दुइचारजना वसेको स्थानमा सञ्चार माध्यममा मात्र सकरात्मक कुरा व्यवहार देखाउने घर भित्र गएपछि उही पुरानै व्यवहार गर्नेहरु छन् । ती वर्गले जबसम्म आत्मादेखि नारीलाई वाहिरी आँखा भित्री आँखाले सम्मान गर्दैन, सही नजरले हेर्दैन तबसम्म असल समाज र राष्ट निर्माण हुन सक्दैन । विकास भनेको भौतिक संरचना, चिल्ला बाटो, गाडी ठुलाठुला महल मात्र होइन । सवै भन्दा ठुलो व्यवहार, सोचाइ मानवता प्रतिको प्रेम सदभाव सहयोग र हिंसा मुक्त समाज नै समृद्ध हुन जान्छ ।