जनताकाे बहुदलीय जनवाद नेकपा(एमाले )काे मार्गदर्शक सिद्धान्त हाे । पार्टीका तत्कालीन महासचिव स्वर्गीय मदनकुमार भण्डारीले जवज सिद्धान्त अघि सारेका हुन् । जवजमा उल्लेखित १४ बुदा यसप्रकार छ ।
१. संविधानको सर्वोच्चता
संविधान देशको मूल कानुन हो र देशका सम्पूर्ण राजनीतिक–आर्थिक क्रियाकलापहरू र वर्गहरूको भूमिका एवम् अन्तरसम्बन्धहरूको व्याख्या गर्ने दस्तावेज हो । कुनै पनि वर्ग, व्यक्ति, संस्था वा पार्टी विशेष संविधानभन्दा माथि रहनसक्दैन । सबैको निम्ति संविधान समानरूपले अनुल्लङ्घनीय हुनुपर्छ । संशोधन गर्न सकिने निश्चित प्रावधानहरू संविधानमा रहन्छन् र त्यो लचिलो हुनुपर्छ । तर, जबसम्म त्यसमा संशोधन भएको हुँदैन, त्यसलाई कसैले पनि उल्लङ्घन गर्न पाउँदैन । सम्पूर्ण जनताको निश्चित अधिकार र कर्तव्यको परिभाषा गर्ने दस्तावेज भएकाले कुनै पनि एउटा पक्षबाट त्यसमाथि थिचोमिचो हुनुहुँदैन । त्यसकारण हामीले एउटा महत्वपूर्ण तत्वका रूपमा संविधानको सर्वोच्चता सामेल गरेका छौँ । क्रान्तिकारी सत्ता, जनताको सत्ता पनि विधानबिहीन हुनुहुँदैन, विधानसम्मत चल्नुपर्छ । कतिपय देशमा क्रान्तिकारी सत्तालाई संविधानभन्दा माथि राख्नाले भएका अराजकताको परिणाम हानिकारक भएको कुरा सर्वविदितै छ । समाजको निरन्तर प्रगतिलाई संविधानले निकास दिन सक्नुपर्छ र संविधान सर्वोच्च हुनुपर्छ ।
२. बहुलवादी खुला समाज
प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने र बोल्ने तथा आफ्ना अनुभूतिहरू अभिव्यक्त गर्ने स्वतन्त्रता हुनुपर्छ । यो स्वाभाविक र प्रकृतिसङ्गत कुरा हो । त्यसको उल्टो केबल शासक वर्ग र पार्टीको प्रशंसामा मात्र बोल्न पाइने र विरोधमा मुख खोल्न नपाइने व्यवस्था अरू पक्षमा जतिसुकै राम्रो भए पनि टिकाउ हुन सक्दैन । प्रत्येक व्यक्तिलाई सरकार, राजनीतिक पार्टीहरू, सामाजिक संस्थाहरू, नेताहरू र अधिकारीहरूको बारेमा आफूलाई लागेका कुराहरू स्वतन्त्ररूपमा बोल्न दिनुपर्छ । मुलुकको संविधान र नियम कानुनको आधारमा प्रेस र पर्यटनको स्वतन्त्रता हुनुपर्छ । बाहिरी दुनियाँबाट अलगथलग, बन्द र एकोहोरो समाज हुनुहुँदैन । कम्युनिस्ट पार्टीले शासन चलाएका कतिपय देशमा बहुलवाद र खुलापन रहेन र त्यसको परिणाम पनि राम्रो भएन । हामी बहुलवाद र खुला समाजको पक्षमा छौं ।
३. शक्ति पृथकीकरणको सिद्धान्त
समाजवादी देशहरूमा लामो समयसम्म व्यक्तिको हातमा शक्तिको अति केन्द्रीकरण रह्यो । त्यसबाट समाजलाई लाभ होइन, हानी भयो । त्यसपछि व्यक्तिको हातमा हुने अति केन्द्रीकरणको आलोचना गर्दै बिकेन्द्रित गर्ने प्रक्रिया सुरु भएको छ । तर, व्यक्तिको हातमा मात्र होइन, कुनै एउटा संस्थाको हातमा पनि अति केन्द्रीकरण हुनुहुँदैन । एउटै संस्था कार्यकारी, विधायकी र न्यायिक अधिकार प्रयोग गर्ने केन्द्रीय शक्ति हुनुहुँदैन । राज्यका बिभिन्न अधिकारहरूलाई प्रयोग गर्न केन्द्रमा पृथक निकायहरू हुनुपर्छ । अझ राज्यको अधिकार शासक पार्टीले प्रयोग गर्ने र राज्य र पार्टीबीचको भिन्नतालाई समाप्त गर्ने काम हुनुहुँदैन । राज्य र पार्टीबीचको भिन्नता र अन्तरसम्बन्धलाई ठीकढङ्गले सञ्चालन गरिनुपर्छ । यही अवधारणाबाट हामीले शक्ति पृथकीकरणको सिद्धान्तलाई आफ्नो कार्यक्रममा समावेश गरेका छौं ।
४. मानवअधिकारको रक्षा
दुनियाँमा कम्युनिस्टहरू मानवअधिकारको पक्षमा छैनन् भन्ने पूँजीवादपन्थीहरूको व्यापक प्रचार छ । कतिपय कम्युनिस्टहरू पनि मानवअधिकारको रक्षा गर्ने हाम्रो काम र कार्यक्षेत्र होइन भन्ने ठान्दछन् । हामी मानवअधिकारको पक्षमा छौं र लामो समयदेखि त्यस निम्ति सङ्गठितरूपमा लड्दै आएका छौं । साँचो अर्थमा कम्युनिस्ट नै मानवअधिकारका सबभन्दा दृढ योद्धा हुन् र हुन सक्छन् । त्यसकारण हामीले मानवअधिकारको रक्षालाई एउटा महत्वपूर्ण तत्वका रूपमा कार्यक्रममा समावेश गरेका छौं ।
५. बहुदलीय प्रतिस्पर्धाको प्रणाली
संविधानको परिभाषाभित्र राज्य र त्यसका राजकीय निकायहरू सम्पूर्ण जनताको चासो र सरोकारका विषय हुन् । त्यसमा एउटा मात्र राजनीतिक पार्टीको एकाधिकार हुन सक्दैन । अझ राज्यको बल प्रयोग गरेर एउटा मात्र पार्टीको एकाधिकार कायम गर्न खोज्नु अत्यन्त गैरजनवादी कुरा हो । अनेक वर्गहरू रहेको समाजमा, पेशागत विविधता रहेको स्थितिमा पनि र खासगरी वर्गीय विविधता भएको समाजमा अनेक राजनीतिक पार्टीहरू स्वाभाविकरूपमा हुन्छन् । नागरिकको मौलिक अधिकारमा बन्देज नगर्ने हो भने स्वभाविकरूपमा राजनीतिक चिन्तनमा विविधताहरू पैदा हुन सक्छन् । अझ कम्युनिस्ट पार्टी सर्वहारा–श्रमजीवी वर्गको पार्टी हो । यो सम्पूर्ण वर्गहरूको पार्टी हुनसक्दैन । यो माक्र्सवादी–लेनिनवादी विचार प्रणालीलाई मार्गदर्शक मान्ने पार्टी हो र सर्वहारा–श्रमजीवी वर्गभित्र पनि अन्य विचारप्रणालीप्रति विश्वास गर्ने व्यक्तिहरू हुनसक्छन् वा रणनीति, कार्यनीतिमा भिन्न मतावलम्बी हुन सक्छन् । यस्तो स्थितिमा एउटा मात्र पार्टीको एकछत्र अधिकार संवैधानिकरूपमा र राज्यको बलसमेत प्रयोग गरेर कायम गर्न खोज्नु एकप्रकारको निरङ्कुशता र तानाशाही हो । त्यसकारण हामीहरू राजनीतिमा जनताको निर्णायक भूमिका स्थापित गर्न बहुदलीय प्रतिस्पर्धाको प्रणाली कायम गर्न चाहन्छौं । जनादेश प्राप्त पार्टी र व्यक्तिहरूले नै राजकीय अधिकार प्रयोग गरी शासन प्रशासन चलाउनुपर्छ भन्ने पक्षमा छौं । बहुदलीय प्रतिस्पर्धाको प्रणाली सङ्गठितरूपमा विचार, कार्यक्रम र नीतिहरूको आधारमा पार्टीहरूबीच प्रतिस्पर्धा गर्न पाउने र जनताको निर्णय सर्वोपरी हुने प्रणाली हो । त्यसकारण हामीले यो प्रणालीलाई एउटा निर्णायक महत्वको विषयका रूपमा आफ्नो कार्यक्रममा समावेश गरेका छौं ।
६. आवधिक निर्वाचन
जनताले नै पनि एकपटक गरेको निर्णय सधैँका निम्ति शाश्वत हुनसक्दैन । त्यसकारण निश्चित अवधिभित्र आम निर्वाचन हुनुपर्छ । निर्वाचन विचार, कार्यक्रम र नीतिको बीचमा हुनुपर्छ । एउटै नीति, विचार र कार्यक्रमभित्र केबल व्यक्तिहरूबीच मात्र गरिने चुनाव सारतत्वमा पञ्चायती चुनावभन्दा भिन्न हुनसक्दैन । त्यसकारण बहुदलीयताको आधारमा आवधिक निर्वाचन गर्ने प्रणालीलाई हामीले दृढताका साथ सामेल गरेका छौँ ।
४.७. बहुमतको सरकार र अल्पमतको बिपक्ष
बहुदलीय पद्धतिको एउटा मूलतत्व सङ्गठित प्रतिस्पर्धा हो भने अर्को मूलतत्व बहुमतको सरकार र अल्पमतको बिपक्ष हुने संवैधानिक व्यवस्था हो । सरकारका कामकाजहरूप्रति आलोचनात्मक दृष्टिकोण राख्ने र गलत कुराहरूको विरोध गर्ने संवैधानिक व्यवस्था हो । आमचुनाव भए पनि बिपक्ष रहन पाउने र अझ रहनुपर्ने संवैधानिक व्यवस्था नहुने हो भने सरकारका तानाशाही एवम् निरङ्कुशतावादी क्रियाकलापहरुलाई रोक्न सम्भव हुँदैन । शान्तिपूर्णढङ्गले कुनै पनि गल्तीहरूको राजनीतिक समाधान निकाल्नु सजिलो हुँदैन । पञ्चायती व्यवस्थामा पनि व्यक्तिको बीचमा चुनाव हुने गथ्र्यो । तर, विचार र कार्यक्रम राख्न पाइन्नथ्यो । अझ पञ्चायती चिन्तनसँग असहमत व्यक्तिहरू चुनिए पनि बिपक्षको वैधानिक व्यवस्था थिएन । त्यसकारण पञ्चायत अन्तरवस्तुक हिसावले मात्र होइन, स्वरूपका हिसाबले पनि निरङ्कुश एवम् तानाशाही थियो । सरकारको बिपक्षमा वैधानिकरूपमा काम गर्न पाउने प्रणाली प्रजातान्त्रिक प्रणाली हो । यसलाई ध्यान दिएर नै हामीले स्पष्टरूपमा बहुमतको सरकार र अल्पमतको बिपक्ष रहने संवैधानिक व्यवस्था गर्ने कुरा समावेश गरेका छौं ।
८. कानूनको शासन
जनताका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारहरू, मौलिक अधिकार, मानवअधिकार र नागरिक अधिकारहरूको रक्षाका निम्ति कानूनको शासन भन्ने कुरालाई हामीले आफ्नो कार्यक्रममा सुस्पष्टरूपमा समावेश गरेका छौं । कुनै पनि व्यक्तिमाथि कानूनअनुसार अधिकार प्राप्त निकायको औपचारिक निर्णयबाट मात्र दण्डित गर्न सकिने, सरकार र शक्ति हातमा भएको कुनै पनि निकाय वा व्यक्तिले स्वेच्छाचारीढंगले गर्न नपाइने कुरालाई हामीले गम्भीरताका साथ महत्व दिएका छौं ।
९. जनताको जनवादी व्यवस्थाको सुदृढीकरण
हामी सैद्धान्तिक आग्रहबाट प्रेरित भएर भौतिक परिस्थितिबिना नै समाजवादमा पुग्ने हतारोले कुनै पनि अनुचित जोरजबर्जस्ती गर्ने कुराको बिपक्षमा छौँ । स्वाभाविकरूपमा कुनै पनि नयाँ व्यवस्थालाई सुदृढ गर्नका निम्ति अपेक्षित समय चाहिन्छ । त्यसमा पनि जनताको जनवादी सत्ताले मूलभूतरूपमा तीनवटा विशेष अवधि पार गर्नु अनिवार्य हुन्छ : पहिलो– पुरानो व्यवस्थाका शोषण–उत्पीडनका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने अवधि, दोस्रो– नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र साँस्कृतिक दुबै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने अवधि र तेस्रो– समाजवादमा सङ्क्रमणको निम्ति केन्द्रित भएर भौतिक तथा साँस्कृतिक तयारी गर्ने अवधि । यस्ता ठोस कुराहरू सम्पादन गर्न स्वाभाविकरूपमा एउटा अपेक्षाकृत लामो समय चाहिन्छ । त्यसकारण हामीहरू अन्य कतिपय देशहरूमा जस्तो समाजवादमा पुग्ने हतारोले नयाँ व्यवस्था र समाजको जग कमजोर छँदै– एउटा खुट्टो दर्होसँग नटेकी अर्को खुट्टा उचाल्ने– पक्षमा छैनौं । अझ हामी नयाँ जनवादी व्यवस्थामा पनि बहुदलीय पद्धति अपनाउन प्रतिबद्ध छौं । यसको तात्पर्य बल प्रयोग होइन, सेवा र घनिष्ट सम्बन्धबाट जनताको दिल जित्न र समर्थन हासिल गर्न चाहन्छौँ । यो राम्रै कामका निम्ति पनि जनतालाई जोरजबर्जस्ती गर्ने होइन, स्वेच्छिक समर्थन हासिल गर्ने तरिका हो । हामी राम्रो काम पनि नराम्रो तरिकाले होइन, सकेसम्म राम्रो तरिकाले सम्पन्न गर्नुपर्छ भन्ने कुराको पक्षमा रहेका छौं । त्यसकारण हामीले जनताको जनवादी व्यवस्थालाई एउटा अपेक्षाकृत लामो समयसम्म रहने सामाजिक व्यवस्थाको रूपमा स्वीकार गरेका छौं ।
१०. विदेशी पुँजी र प्रविधि
आज आमरूपमा साम्राज्यवादको औपनिवेशिक शोषणको स्वरूप समाप्त भएको छ र त्यसले नयाँढङ्गले औपनिवेशिक शोषण गर्ने तरिका विकसित गरेको छ । साम्राज्यवादी देशले एक्लै पनि र अनेक विकसित पूँजीवादी देशहरूको वित्तीय सम्पत्ति जम्मा गरेर अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूमार्फत संयुक्तरूपमा पनि यो नवउपनिवेशी शोषणलाई अघि बढाएका छन् । तर, वर्तमान विश्वमा अविकसित पछौटे देशहरू मात्र होइन, विकासवान र विकसित देशहरूले पनि अन्तर्राष्ट्रिय वा वैदेशिक वित्तीय सहायता, ऋण र सम्पर्कबिना काम गर्न नसक्ने स्थिति बनेको छ । यस्तो स्थितिमा हामी मात्र पनि बाहिरी दुनियाँप्रति बेवास्ता गरेर केबल आफ्नो मात्र स्रोत–साधनले अघि बढ्न सक्दैनौँ । समाजवादी देशहरूले पनि यस्तो ऋण सहायता लिइरहेका छन् र विश्व पूँजीवादद्वारा खडा गरिएको नाकाबन्दीले कतिपय देशहरूमा गम्भीर सङ्कट पनि बढिरहेको छ । यस्तो स्थितिमा हामी वैदेशिक पूँजी र प्रविधिको सवालमा नीतिगतरूपमा आफ्नो ढोका बन्द गर्न सक्दैनौँ र बन्द गर्नुहुँदैन । त्यसकारण हामीले आफ्नो कार्यक्रममा संविधान र ऐन–कानुनको सीमाभित्र राष्ट्रिय हितलाई ख्याल राखेर वैदेशिक पूँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग व्यवस्थित गर्ने सुस्पष्ट कुरा कार्यक्रममा समावेश गरेका छौँ । यो पनि विगतका क्रान्तिकारी कार्यक्रमहरूमा समावेश नभएको भिन्न विषय हो ।
११. क्षतिपूर्ति
सामन्ती शोषण, सामन्ती भू–स्वामित्व र सामन्तवादलाई समाप्त पार्ने हाम्रो क्रान्तिको एउटा आधारभूत उद्देश्य हो । हामीले नयाँ समाज निर्माण गर्नका निम्ति आमरूपमा सबैबाट सकारात्मक योगदान लिने नीति लिएका छौँ । त्यसको निम्ति सामन्ती भू–स्वामित्व समाप्त गर्ने, कानुनद्वारा नयाँ हदबन्दी निश्चित गर्ने, क्रान्तिकारी भूमिसुधार गर्ने, यसक्रममा क्रान्तिको समर्थन गर्नेहरू, धनी र मध्यम किसानहरूको हदभन्दा बढी जमिन र दोहोरो स्वामित्वको अन्त्य गर्दा साना भू–स्वामीहरूको जमिनको कानुनसम्मत यथोचित क्षतिपूर्ति दिने नीति अघि सारेका छौँ । नयाँ समाजको निर्माणमा सकारात्मक योगदान गर्न नचाहने र अझ त्यसको विरोध र ध्वंसमा लाग्ने सामन्ती जमिन्दारहरूबाहेक अरूलाई क्षतिपूर्ति दिएर हामी उद्योग, व्यापार–व्यवसायतर्फ स्थानान्तरित गराउन चाहन्छौँ । यो नयाँ समाज निर्माण गर्न सबैलाई सकारात्मकढङ्गले योगदान पुर्याउन गरेको आह्वान हो र शान्तिपूर्णढङ्गले सामन्ती भू–स्वामित्वको अन्त्य गर्ने चाहनाको अभिव्यक्ति पनि हो । तर, यो प्रगतिशील अग्रगतिको विरोध गर्ने सामन्ती जमिन्दारहरूमाथि बल प्रयोग गर्नुपर्ने अनिवार्यता र बल प्रयोग गरिएकाहरूले क्षतिपूर्ति नपाउने कुरा पनि स्वतःस्पष्ट छ । हामीले आफ्नो कार्यनीतिमा ल्याएको यो पनि एउटा नयाँ पक्ष हो ।
१२. विदेश नीति
आज विश्वमा एकीकृत विश्व कम्युनिस्ट आन्दोलन छैन । तर, विश्वका लगभग सबैजसो देशमा माक्र्सवादी सिद्धान्तको मार्गदर्शनमा आफ्नो देशको ठोस स्थितिअनुरूप क्रान्ति वा निर्माणको निम्ति कम्युनिस्ट आन्दोलन जारी छ । समाजवादी आन्दोलन पनि हरेक देशका आफ्ना विशिष्टताको आधारमा चलिरहेको छ, त्यसमा पनि एकरूपता छैन । संसारभरका सबै कम्युनिस्टहरू साम्राज्यवादका बिरुद्ध छन् । तर, ठोसरूपमा कहीँ कुनै देशको साम्राज्यवादी उत्पीडनबिरुद्ध तीखो सङ्घर्ष छ भने अर्को साम्राज्यवादी देशसँग त्यसको सम्बन्ध आमरूपमा सामान्य नै छ । साम्राज्यवादविरोधी सङ्घर्षमा पनि एकरूपता छैन । भिन्नाभिन्नै देश, भिन्नाभिन्नै रूप र भिन्नाभिन्नै कोणबाट तर सबै देशका कम्युनिस्टहरू साम्राज्यवादका बिरुद्ध सङ्घर्षरत छन् । यो नै अहिले एकताको पक्ष हो । यसलाई अहिले नै एकरूपतामा पुर्याउने कुनै सम्भावना छैन । यस्तो स्थितिमा समाजवादी देशहरू र शासक कम्युनिस्ट पार्टीहरूले पुरानोढङ्गले सामाजिक मुक्ति तथा राष्ट्रिय स्वाधीनताका आन्दोलनहरूलाई प्रत्यक्ष र खुल्ला सहयोग गर्न छोडेका छन् । हरेक देशका सर्वहारा–श्रमजीवी वर्गका राजनीतिक पार्टीहरूले पनि सर्वहारा अन्तर्राष्ट्रियतावादको पुरानो सहयोग प्रणालीमा भिन्नता ल्याएका छन् । अहिले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कुनै उल्लेखनीय गु्रप–समूह छैन । एकातिर प्रत्येक देशको क्रान्ति वा निर्माणको आन्दोलन अन्तर्राष्ट्रिय सहयोग–समर्थनबिना विकसित र विजयी हुन सक्दैन भने अर्कोतिर सहयोगको पुरानो रूप प्रणाली कायम छैन र तत्काल हुन पनि सक्दैन । यस्तो स्थितिमा हरेक देशमा क्रान्तिकारीहरूले आफ्नै प्रत्यक्ष पहलबाट अन्तर्राष्ट्रिय समर्थन जुटाउनुपर्छ । त्यसकारण हामीहरू सामान्य सैद्धान्तिक अवधारणाको आधारमा सैद्धान्तिकढङ्गले आमखालको विरोध वा समर्थनबाहेक ठोसरूपमा आफ्नो देशको क्रान्ति र निर्माणको प्रत्यक्ष लाभ–हानीको हिसाबबाट मात्र विदेश सम्बन्ध सञ्चालन गर्नसक्छौँ । हाम्रा निकट छिमेकीहरू दक्षिण एसियाली देशहरू, हाम्रो क्रान्ति र निर्माणलाई प्रत्यक्ष–सहयोग समर्थन गर्ने देशहरू र अरू मित्र देशहरूको आधारमा क्रमिक महत्व दिएर पञ्चशीलको सिद्धान्तका आधारमा व्यावहारिकढङ्गले सम्बन्ध स्थापना र विकास गर्ने दृष्टिकोण हामीले अघि सारेका छौँ । क्रान्ति र निर्माणका ठोस व्यवहारिक विषयलाई बेवास्ता गरेर केबल सैद्धान्तिक आग्रहका रूपमा मात्र हामी अघि बढ्न सक्दैनौँ ।
१३. नेतृत्व र अधिनायकत्व
सामन्तवाद र साम्राज्यवादबाट सामाजिक मुक्ति र राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने आन्दोलनको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो । यस क्रान्तिको नेतृत्व पनि सर्वहारा–श्रमजीवी वर्गले मात्र गर्नसक्छ । सर्वहारा–श्रमजीवी वर्गको, माक्र्सवाद–लेनिनवादको मार्गदर्शनमा चल्ने राजनीतिक पार्र्टीले मात्र गर्नसक्छ । तर, यस कुरालाई केबल सैद्धान्तिकरूपमा उल्लेख गरेर र दस्तावेजमा लेखेर मात्र हुँदैन । त्यसकारण हामीले कार्यक्रममा प्रतिस्पर्धा र पहलकदमीद्वारा नेतृत्व लिने विषयमा जोड दिएका छौँ । सैद्धान्तिक, वर्गीय र रणनीतिकरूपमा सर्वहारा नेतृत्वको अनिवार्यताबारे उल्लेख गर्दा कार्यनीतिकरूपमा अरूसँग नेतृत्वका निम्ति गम्भीर प्रतिस्पर्धा गर्नुपर्ने र पहलकदमी लिनुपर्ने आवश्यकताप्रति बेवास्ता गरेर ढुक्क हुने प्रवृत्ति देखिएको छ । हामी यो प्रवृत्तिलाई हटाउन र तीब्र प्रतिस्पर्धा र सशक्त पहलकदमीमा जोड दिन चाहन्छौँ । त्यसरी नै क्रान्तिपछिको निर्माणकालमा पनि पार्टीले पहलकदमी र प्रतिस्पर्धाबाट नै नेतृत्व हातमा लिनुपर्छ । कम्युनिस्ट पार्टीको नेतृत्व अर्थात् माक्र्सवाद–लेनिनवादको मार्गदर्शमा चल्ने सर्वहारा–श्रमजीवी वर्गको राजनीतिक पार्टीको नेतृत्वमा मात्र जनताको जनवादी व्यवस्थाको सुदृढीकरण र समाजवादमा सङ्क्रमण गर्ने काम सम्पन्न गर्न सकिन्छ । तर, यसमा पनि प्रतिस्पर्धा र पहल नलिएर संविधानमा उल्लेख गर्दै राज्यको बल प्रयोग गरेर नेतृत्व गर्ने तरिका उपयुक्त हुँदैन । त्यसकारण सर्वहारा–श्रमजीवी वर्गको माक्र्सवादी–लेनिनवादी पार्टीको नेतृत्व अनिवार्य छ । तर, त्यो सङ्घर्ष, सेवा, पहलकदमी र प्रतिस्पर्धाबाट मात्र हातमा लिन सकिन्छ । सैद्धान्तिक उल्लेख वा सम्वैधानिक उल्लेख तथा राजकीय बल प्रयोगबाट होइन भन्ने कुरामा हामीले जोड दिएका छौँ ।
त्यसरी नै जनताको जनवादी अधिनायकत्व भनेको जनताको जनवादी राज्यसत्ता हो । अधिनायकत्व राज्यसत्ताको एउटा मुख्य र निर्णायक कामलाई अभिव्यक्त गर्ने शब्द हो । अर्थात् अधिनायकत्व भनेको राज्य हो । माक्र्सवादी दृष्टिकोणअनुसार राज्य भनेको वर्गीय हुन्छ, पूँजीवादपन्थीहरूको वर्गबिहीन वा वर्गभन्दा माथि राज्य भन्ने कुरा झूठ कुरा हो । राज्य एउटा वर्गले अर्को वर्गलाई नियन्त्रण गर्ने साधन हो । तर, जनताको राज्यको काम केबल नियन्त्रण र दमन गर्ने मात्र होइन, आम जनताको नेतृत्व गर्दै जनताको निम्ति कल्याणकारी काम गर्नु हो । त्यसले जनवादविरोधी प्रतिगामी तत्वहरूलाई मात्र दमन र नियन्त्रण गर्छ । व्यापक जनतालाई जनवादी अधिकार प्रदान गर्छ । त्यसकारण हामीले अधिनायकत्व शब्दको सट्टा कार्यक्रममा आमरूपमा राज्यसत्ता भन्ने शब्द प्रयोग गरेका छौँ । यसको तात्पर्य पहिलो कुरा मुठ्ठीभर प्रतिगामीहरूमाथि अधिनायकत्व भएको, ९५ प्रतिशत जनताको निम्ति जनवाद दिने राज्यसत्ता भएको र दोस्रो राज्यसत्ताको काम केबल अधिनायकत्व मात्र नभएर जनता र राष्ट्रको निम्ति कल्याणकारी काम नै प्रमुख भएको हुनाले पनि राज्यसत्ताको एउटा मात्र पक्षलाई अभिव्यक्त गर्ने ‘अधिनायकत्व’ शब्दभन्दा अर्थात ‘जनताको जनवादी अधिनायकत्व’ भन्नुभन्दा जनताको जनवादी राज्यसत्ता भन्ने प्रयोग गरेका छौँ । यो सही र उपयुक्त संयोजन हो ।
१४. जनताको बहुदलीय जनवाद
हाम्रो कार्यक्रम सामन्तवाद, दलाल नोकरशाही पूँजीवाद र साम्राज्यवादविरोधी कार्यक्रम हो । हाम्रो क्रान्ति सामन्तवाद–साम्राज्यवादविरोधी क्रान्ति हो । चीन, कोरिया, भियतनाम र पूर्वी युरोपेली देशहरूमा यस्तै क्रान्ति भएको थियो । यी सबै ठाउँका क्रान्तिले सामन्तवादलाई उन्मूलन गरेर किसानहरूलाई मुक्त पार्ने र साम्राज्यवादको सबै प्रकारका हस्तक्षेपलाई समाप्त पारेर राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने काम गरेको थियो । राष्ट्रिय पूँजी र उद्योग–व्यवसायको विकासको बाटो खोलेको थियो । राज्यसत्ताको एउटा तेस्रो रूप आम जनताको जनवादी संयुक्त राज्यसत्ताको स्थापना गरेको थियो । सामन्तवादलाई उन्मूलन गरेर पनि यो पूँजीपति वर्गको अधिनायकत्व भएको एकलौटी राज्य थिएन । पुरानो जनवादी क्रान्तिले पूँजीपति वर्गको अधिनायकत्व भएको राज्यको स्थापना गरेको थियो । तर, यसले सामन्तवाद–साम्राज्यवादविरोधी आमजनताको संयुक्त राज्यको स्थापना गर्यो । सामन्तवाद–साम्राज्यवादको उन्मूलन गर्ने, अर्धसामन्ती र अर्धउपनिवेशी उत्पादनसम्बन्ध समाप्त पारेर जनवादी र राष्ट्रिय सम्बन्ध कायम गर्ने तथा आम जनताको संयुक्त राज्यसत्ता स्थापना गर्ने हुनाले यसै अर्थमा हाम्रो क्रान्ति पनि नयाँ जनवादी क्रान्ति नै हो र हाम्रो कार्यक्रम पनि नयाँ जनवादी नै हो । अरू मुलुकमा कतिपय आफ्ना विशेषताहरूको सन्दर्भलाई लिएर त्यसलाई कहीँ नयाँ जनवाद, कहीँ जनताको जनवाद र कहीँ राष्ट्रिय जनवादजस्ता नाम दिइयो । सारतत्वमा त्यो सबै नयाँ युगको सन्दर्भबाट जनताको जनवाद नै थियो । हामीले आफ्नो देशमा विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थिति एवम् आजसम्मका अनुभवहरूलाई विश्लेषण गर्दै तिनै आधारभूत तत्वहरूको साथमा कतिपय भिन्न कुराहरू पनि समावेश गरेका छौँ, हामीले थपेका विषयहरूलाई प्रतिनिधित्व गर्ने मूल अभिव्यक्तिको हिसाबले ‘बहुदलीयता’ लाई उल्लेख गरेका छौँ । यस हिसाबले हामीले आफ्नो सन्दर्भमा उक्त क्रान्तिको कार्यक्रमलाई जनताको बहुदलीय जनवाद भनेर उल्लेख गरेका छौँ । वास्तवमा यो पनि हामीले आफ्नो सन्दर्भमा प्रयोग गरेको जनताको जनवाद नै हो । उपरोक्त अन्य देशहरूमा बहुदलीय प्रतिस्पर्धा रहेन । हामी भने त्यसभन्दा भिन्न सुस्पष्टरूपमा बहुदलीय प्रतिस्पर्धा सामेल गर्न चाहन्छौँ । यस अर्थमा हाम्रो कार्यक्रम र विचारको यो एउटा विशेष कुरा हो । यसलाई कार्यक्रममा पनि विशेषढङ्गले उल्लेख गर्नु आवश्यक छ । त्यसैकारण कार्यक्रमको शीर्षकमा हामीले सारतत्व र आफ्ना थप विशेष कुराहरूसमेत समावेश गरेर ‘जनताको बहुदलीय जनवाद’ भनेका हौं । सामन्यतया जुनसुकै विशेषणका साथ जनवादको उल्लेख गरिए पनि हाम्रो कार्यक्रमको स्वरूप र सार दुबैलाई सटीकढङ्गले उल्लेख गर्दा हाम्रो क्रान्तिको कार्यक्रमको नाम ‘जनताको बहुदलीय जनवाद’ हुनुपर्छ । परिवर्तित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थितिमा हामीले आफ्ना विचारहरूलाई यसरी नै कार्यक्रममा प्रस्तुत गरेका छौँ ।