सुरु भयो नारायणी नदी तटवन्धन निर्माण कार्य : लागत दुइ अर्व १९ करोड

 

चितवन, २२ पुस । दुइ अर्व रुपियाँ भन्दा माथिको लागतमा निर्माण हुन लागेको नारायणी नदी तटवन्धनको काम सुरु भएको छ ।
नारायणगढको नारायणी नदी किनारमा पार्क सहितको आकर्षक तटवन्धनसहित मेघौलीको गोलाघाटसम्म नदी नियन्त्रणका लागि काम सुरु भएको नारायणी नदी व्यवस्थापन आयोजना कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शङ्कर वुढाथोकीले जानकारी दिनुभयो । निर्माण हुने क्षेत्रमा तारजाली, कंक्रिट, ठुला ढुंगाको प्रयोग हुने उहाले जानकारी दिनुभयो ।
नारायणी नदीले पश्चिम चितवनको मङ्गलपुर, गुञ्जानगर, मेघौलीलगायतको क्षेत्रमा जमिन कटान गरेर वस्ती जोखिममा पर्दै आएको थियो । वर्षातको समयमा नारायणी नदीले खेती योग्यजमिन कटान गर्दै मानव वस्तीमा प्रवेश गर्न थालेपछि तटवन्धनको माग वर्षौदेखि हुदै आएको थियो । गत वर्षबाट तटवन्धनका लागि टेण्डर आव्हान भएपनि काम भने सुरु भएको थिएन ।
टेण्डर आव्हानपछि तटवन्धनको काम केही हप्ता अगाडिबाट सुरु भएको नारायणी नदी व्यवस्थापन आयोजन भरतपुरका सूचना अधिकारी इन्जिनियर वुढाथोकीले बताउनुभयो । अहिले पश्चिम चितवनको मेघौली क्षेत्रबाट काम भइराखेको छ । ती भन्दा वाहेक अन्य स्थानबाटपनि काम भएको जानकारी दिनुभयो ।
कार्यालयले दिएको जानकारी अनुसार पाँच वटा ठेक्काबाट काम भइराखेको छ । ठेक्का नं. ३१ रामघाटदेखि काभ्रेघाट मङगलपुरसम्म एक अर्व १५ करोडको लागतमा निर्माण हुदैछ । यहाँ निर्माण हुने तटवन्धनको माथिल्लो भागमा यात्रा गर्न मिल्नेगरी ग्रावेल सडक हुने आयोजनाले जानकारी दिएको छ ।
त्यस्तै गरी ठेक्का नं. ३० अन्तर्गत गाजीपुरदेखि हिरापुरसम्म ४८ करोड ४७ लाखमा निर्माण कार्यको लागि सिमाङकन गरिदै आएको छ । यस क्षेत्रमा आवश्यकताको आधारमा तारजाली, ढुला ढुंगा राखिने कार्यालयले जानकारी दिएको छ ।
यस्तै गरी ठेक्का नं. २९ को सिसैदेखि वालुवासम्म ३७ करोड ४७ लाख रुपियाँमा काम भइराखेको छ । त्यस्तै वालुवादेखि मेघौलीको गोलाघाट ठेक्का नं. १ मा २६ करोड ४ लाखको लागतमा अहिले तटवन्धनको काम भइराखेको कार्यालयले जानकारी दिएको छ ।
नारायणगढको नारायणी नदीको पुलबाट उत्तर तर्फको स्थान किनारमा भने १५ करोड ९३ लाखको लागतमा पार्क सहितको तटवन्धन गरिने नारायणी नदी व्यवस्थापन आयोजना कार्यालयले जानकारी दिएको छ । जमिन कटान गर्न नसक्ने गरी सिमेन्टको पर्खाल लगाएर नदी नियन्त्रणको काम गरिने छ । यस क्षेत्रमा मानिसको चहलपहल हुने भएकाले अन्त्रभन्दा फरक तरिकाले नियन्त्रणको कार्य गरिने उहाले जानकारी दिनुभयो ।
ठेक्काको काम भएपनि आवश्यक पर्ने ठुला ढुंगाको भने अभाव भएको सूचना अधिकारी वुढाथोकीले जानकारी दिनुभयो । नदी नियन्त्रणका लागि कुनै स्थानमा ठुलो प्रकारको ढुंगा राखेर निर्माण गर्नु पर्ने भएकाले त्यसको लागि टाढाबाट सामग्री ल्याउनु पर्ने वाध्यता रहेको छ । अन्य सामग्री भने नारायणी नदीको किनारबाट उठाउने गरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो । वातावरण प्रभाव मुल्याङकन इआइए गरेर नै सामग्री उठाउने काम गर्ने जानकारी दिनुभयो । तटवन्धन निर्माणमा कुनैपनि अवरोध सिर्जना नभएको कार्यालयले जानकारी दिएको छ । दुइ अर्व १९ करोडको लागतमा निर्माण हुने यस तटवन्धनपछि नारायणी नदी किनारमा ठुला होटल रेष्टुरेन्टको स्थापना भएर पर्यटकीय क्षेत्रको रुपमा नदी किनारको विकास हुने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । तटवन्धन नियन्त्रणको लागि परियोजना ल्याउनको लागि महानगरपालिकाको पहलकदमी रहेको दाहालले बताउनुभयो ।

 

 

शेयर गरौ

ताजा अपडेट