महामन्त्रीद्वयले मागे कांग्रेसमा नीति महाधिवेशन

काठमाडौँ १७ पुस । सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको स्वार्थ नछाड्दा कांग्रेस राज्यसत्ताका सबै पदबाट विमुख बन्न पुगेको भन्दै नेता तथा कार्यकर्ताबाट असन्तुष्टि व्यक्त भइरहेका बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तत्काल नीति महाधिवेशन गर्नुपर्ने माग अघि सारेका छन् । महामन्त्रीद्वयले पुस २२ बाट हुने पार्टीको केन्द्रीय कार्यसमिति बैठकमै नीति महाधिवेशनको मिति र स्थान तोक्न जोड दिएका छन् ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा शनिबार थापा र शर्माले संयुक्त विज्ञप्ति निकाल्दै पार्टीको नीति योजना र कार्यक्रम तय गर्न नीति महाधिवेशन आवश्यक रहेको औंल्याएका छन् । सभापति देउवा भने नीति महाधिवेशन बोलाइहाल्ने मनस्थितिमा देखिँदैनन् । ‘यतिबेला देशभर नै नेता तथा कार्यकर्ताको आक्रोश छ । सभापति पार्टीभित्र रक्षात्मक अवस्थामा हुनुहुन्छ । तत्काल नीति महाधिवेशन बोलाउँदा अप्ठ्यारोमा पर्न सकिन्छ भन्ने उहाँलाई लागेको हुन सक्छ,’ देउवा निकट एक नेताले भने, ‘यो परिस्थिति अलि साम्य भएपछि मात्रै बोलाउने अवस्था हुन सक्छ ।’ सभापति देउवाले केन्द्रीय कार्यसमिति बैठकमा सदस्यहरूको प्रस्तुति हेरेर पनि नीति महाधिवेशन बोलाउने कि नबोलाउने भन्ने निर्णय लिन सक्ने ती नेताले बताए ।

महामन्त्री थापा र शर्माले वर्तमान नेतृत्वबाट पार्टी चल्न नसक्ने निष्कर्ष निकालेका छन् । त्यसका लागि देउवा स्वेच्छाले सक्रिय राजनीतिबाट अलग हुनुपर्ने उनीहरूको धारणा छ । अरू प्रक्रियाबाट देउवालाई हटाउन कठिन छ ।

संस्थापन इतरपक्षका कतिपय नेताले भने विशेष महाधिवेशन बोलाउनुपर्ने माग उठाइरहेका छन् । पार्टी विधानमा सभापतिविरुद्ध पार्टीका निर्वाचक ९महाधिवेशन प्रतिनिधि० को २५ प्रतिशत सदस्यले अविश्वास प्रस्ताव दर्ता गर्न सक्ने प्रावधान छ । प्रस्ताव दर्ता भए ६० दिनभित्र निर्वाचकको बैठक वा अधिवेशन बोलाउनुपर्छ ।

अविश्वास प्रस्ताव पारित गर्न दुई तिहाइ संख्या चाहिन्छ । देउवाविरुद्ध दुई तिहाइ संख्या पुर्‍याउन जटिल पर्ने भएकाले यो बाटो जाने सम्भावना कम छ । यसले पार्टीभित्र विभाजनको आयतन अझै बढाउने भएकाले पनि थापा, शर्मालगायतका नेताले विशेष महाधिवेशनभन्दा नीति महाधिवेशनमै जोडबल गरिरहेका हुन् ।

महामन्त्री थापा र शर्माले प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल भएर पनि कांग्रेस प्रतिपक्षमा पुगेकामा पार्टी पंक्तिमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाउनु अस्वाभाविक नभएको बताएका छन् । ‘यस क्षणमा हाम्रा दुईवटा दायित्व छन्– पहिलो, आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने, दोस्रो, यसबीचमा हाम्रो असावधानी, कमजोरी र गल्ती जे भएको छ, त्यसलाई कुनै ढाकछोप नगरी स्विकार्दै खुला र पारदर्शी छलफलमार्फत कारण र कारकको प्रस्ट पहिचान गरेर अबको मार्गचित्र तय गर्ने,’ थापा र शर्माको विज्ञप्तिमा भनिएको छ ।

महामन्त्री थापा र शर्माले गठबन्धनको सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी पुर्‍याउन नसक्दा सत्ताको राजनीतिमा पार्टी यो पटक पछि परेको जनाएका छन् । ‘उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बाचा बन्धन गरेर जाने, तर निर्वाचनपछि अर्कै बाटो हिँड्ने बेइमानी कम्तीमा हामीबाट भएन । कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा मूल्यांकन गर्नेछ, जनताप्रति जवाफदेही बनाउन जिम्मेवार प्रतिपक्षका रूपमा सशक्त भूमिका निर्वाह गर्नेछ । राष्ट्रिय राजनीति र जनचासोका विषयमा नेतृत्वदायी अग्रसरता लिनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले अनेक चुनौती र अप्ठ्यारा मोड सामना गर्दै हरेक चुनौतीलाई चिरेर दृढतापूर्वक अघि बढेको उल्लेख गर्दै थापा र शर्माले भनेका छन्, ‘कांग्रेसले देशलाई सफलतापूर्वक निकास दिएको छ । त्यसैले अहिलेको परिस्थितिलाई पनि संकटका रूपमा लिएर हतास हुने छुट हामीलाई छैन, बरु यसलाई पार्टीको शुद्धीकरण र पुनर्जागरणको नवीन अवसरमा बदल्ने जबर्जस्त तागत हामीले प्रस्तुत गर्नु छ ।’

महामन्त्रीद्वयले भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिनुपर्ने र पार्टीको केन्द्रदेखि टोल समितिसम्म जागरणका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएका छन् । नेतृत्वप्रति लक्षित गर्दै उनीहरूले पार्टी सञ्चालनमा देखिएको अलमल रहँदासम्म जनताको विश्वास फर्काउन नसकिने बताएका छन् । ‘पार्टीलाई यो अलमलबाट बाहिर निकाल्नैपर्छ, अहिलेको परिस्थितिलाई शक्तिमा बदलेर पार्टीलाई पुनर्जागृत गर्नैपर्छ । त्यसका लागि अविलम्ब पार्टीको संरचना र संगठन गतिशील र चुस्त बनाउनै पर्नेछ ।’

कार्यकर्ता पंक्तिमा आत्मविश्वास र आम जनताको भरोसालाई पुनर्स्थापित गर्ने गरी पार्टीलाई दिशा निर्देश गर्न आत्मसमीक्षा गरेर मात्रै नपुग्ने उनीहरूले ठानेका छन् । ‘सच्याउँदै आफू बदलिने र देशको मुहार बदल्ने सपना र संकल्प पनि देखाउन सक्नुपर्छ । बदलिएको कांग्रेस र बलियो कांग्रेसको सुस्पष्ट खाका निर्माण र अवलम्बन गर्न अब हामी हरेकले फेरि एकचोटि जुर्मॅराउनुपर्नेछ,’ थापा र शर्माले विज्ञप्तिमा भनेका छन्, ‘यस अवस्थामा पार्टीको केन्द्रदेखि टोलसम्म, भ्रातृ संस्थादेखि शुभेच्छुक संस्थासम्म, पेसागत बुद्धिजीवीदेखि श्रमिक र किसानसम्म, स्वदेशको गाउँदेखि परदेशको मरुभूमिसम्म हामी जो जहाँ छौं, त्यहीँबाट संस्थागत या व्यक्तिगत रूपमा गर्न सक्ने योगदानका लागि थप उत्साह, एकता र रूपान्तरणको भावनासाथ अघि बढ्न अपिल गर्छौं ।’
कान्तिपुरबाट

शेयर गरौ

ताजा अपडेट