सबै समुदायमा लोकप्रिय बन्दै छठ

 

काठमाडौँ, १३ कातिक । आराध्यदेव सूर्यको उपासना तथा आराधना गरी मनाइने महापर्व छठ सुरु भएको छ। यस वर्ष षष्ठि (आइतबार)का दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर यो पर्व सुरुवात भएको छ र सप्तमी (सोमबार)का दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व सम्पन्न हुन्छ।

छठ पर्व धनी, गरिब, मधेशी, पहाडी, हिन्दु, मुस्लिम, महिला, पुरुषलगायत सबै वर्ग, समुदाय र तहमा लोकप्रिय बन्दै गएको छ। केही वर्ष अघिसम्म तराईका केही जिल्लामा मात्र मनाइने गरिए पनि अचेल राजधानी काठमाडौँलगायत मुलुकका विभिन्न सहरमा समेत यो पर्व धूमधामसाथ मनाइन्छ।

संस्कृतिविद् डा। रामदयाल राकेशका अनुसार कात्तिकको प्रारम्भसँगै विशेष शुद्धाशुद्धिसाथ तयारी गरिने यस पर्वको शुभारम्भबारे विभिन्न कथा र किंवदन्ती छन्। सत्ययुगमा सरयाती नामक राजाका सुपुत्री सुकन्याले पहिलो पटक छठ पर्व गरेको उहाँ बताउनुहुन्छ। महाभारतको प्रसङ्ग उल्लेख गर्दै उहाँले पाण्डवको गुप्तवास सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको र त्यसबेलादेखि नै छठ पर्वको सुरुवात भएको धेरैको विश्वास छ। त्यसैगरी सूर्यपुराणमा अत्रिमुनिका अर्धाङ्गिनी सति अनुसुइयाले छठ पर्व गरेको उल्लेख पाइन्छ। साम्बपुराणका अनुसार, पिता श्रीकृष्णको श्रापबाट कृष्ठरोगले पीडित श्रीकृष्णपुत्र साम्ब सूर्यको पूजाआराधनाबाट रोगमुक्त भएको चर्चा छ। त्यसबेलादेखि नै छठ पर्व प्रारम्भ भएको कतिपयको विश्वास छ। त्यस्तै कुष्ठरोगबाटै पीडित कवि मयुर भट्टले सूर्यको उपासना र पूजाबाट पुनः सुन्दर र स्वस्थ शरीर प्राप्त गरेको कथासँग जोडिएर छठ पर्व थालनी भएको संस्कृतिविद् डा। राकेशको भनाइ छ।

आर्थिक र भौतिक रूपले अनुत्पादक भइसकेपछि आमाबाबुलाई समेत महत्त्व दिन छोडिएको आजको हाम्रो समाजमा अस्ताउँदो सूर्यको पूजाले मानिसलाई नैतिक शिक्षासमेत दिने वीरगञ्ज घर भई काठमाडौँको नयाँबानेश्वरमा बस्दै आउनुभएका सतिदानन्द कुर्मी बताउनुहुन्छ।

महोत्तरी घर भई पाँच वर्षदेखि राजधानीमा बसोवास गर्दै आउनुभएका राममनोहर साहले केही वर्षयता यस पर्वले नेपाली–नेपालीबीचको एकताको सूत्रलाई थप बलियो पार्ने काम गरेको बताउनुभयो।

विभिन्न कामले राजधानीमा बसोवास गर्दै आएका तराईवासी छठ पर्व मनाउन प्रायः आ–आफ्नो गाउँ नै जाने गर्छन् भने कोहीले राजधानीमै केही वर्षदेखि यो पर्व मनाउँदै आएका छन् । छठ पर्वका लागि राजधानी काठमाडौँका कमलपोखरी विशेष रूपमा सजाइएको छ। त्यसैगरी गुह्येश्वरी र पशुपतिलगायतका स्थानमा बागमतीकिनार, नक्सालस्थित नागपोखरी, ललितपुरको सानेपालगायत विभिन्न ठाउँमा समेत छठ पर्व आयोजना गरिएको छ।

छठ पूजा सेवा समाज, सानेपाका अध्यक्ष राकेश मेहताले यस स्थानमा छठको पूजा–अर्चनाका लागि पहाडी समुदायका २५ जनासहित करिब दुई सय जना ब्रतालुले स्थान लिइसकेको जानकारी दिनुभयो। भैरहवा घर भई राजधानीको अनामनगरमा बस्दै आउनुभएका प्रभन्स ठाकुर चाडपर्व आस्था र विश्वाससाथ जहाँ मनाए पनि फरक नपर्ने र झन् आफ्नो संस्कृतिको प्रचार प्रसार हुने बताउनुहुन्छ।

त्यस्तै भारतको विहार ९मोतिहारी० घर भई व्यापार व्यवसायको सिलसिलामा अहिले राजधानीको सीतापाइलामा बस्दै आउनुभएका सुबोध गिरीले आफू बसेको र कार्यरत रहेको ठाउँमै चाडपर्व मनाउनुपर्ने बताउनुहुन्छ।

ब्रतालु सुधा महतोका अनुसार, यो पर्वको पहिलो दिनलाई ‘नहान–खान’ भनिन्छ । यो दिन ब्रतालुले स्नान ध्यान गरी खासगरी अरुवा चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाई ग्रहण गर्ने गर्छन्। छठी पूजाको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीको दिनदेखि नै विशेष शुद्धाशुद्धि अपनाइन्छ। यस दिनदेखि ब्रतालुले खानामा लसुन, प्याज, मसुरोको दाल र कोदोसमेत परित्याग गर्छ।

छठको पहिलो अर्थात् पञ्चमीका दिनलाई ‘खरना’ भनिन्छ। यस पर्वको दोस्रो अर्थात् षष्ठिका दिनलाई यस पर्वको प्रमुख अंशका रूपमा मानिन्छ। यस दिनलाई ‘सँझिया घाट’ भनिन्छ। यो दिन बिहानैदेखि चामल र पीठोको ठेकुवा, कसारलगायतका परिकार तेल तथा घ्युुमा पकाइन्छ । तयार पारिएका परिकार, पाँच थरिका मिठाइ, उखु, अदुवा, नरिवल, मुुला, सुथनी, सुपारी, ल्वाङ, सुकमेललगायतका प्रसाद बाँसको टोकरी, नाङ्लो र सिपुलीमा राखेर शुद्ध जल र गाईको दूधसहित ब्रतालु परिवारका सदस्यसहित नजिकको जलाशयमा जान्छन् र उनीहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्। अर्घ दिएपछि ब्रतालु घर फर्कन्छन् ।

कतिपय ब्रतालु घर नफर्की पूजास्थलमै रातभरि जाग्रम बस्छन्। त्यहाँ कसैकसैले भाकल गरेअनुसार विभिन्न देवीदेवताको माटोको मूर्ति बनाई विशेष पूजाआजा गरिन्छ, जसलाई ‘कोसिया’ भनिन्छ।

भोलिपल्ट कात्तिक सप्तमीका दिन ब्रतालुले उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो महापर्वको महायात्रा सम्पन्न भएको मानिन्छ। यो पर्वको समापनपछि पनि ब्रतालुले प्रसादसहित घरको देवता, इनार, चापाकल (ट्युवेल)को पूजाआजा गरी छठीमाताको प्रसाद माग्नेबीच बाँडी ब्रतालु साबिकबमोजिमको अन्न, जल ग्रहण गर्छन्।

आइतबार बिदा

राज्यले यस पर्वलाई राष्ट्रिय मान्यता दिई त्यस दिन सार्वजनिक बिदासमेत दिइने गरेको छ। सङ्घीय सरकारले छठ पर्वको पहिलो दिन हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ। मधेश प्रदेश र प्रदेश १ सरकारले छठ पर्वको अवसरमा आइतबार र सोमबार सार्वजनिक बिदा दिने घोषणा गरेका छन्।

गोरखापत्र दैनिकबाट

ताजा अपडेट