काठमाडौं, १३ फागुन ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत लिएको परीक्षाको नजिता सोमबार अवेर सार्वजनिक भएको छ ।
यस कार्यक्रम अन्र्तगत ७५३ वटा स्थानीय तहका लागि लिएको जनशक्तिमा जम्मा ५२१ जनाले मात्र नाम निकाल्न सफल भएका छन् । हरेक स्थानीय तहमा एक जना संयोजकको लागि आवेदन माग गरिएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शनिबार र आइतबार कम्प्युटर प्रणालीबाट लिएको परीक्षाको नतिजा आज प्रकाशन गरेको हो ।
सातै प्रदेशका हरेक स्थानीय तहमा रहने गरी ७५३ जना रोजगार संयोजक माग गरिए पनि ५२१ जना मात्रै छानिएका मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले जानकारी दिनु भयो। सर्टलिस्ट गरिएका मध्ये कम्प्युटर प्रणालीबाट २५ अंकभन्दा कम ल्याउनेहरू असफल भएका छन् । अधिकांश युवाहरु कम्प्युटरको सीप परीक्षामा अनुत्तीर्ण भएका छन् ।
नतिजा अनुसार प्रदेश नम्बर ५ बाहेक कुनै पनि प्रदेशमा मागे जति संख्यामा परीक्षार्थी उत्तीर्ण हुन सकेनन् । प्रदेश १ मा १३० जना शाखा अधिकृत माग गरिएकोमा ६७ जना मात्रै उत्तीर्ण भएका छन् । नायब सुब्बामा ७ जनाको माग गरिएकोमा ५ जना मात्रै उत्तीर्ण भएका छन् ।
प्रदेश २ मा १३६ जना शाखा अधिकृत माग गरिएकोमा ९८ जना मात्रै उत्तीर्ण भएको छ । प्रदेश ३ मा ११२ जना शाखा अधिकृत माग गरिएकोमा ९५ जना, नायब सुब्बामा ७ जनाको माग गरिएकोमा ७ जनाले नै परीक्षा उत्तीर्ण गरेका छन् ।
गण्डकी प्रदेशमा ७४ जना शाखा अधिकृत माग गरिएकोमा ६१ जना, नायब सुब्बामा ११ जनाको माग गरिएकोमा ११ जना उर्तीण भएका छन् । प्रदेश ५ मा १०९ जना शाखा अधिकृत माग गरिएकोमा १०९ जना नै उत्तीर्ण भएका छन् ।
कर्णाली प्रदेशमा ६२ जना शाखा अधिकृत माग गरिएकोमा २० जना मात्रै उत्तीर्ण भएका छन् । नायब सुब्बामा १७ जनाको माग गरिएकोमा ९ जना मात्रै उत्तीर्ण भएका छन् ।
सुदूरपश्चिम प्रदेशमा ८२ जना शाखा अधिकृत माग गरिएकोमा ३३ जना मात्रै उत्तीर्ण भएका छन् । नायब सुब्बामा ६ जनाको माग गरिएकोमा ६ जना नै उत्तीर्ण भएका छन् । ७ प्रदेशबाट ७ सय ५३ जना माग गरिएको ५ सय २१ जना मात्रै उत्तीर्ण भएका छन् ।
७ सय ५३ जनाका लागि २३ हजार ९ सय ६८ जनाको आवेदन परेकोमा पहिलो चरणबाट २२ सय ५९ जना छानिएका हुन् । रोजगार संयोजकको भर्ना प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन भन्दै सरकारले नेपालमै पहिलो पटक अनलाइनबाटै परीक्षा लिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले जानकारी दिनु भयो । रोजगार संयोजकले स्थानीय तहमा रहेका बेरोजगार व्यक्तिको तथ्याङक संकलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र प्रदान गर्ने छन् ।