चितवन २९ असार । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कार्यालय चितवनले एक वर्षमा भएका कामको विषयमा स्थलगत अनुगमन गरेको छ ।
जनप्रतिनिधि, सहायक प्रमुख जिल्ला अधिकारी र सम्वन्धीत कार्यालयका प्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको हो । परियोजना कार्यालयले उत्पादनमा वृद्धि गर्न र आर्थिक अवस्था सुधारका लागि गरेको सहयोग कामको विषयमा अनुगमन गरेको हो ।
परियोजनाले कोरा, धान, मौरी, तरकारी क्षेत्रमा किसानलाई आधुनिक कृषि उपकरण, खेती प्रणालीमा सहयोग गर्दै आएको छ । ती सहयोगको अवस्था कस्तो भएको छ, कार्यान्वयन कसरी भइराखेको छ भन्ने विषयमा अनुगमन गरी किसानलाई हौसला प्रदान गरेको छ ।
जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबीच संयुक्त रुपमा अनुगमन संगै अन्तरक्रिया गरेको थियो ।
अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्माले मौरीका केही उद्योगहरु खाद्यमा दर्ता नभएको भेटिएको जानकारी दिनुभयो । कृषि यान्त्रीकरणमा भने चितवनले फड्को मार्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । परियोजनाका प्रमुख धनबहादुर थापाले परियोजनाले केरा, मौरी, धान र तरकारीमा वीऊको स्रोत केन्द्रको स्थापनादेखि यान्त्रिकरणमा ५० देखि ८५ प्रतिशतसम्म अनुदानका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । । उहाँले धान गोड्ने मेसिन बाहेक चितवनमा सवै प्रविधि भित्राईएको बताउनुभयो । चितवनमा ६ बर्षदेखि जोनका कार्यक्रम सञ्चालित छन् ।
अनुगमनका क्रममा वुधबार महानगर फलफूल तथा तरकारी बजारमा निर्माण गरिएको राइपनिङ च्याम्वर, रत्ननगर नगरपालिका वडा नं १५को गुरुङ केरा फर्म, १२ को बी एण्ड बी केरा फर्म, साना किसान कृषि सहकारी संस्था लिमिटेडको बछ्यौली कष्टमहाईरिङ सेन्टर, साना किसान कृषि सहकारी संस्था लिमिटेड कुमरोजको कष्टमहाईरिङ सेन्टर, बीउ स्रोत केन्द्र, महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड कठारको गोदाम घर र धान प्रशोधन गर्ने मिल, खैरहनी १० लामिछाने मल्टि एग्रो फर्म, र खैरहनी–४को न्यू कन्चन मौरी फर्मको अवलोकन गरिएको थियो । अनुगमनका क्रममा किसानहरुले मल, कृषि प्राविधिकको आवश्यक रहेको बताएका थिए ।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको नेतृत्वमा गएको टोलीले केरा, धान र मौरी जोनमा सञ्चालित कार्यक्रमहरुको अवलोकन गरेको थियो ।